कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

महानगरको लिंक रोड जीर्ण

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरका व्यस्त दुईवटा आन्तरिक सडक नियमित मर्मतसम्भारको अभावमा जीर्ण बनेका छन् । घन्टाघरदेखि बसपार्क जाने लिंक रोड र अलखिया मठदेखि पश्चिम काली मन्दिर मोडसम्मको अर्को लिंक रोडको अवस्था नाजुक रहेको छ ।

महानगरको लिंक रोड जीर्ण

घन्टाघर बस पार्क जोड्ने लिंक रोड वर्षाअघि नै जीर्ण भइसकेको थियो । महानगरपालिकाले उक्त सडकको हालसम्म मर्मत गरेको छैन । कतिपय स्थानमा सडकमै पानी जमेर ससाना पोखरी नै बनेका छन् । कुमु होटेल क्षेत्रमा ठूलठूला खाल्डा बनेर तिनमा पानी समेत जमेकाले सवारी चालकदेखि पैदल यात्रु समेतलाई सास्ती भएको छ ।

कुमु होटलका सञ्चालक रचिन्द्र सिंह थापाले यो सडक खण्ड जीर्ण भएकाले होटल व्यवसायमा नकारात्मक असर परेको बताए । ‘होटेलमा आउने ग्राहक सडक र वातावरण दुरुस्त, सफा, स्वच्छ खोज्छन्,’ उनले भने, ‘तर लिंक रोड जहिल्यै पनि जीर्ण हुँदा व्यवसायमा नकारात्मक असर परेको छ ।’ यो सडक खण्ड महानगरकै अत्यन्त व्यस्त सडकमध्येको हो । बसपार्क ओहोरदोहोर गर्ने मात्र नभई पानीटंकी, नेसनल मेडिकल, नगवा क्षेत्र आवागमन गर्ने महानगरवासीले यही बाटो प्रयोग गर्छन् ।


अलखिया चोकदेखि काली मन्दिर मोडसम्मको अर्को व्यस्त सडक हो । रक्सौलदेखि नारायणी उपक्षेत्रीय अस्पताल हँुदै आउने सवारी साधनले एकतर्फी यो सडक प्रयोग गर्छन् । हरिखेतान क्याम्पसदेखि काली मन्दिर मोडसम्म हाल यो सडकमा ४/५ ठाउँमा ठूलाठूला खाल्डा बनेकाले सवारी चालकलाई बढी समस्या भएको छ ।

विशेष गरी मोटर साइकल, ई–रिक्सा आदिका चालकलाई सास्ती भएको छ । यस क्षेत्रमा आधा दर्जनभन्दा बढी वाणिज्य बैंक तथा मकालु, पुजन, कन्ट्रिइन जस्ता वीरगन्जकै ठूला तारे होटल पनि सञ्चालनमा छन् । सडकको जीर्ण अवस्थाले महानगरमा आउने पाहुना र पर्यटकको माझ पनि महानगरको अव्यवस्था र छवि नराम्रो बनिरहेको कन्ट्रिइन होटेलका सञ्चालक हरि पन्त बताउँछन् ।


वीरगन्ज महानगरपालिकाको कार्यालयका सूचना अधिकारी अशोक प्रधानले हाललाई लिंक रोड मर्मतसम्भारको कुनै योजना नरहेको बताए । दसैं लगत्तै एसियाली विकास बैंकको लगानीमा लिंक रोड लगायत अन्य सडक खण्डको पनि निर्माण हुने उनले बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?