कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा ‘प्रचण्ड पथ’

लक्ष्मी साह

बारा — कुनै बेला नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको टेक नाम थियो– ‘प्रचण्ड’ । तत्कालीन माओवादी विद्रोहका बेला यिनै नामले पार्टीको सर्वोच्च कमान्डर पदमा सशस्त्र भूमिगत अवस्थामा थिए ‘उनी’ ।

बारामा ‘प्रचण्ड पथ’

यिनै टेक नामले उनी भूमिगत राजनीतिसँगै तत्कालीन जनयुद्धमा सक्रिय थिए । १० वर्षे जनयुद्धताकाको यो टेक नाम अहिले पनि चलनचल्तीमै छ । पार्टीभित्र कालान्तरमा यही टेक नामबाट बन्यो– ‘प्रचण्ड पथ’ । यो ‘प्रचण्ड पथ’ वैचारिक र पार्टीभित्रको राजनीतिक सिद्धान्त नै स्थापित भयो ।

द्वन्द्वकालमा तिनै ‘प्रचण्ड पथ’ लिखित पर्चा मुस्किलले छरेको भेटिन्थ्यो । छरेको वा कसैको हात तथा भित्तामा फेला पर्नासाथ सुरक्षाकर्मीको हप्कीदब्कीदेखि मानसिक र शारीरिक यातना खेप्नुपथ्र्यो । अझै त माओवादी कार्यकर्ताका साथमा फेला पर्नासाथ उसले कि त सुरक्षाकर्मीबाट ‘इन्काउन्टर’ हुनुपथ्र्यो कि त जेल बस्नुपथ्र्यो । त्यस बेला ‘प्रचण्ड पथ’ भनेको सशस्त्र भूमिगत माओवादीको विद्रोही सिद्धान्त (वैचारिक लाइन) बुझिन्थ्यो । तर गत सोमबार यहाँ त्योभन्दा भिन्न देखिएको छ । ‘प्रचण्ड पथ’ लाई सडकको नामसित जोडिएको छ ।

‘प्रचण्ड पथ’ भनेर सडकको नाम राखिँदा थुपै्रले यसलाई अनौठो मानेका छन् । बारास्थित मोतीसर–वैराटपुर–कोइरियाटोला–भतौडा–भवानीपुर सडकलाई ‘प्रचण्ड पथ’ नामकरण गरिएको छ । उक्त सडकको शिलान्यासका लागि तयार गरिएको शिलालेखको माथिल्लो भागमा ‘प्रचण्ड पथ’ लेखेर तलपट्टि मोतीसर–वैराटपुर–कोइरियाटोला–भतौडा–भवानीपुर सडक लेखिएको छ ।

प्रचण्डपथ नामकरण गरिएको शिलालेख ।

९ किमि लम्बाइको यो सडक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय वीरगन्जले कालोपत्रे गर्दै छ । यसको ६ महिनाअघि नै ठेक्का बन्दोबस्तदेखि सम्झौता भई काम सुरु भइसकेको छ । सम्झौतामा भने ‘प्रचण्ड पथ’ उल्लेख छैन, शिलालेखमा मात्र छ ।

उक्त सडकको शिलान्यास गरेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकमा आफ्नो नाम जोडिएको विषयमा केही बोलेनन् तर स्थानीय बुद्धिजीवीहरू विशिष्ट व्यक्तिको नामबाट सडकको नाम राख्दा छिटो बन्न सक्ने मनोविज्ञानले सडकको नाम ‘प्रचण्ड पथ’ राखिएको बताउँछन् । कलैया उपमहानगरको वडा २३ मा पर्ने उक्त सडकको नाम स्थानीयको भेलाबाट नामकरण गरिएको वडाअध्यक्ष विक्रम साह कानुले बताए । ‘सडकको काम छिट्टो हुन्छ भनेर ‘प्रचण्ड पथ’ राख्यौं,’ तत्कालीन माओवादीबाट वडाअध्यक्षमा चुनाव जितेका वडा अध्यक्ष साहले भने ।

ग्रिड कन्सल्ट प्रालि बानेश्वरको परामर्शमा झन्डै ५० करोड लागतमा रमन/महावीर जेभी कन्स्ट्रक्सन कम्पनीले तीन वर्षमा सक्ने गरी सडकको ठेक्का लिएको हो । २०७४ माघ ३० मा सम्झौता भएको हो । यो सडक पचासौं वर्ष पुरानो भएको वडा २३ कोइरियाटोलाका ६० वर्षीय गया राउत पटेलले बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?