सडकमै रोपाइँ

रवीन्द्र उप्रेती

महोत्तरी — समसी गाउँपालिकामा कमिसनको चलखेल बढेको भन्दै स्थानीय सडकमा ओर्लेका छन् । उनीहरूले आइतबार गाउँपालिका कार्यालय घेराउ गरी अध्यक्षविरुद्ध नाराबाजी गरे ।

सडकमै रोपाइँ

आक्रोशित जनताले वडा नं २ स्थित पर्सादेवाडको हिलाम्मे सडकमा सोमबार र बुधबार रोपाइँ गरी विरोध प्रदर्शन गरेका छन् ।

वडाध्यक्ष शेख मकसुदले गाउँपालिकाको बेथितिप्रति सर्वसाधारणको ध्यानाकर्षण गर्न फैजुल इस्लाम मदरसादेखि नुरी जामा मस्जिदसम्मको १ किमि सडकमा रोपाई गरेको जनाए । ‘सडकमा रोपाईं आन्दोलनको सुरुवात हो,’ मकसुदले भने, ‘गाउँपालिका प्रमुख नसच्चिए कडा विरोधको सामना गर्नुपर्नेछ ।’ उनका अनुसार गाउँपालिकाको वातावरण अस्तव्यस्त र लथालिङ्ग पारिएको छ, जसका कारण साउन बित्न लाग्दासमेत परिषद् हुन सकेको छैन ।

पूर्वगाविस अध्यक्ष शेख अनवारुलकाअनुसार पर्सादेवाड मुलुकभरकै मुस्लिम समुदायको सबैभन्दा ठूलो मदरसा रहेको गाउँ हो । तर विकासका दृष्टिले सधैं उपेक्षित छ । रोपाई गरिएको सडकमा असारतिर माटो भरे पनि ग्राभेल नगरिएकाले हिलाम्मे भएको हो । सहज हिँडडुल गर्नसमेत कष्टकर भएपछि जनताले रोपाइँ गरी विरोध जनाएको उनले बताए ।

गाउँपालिकामा भैपरि शीर्षकमा ३० लाख बजेट छुट्याइएको छ । तर हिंड्नै नहुने गरी पूरै सडक हिलाम्मे हुँदासमेत भैपरि बजेटबाट गाउँपालिका अध्यक्षले खर्च नदिएको मकसुदको आरोप छ । ‘भैपरि बजेटबाट केवल ४ लाख रुपैयाँ दिएको भए सडक हिलाम्मे हुने थिएन, १५ टिप्पर ग्राभेल भए पुग्थ्यो,’ मकसुदले प्रश्न गरे, ‘के भैपरि बजेटमा हाम्रो वडाको हक छैन ?’


गाउँपालिका अधिकृत सन्तोष शर्माकाअनुसार आव ०७४/७५ मा समसीको विकास बजेट १२ करोड थियो । जसमध्ये गैरसरकारी संस्थामार्फत काम गराउन २० लाख विनियोजन गरिएको थियो । गैरसरकारी संस्थाका लागि छुटइएको बजेटबाट कुनै कामै नगराई ५० प्रतिशत लेनदेनमा भुक्तानी गरेको, २२ लाखको नाला बनाउने उपभोक्ताबाट ३२ प्रतिशत कमिसन असुलेर भुक्तानी दिएको, वडा नं १ मा सडक ढलान गरिएकोमा बजेटको १६ प्रतिशत रकम असुलेर भुक्तानी दिएको जस्ता व्यक्तिपिच्छे अनियमिमताका चर्चा सुनिने गरेको छ ।

कमिसनबारे उपभोक्ता समितिले विरोध गर्दा अध्यक्ष फारुकलगायत उनी निकट व्यक्तिले ‘माथि मिलाउनुपर्छ’ भन्दै ढाँटेर लिने गरेको जनाइएको छ । ‘अख्तियार, माथिबाट आउने छानबिन टोली, प्रहरी, पत्रकार मिलाउनुपर्छ, नभए झन्झटमा फसाउँछन्’ भन्दै जबरजस्ती असुल्ने गरेका छन्,’ ती व्यक्तिले भने ।

गाउँपालिका अध्यक्ष शेख फारुकले भने कमिसनको आरोप आधारहीन र कपोलकल्पित भनी खण्डन गरे । विपक्षीले आफूलाई बदनाम गराउन अफवाह फैलाएको बताए । ‘मेरो गाउँपालिकामा ९० प्रतिशत विकास भएको छ,’ अध्यक्ष फारुकले दाबी गरे, ‘कमिसन खाएको भए त्यतिका विकास कसरी हुन्थ्यो ?’ उनले विभिन्न कारणले समयमै हुन नसकेको परिषद् यो (साउन) महिनाभित्रै गरिसक्ने बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?