कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अवैध रूपमा भित्रिन्छन् भारतीय गुट्खा

भूषण यादव

वीरगन्ज — वीरगन्ज र आसपासका क्षेत्रमा भारतीय गुटखा अवैध रूपमा भित्रिने गरेको पाइएको छ । गत आव ०७४/७५ मा वीरगन्ज भन्सार नाकाबाट राजस्व दाखिला गरी रजनीगन्धा, पानपराग, राजनिवास, कमलापसन्द लगायतका भारतीय गुटखा भित्रिएको विवरण छैन ।

अवैध रूपमा भित्रिन्छन् भारतीय गुट्खा

भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवका अनुसार कुनै पनि भारतीय गुटखा राजस्व तिरेर वीरगन्ज भित्रिएको छैन । तर, वीगन्जको प्रत्येक पान पसल र किराना पसलमा भारतीय गुटखा निर्वाध रूपमा बिक्री भइरहेका छन् ।

नेपाली ग्राहकको पहिलो रोजाइ पनि भारतीय गुटखा नै रहेको बिक्रेता बताउँछन् । १० रुपैयाँदेखि ४० रुपैयाँसम्ममा बिक्री हुने गुटखाको आयातमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करका साथै प्रतिकिलोमा ५ सय ५४ रुपैयाँ अन्तशुल्क लाग्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भन्सार राजस्व छली बजारमा निर्वाध गुटखा बिक्री भइरहे पनि सरोकारवाला निकायले अनुगमनमा चासो देखाएको छैन ।

गुटखा कारोबारीले ग्रामीण नाकाबाट मात्र नभई वीरगन्ज रक्सौल मुख्य नाकाबाटै गुटखा तस्करी गर्छन् । स्रोतका अनुसार पर्साको भिस्वा, जानकीटोला, पिडारी, छपकैया, अमरपट्टी र बाराको मटिअरवा, सिम्रौनगढ लगायतका नाकाबाट साइकल, मोटरसाइकल र पिक अफ जिपमा भारतीय गुटखा भित्र्याउने गरेका छन् । ‘ग्रामीण नाकामा तैनाथ सुरक्षाकर्मीलाई खुद्रा व्यापारीले पटके रूपमा नजराना बुझाउँछन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘ठूला कारोबारीले मासिक रूपमै चौकी इन्चार्जलाई पैसा बुझाउँछन् ।’

गत साउन १२ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सीमावर्ती भारतीय बजारबाट अवैध रूपले ठूलो परिमाणमा गुटखा वीरगन्ज भित्र्याउने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको थियो । विशेष सूचनाका आधारमा प्रहरीले शनिबार साँझ करिब ७ बजेको समयमा वीरगन्ज महानगरपालिका ८ दुर्गा हल अगाडिबाट जेएच०९जे३१११ नम्बरको भारतीय स्कारपियो जाँच गर्दा ४ बोरा गुटखा बरामद गरेको थियो ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै गाडी चालक भारत मोतीहारी निवासी रामरोशन कुमार र वीरगन्ज निवासी गुट्खा व्यापारी गौतम चौरसियालाई सार्वजनिक गरेको थियो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार बोराभित्र बिलबिजन नभएका ८० थान रजनीगन्धाको बट्टा, ६ हजार ४ सय ८० पिस रजनीगन्धाको सानो पुरिया, ५ सय पिस रजनीगन्धाको ठूलो पुरिया, एक सय ९० पिस तुलसी मसला बरामद भएको थियो । थप कारबाहीका लागि बरामद सामानसहित दुई जनालाई वीरगन्ज भन्सार कार्यालय पठाइएको थियो ।

चालक र कारोबारीलाई २२ लाख ५० हजार धरौटी राखेर भन्सारले छाडेको छ । महँगो कर छल्न व्यापारीले भारतीय गुटखा अवैध तरिकाले मुलुक भित्र्याउने गरेका छन् । आन्तरिक कर कार्यालयका प्रमुख अनुसन्धान अधिकृत गोपीकृष्ण कोइरालाका अनुसार हालसम्म भारतीय गटखाको अनुगमन गरिएको छैन । ‘भन्सार राजस्व छली भित्रिन्छन् भन्ने जानकारी नै थिएन,’ उनले फोनमा भने, ‘अनुगमन गरेपछि चोरी पैठारीमार्फत भित्रिएको हो कि हैन भन्ने थाहा हुन्छ ।’

यस नाकाबाट वैध रूपमा नभित्रिए पनि भैरहवा, विराटनगर लगायतका नाकाहरूबाट पनि भित्रिएको हुन सक्ने उनले प्रतिक्रिया दिए । ‘सीमावर्ती रक्सौल बजारमै भारतीय गुटखाका ठूला कारोबारी बस्छन्,’ आदर्शनगरका एक गुटखा व्यापारी भन्छन्, ‘अन्य नाकाबाट ल्याएर वीरगन्जमा बिक्री गर्दा ढुवानी खर्च महँगो हुन जान्छ ।’

प्रकाशित : श्रावण २६, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?