न्यायिक समितिमा मुद्दा कम

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्ज महानगरको न्यायिक समितिमा मुद्दा पर्ने दरमा कमी आएको छ । साउन १ देखि बुधबारसम्ममा समितिमा जम्मा आधा दर्जन मुद्दा मात्र दर्ता भएका छन् । यसरी मुद्दा दर्ता नै कम हुन थालेपछि सेवाग्राहीमा समिति प्रतिको उदासिनता बढेको अनुमान गरिएको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयको न्यायिक समितिको इजलास । तस्बिर : शंकर आचार्य । कान्तिपुर

गत आर्थिक वर्षम चैत १ बाट मुद्दा दर्ता थालेको समितिमा असार मसान्तसम्ममा १ सय २६ मुद्दा दर्ता भएका थिए । यसरी ४ महिनामा प्रतिमहिनामा ३१ का दरले मुद्दा दर्ता भएका थिए । गत आवमा समितिमा दर्ता भएकामध्ये ९ वटा मुद्दाको मात्र समितिले किनारा लगाएको छ ।

यसबाहेक आधा दर्जन सम्बन्ध बिच्छेदका मुद्दामा दुवै पक्षलाई पटकपटक छलफल गराउँदा सहमतिमा नआएपछि पर्सा जिल्ला अदालतमा सक्कल पाइल पठाइएको समितिका उजुरी प्रशासक धनबहादुर थापाले बताए । यसबाहेक आधा दर्जन मुद्दा किनारा नजिक पुगेको उनले बताए ।

Yamaha

महानगरको न्यायिक समितिकी संयोजक उपप्रमुख शान्ति कार्की हुन् भने सदस्यहरू तुफेल अख्तर र बैजयिन्ती माला देवी छन् । समितिले साताको ३ दिन आइतबार, बुधबार र बिहीबार सुनुवाइ गर्छ । समितिले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका मुद्दालाई दरपीठ गरिरहेको छ । समितिमा हाल बढीजसो शान्ति सुरक्षा र जग्गा विवादसम्बन्धी मुद्दा परिरहेका छन् ।

न्यायिक समिति सदस्य तुफेल अख्तरले समितिले आफ्नो कार्यक्षेत्रभित्रको मुद्दा मात्र दर्ता गर्न थालेको, सेवाग्राहीलाई पनि समितिको कार्यक्षेत्रबारे जानकारी हुँदै गएकाले पनि समितिमा मुद्दा पर्ने दर घटेको हुन सक्ने बताए । हाल खेतीपातीको सिजन भएकाले पनि सेवाग्राहीको व्यस्तता खेतीपातीतर्फ बढेकाले पनि मुद्दा नआएको हुन सक्ने उनको बुझाइ छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘मेचीपारि’ डुंगाको भर

कान्तिपुर संवाददाता

झापा — मेचीपारिको नेपाल’ भनिने भद्रपुर १ डोलाबस्तीका स्थानीय श्रीप्रसाद महतोलाई वर्षायाम कसरी बिताउने भन्ने चिन्ता हुन्छ । हरेक वर्ष गाउँका दुई सय परिवार समान चिन्ताले पिरोलिन्छन् । मेची खोलामा उर्लने भेलका कारण मेचीपारिका बासिन्दा बन्धकझैं बन्नुपर्छ ।

झापा भद्रपुर १ स्थित मेचीपारिको नेपाली गाउँ डोलो बस्तीबाट डुंगा चढेर भद्रपुर बजारतिर आउँदै स्थानीयवासी । तस्बिर : पर्वत । कान्तिपुर

यसपालि मेची पुरानै धारमा बगेका कारण गाउँमा समस्या भएको हो । ‘पहिला त एउटा मात्रै मेची बग्थ्यो, अहिले दुइटा बगिरहेको छ’, महतोले भने, ‘तीन चार महिना त बन्धकजस्तै हुन्छाैं ।’

उनका अनुसार स्थानीयलाई सदरमुकाम भद्रपुर पुग्न पनि समस्या छ । किनमेल र औषधि उपचारका लागि भद्रपुरसम्म जान गाह्रो छ । ‘नेपालतिर जान नसक्दा भारतीय बजार पुगेर किनमेल गरिन्थ्यो’, महतोले भने, ‘यसपालिदेखि त भारततिर पनि जान सकिएको छैन ।’

स्थानीयको समस्या बुझेर भद्रपुर नगरपालिकाले यस वर्षदेखि डुंगा सञ्चालन सुरु गरेको छ । डुंगा सञ्चालनको जिम्मा स्थानीय मिमलाल राजवंशीले पाएका छन् । उनी स्थानीयलाई नि:शुल्क सेवा गर्छन् । राजवंशी भन्छन्, ‘स्थानीयको सहजीकरणका लागि नगरपालिकाले तलब दिएर खटाएको हो ।’

लामो समयदेखि यो गाउँ जोड्ने पुल बन्न सकेको छैन । झोलुंगे पुल निर्माणका लागि ठेक्का लागेको ३ वर्ष बितिसक्यो । अहिलेसम्म पुल बन्न सकेको छैन । ‘१८ महिनाभित्र काम सक्ने कम्पनीको शर्त थियो’, स्थानीय सूर्य गुप्ता भन्छन्, ‘पुल बन्ने कुरा कथा जस्तै भइसक्यो ।’ ठेकेदारले गत वर्ष काम सुरु गरेका थिए । तर, बाढीले जगै बगाइदियो । ‘पुल छैन, डुंगाको सहारा मात्रै छ’, गुप्ताले भने ।

डोलो गाउँका पूर्ववडा अध्यक्ष जीतलाल राजवंशीले मेचीपारि सरकारको उपस्थिति ज्यादै न्यून रहेको बताए । ‘यो गाउँलाई राज्यले सधंै उपेक्षा मात्रै गर्‍यो’, जीतलालले भने, ‘हामीलाई नेपाल नै ठान्दैन सरकारले ।’

उनका अनुसार बेवास्ताका कारण लामो समयदेखि झोलुंगे पुल अलपत्र छ । २०२० सालताका मेची नदी बगेको स्थान अहिले भारतीय भूभागमा छ । यो स्थानबाट पनि यसपटकदेखि मेची छिरेको छ । गाउँलेलाई यसैले बढी सास्ती दिएको छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT