कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

महानगरमा सोलार बत्ती अभियान असफल

शंकर आचार्य

पर्सा — नियमित मर्मतसम्भार अभावमा वीरगन्ज महानगरका गल्ली उज्यालो बनाउन २ वर्षअघि सुरु गरिएको सोलार बत्ती अभियान असफल साबित हुँदै गएको छ ।

महानगरमा सोलार बत्ती अभियान असफल

आर्थिक वर्ष ०७३/७४ मा महानगरका विभिन्न क्षेत्रमा कुल ५ सय ५९ सोलार बत्ती गाडेर गएको ठेकेदार कम्पनीले त्यसपछि बत्तीको नियमित मर्मतसम्भार नगरेकाले तीमध्ये कतिपय बत्ती नबल्ने, बलिहाले पनि केही घण्टाका लागि मात्र बल्नेजस्ता समस्या देखिएका छन् । कतिपय पोल बांगिने, लड्ने समेत भएका छन् ।

महानगरसँग काठमाडौंको सनपावर कम्पनीले गरेको सम्झौताअनुसार ३ वर्षसम्म सोलार बत्तीको मर्मतसम्भार गर्नुपर्छ । त्यसमध्ये पहिलो २ वर्ष नि:शुल्क र १ वर्ष सशुल्क मर्मतसम्भारको जिम्मा ठेकेदार कम्पनीकै हो । तर उसले पहिलो २ वर्ष आलटाल गरेरै सकेको छ । २ वर्षअघि उपभोक्ता समितिलाई सरकारले महानगरपालिकाको कार्यालयमार्फत सहुलियत दरमा पोलसहितको सोलार बत्ती उपलब्ध गराएको थियो । प्रत्येक सोलार बत्ती पोलको ९७ हजार २६ रुपैयाँ ५० पैसा लागत रहेकामा त्यसमा सरकारले ६५, मनपाको कार्यालयले २० र उपभोक्ताले १५ प्रतिशत रकमको दायित्व वहन गरेका छन् ।

यसरी उपभोक्तालाई प्रत्येक पोलको करिब १५ हजार रुपैयाँ मात्र लागत पर्न गएकाले टोलटोलमा सस्तो र सहुलियत दरमा उपलब्ध सौर्य बत्ती पोल जडान गर्ने लहर चलेको थियो । वीरगन्ज महानगरपालिकाको कार्यालयका इलेक्ट्रिक इन्जिनियर सुरेन्द्रप्रसाद साहले पनि ५ सय ५९ मध्ये कम्तीमा एक सय सोलार बत्ती पोलमा विभिन्नखाले समस्या रहेको स्विकारे । ठेकेदार कम्पनीका व्यवस्थापक चन्द्रेश्वरप्रसाद चौधरीलाई पटकपटक सम्पर्क गर्दा उनले मर्मतका लागि प्राविधिक पठाउने झूटो आश्वासन मात्र दिइरहेको साह बताउँछन् ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?