सिराहामा बन्दुक देखाएर २५ लाख लुटियो

भरत जर्घामगर

सिरहा — सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्ड अन्तर्गत मिर्चैया नगरपालिका–३ स्थित तिनगछियाबाट डेढ महिना अवधिमा दुई मनि ट्रान्सफरको रकम लुटिएको छ । 

सिराहामा बन्दुक देखाएर २५ लाख लुटियो

पछिल्लो पटक बिहीबार मध्यान्ह सिरहा कल्याणपुर नगरपालिका ११ मा सञ्चालित राजाराम सव मनि ट्रान्सफरका सञ्चालक राजाराम साहबाट २५ लाख ६० हजार रुपैयाँ लुटिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहका अनुसार मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट २५ लाख ६० हजार नगद लिएर कल्याणपुर मोटरसाइकलमा जाँदै गरेका साह मिर्चैया–कल्याणपुर सडक खण्ड अन्तर्गत तिनगछियामा लुटिएका हुन् ।


सवा १२ बजेतिर २ वटा मोटरसाइकलमा आएका ४ जना युवाको समूहले साहलाई घेरेर पेस्तोल देखाउँदै नगद लुटिएको डिएसपी साहले जानकारी दिए । सिरहाको कल्याणपुर नगरपालिका ११ मा साहको मनि ट्रान्सफर सञ्चालित छ ।


डेढ महिनाअघि गत असार ११ गतेपनि सोही स्थानबाट कल्याणपुरका शिवम् मनि ट्रान्सफरका कर्मचारी धनवीर यादवबाट ११ लाख ३९ हजार रुपैयाँ लुटिएको थियो ।


यादवलाई समेत साहलाई जस्तै गरी दुई वटा मोटरसाइकलमा आएका ४ जना युवाको समूहले घेरेर पेस्तोल देखाउँदै नगद लुटेका थिए ।

उनीपनि मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम निकालेर जाने क्रममा लुटिएका थिए ।


नगद लुटिएको डेढ महिना बित्तिसक्दासमेत प्रहरीले लुटेरा पक्राउ गर्न नसकेको प्रति कल्याणपुर क्षेत्रका व्यावसायी आक्रोशित छन् ।

सोही स्थानमा बिहीबार दोस्रो लुटपाटका घटनाले त्यस क्षेत्रका स्थानीय समेत त्रसित छन् ।


‘डेढ महिना बित्तिसक्दा समेत प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ, तर लुटेरा पक्राउ गर्न सकेको छैन’ कल्याणपुर ११ स्थित शिवम मनि ट्रान्सफरका सञ्चालक एवं मिर्चैया उद्योग वाणिज्य संघका सदस्य समेत रहेका सुनिल कुमार राउतले भने ‘आज त्यही ठाउँ दोस्रो लुटपाट घटना भयो, त्यत्तिखेरै लुटेरा पक्रन प्रहरी सफल भएको भए यो घटना हुदैनथ्यो कि ।’


पटक पटक लुटिएको स्थान तिनगछिया मिर्चैया–कल्याणपुर सडक खण्डको डुमरी नजिकको एकान्त स्थानमा पर्छ । मिर्चैया प्रहरी कार्यालयबाट ५ किलोमिटर दक्षिणमा घटनास्थल पर्छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?