कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुध्रिएन हुलाकी राजमार्ग

पवन यादव

सिमरा — पूर्व–पश्चिम राजमार्गले भारतीय सिमानासम्म जोड्ने बारा जिल्लाको विकासको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्ग मटिअर्वा–कलैया–मानमत सडक निर्माणको गति सुस्त भएको छ ।

सुध्रिएन हुलाकी राजमार्ग

ठेकेदार कम्पनीको बदमासी र हुलाकी राजमार्ग निर्देशनालयको हेलचक्र्याइँका कारण निर्माण निर्धारित समयमा पूरा नहुने छाँटकाँट देखिएको हो ।३ वर्षमा निर्माण पूरा गर्ने सम्झौता गरिए पनि ११ महिना बाँकी रहँदासम्म सडकको ३० प्रतिशत मात्रै काम भएको आयोजनाका अधिकारीले बताए । मानमत–कलैया–मटिअर्वा सडक खण्डलाई काठमाडौंको आशिष/डिएस जेभी निर्माण कम्पनीले २०७३ कात्तिक ३ गते हुलाकी राजमार्ग निर्देशनालयसँग २०७६ वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

२७ किलोमिटरको सडक खण्डलाई २०७६ वैशाखसम्म निर्माण सम्पन्न गर्नका लागि कम्पनीले ४८ करोड ५८ लाखमा ठेक्का सकार गरेको हुलाकी राजमार्ग आयोजनाका अधिकारीले जनाएका छन् ।ठेक्का सकार गरेका निर्माण कम्पनीका प्रतिनिधि निपेन्द्र कार्कीले मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डमा पर्ने घरहरू र विद्युतीय पोलहरू खाली नगरिएका कारणले सडक निर्माणले गति लिन नसकेको बताउँछन् ।

‘सुरुमा मानमत–कलैया–मटिअर्वा सडक खण्डलाई कुन तरिकाले निर्माण गर्ने भन्ने बारे सम्बन्धित निकायबाट डिजाइन उपलब्ध गराउनमा ढिलाइ गरिएको थियो,’ उनले भने, ‘डिजाइन उपलब्ध गराइएपछि सडकको निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको छ ।’ सडकको मध्य भागदेखि दायाँबायाँ १५/१५ मिटर भित्र पर्ने घर र पोललाई हटाउन ढिलाइ गरियो भने तोकिएको मितिमा काम सम्पन्न नहुने जिकिर कार्कीले गरे । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले २०७३ पुस अन्तिम साता यस सडक खण्डको मटिअर्वामा शिलान्यास गरेपछि यसको निर्माण सुरु भएको थियो ।

सडक निर्माणमा भइरहेको ढिलाइले सुक्खायाममा धूलो र वर्षायाममा हिलोको समस्या भोग्दै आएको उत्तरझिटकैयाका धर्मेन्द्र साहले बताए । यस सडक खण्डलाई स्थानीयले विगत ४० वर्षदेखि कालोपत्रे गर्न माग गर्दै आएका छन् ।पूर्व–पश्चिम राजमार्गको मानमतदेखि भारतसँगको सिमाना जोडिएको मटिअर्वासम्म करिब २७ किलोमिटर उक्त सडक खण्डमध्ये कलैया उपमहानगरपालिकाभित्र १८ किलो मिटरभन्दा बढी भाग पर्छ ।

मानमत–कलैया–मटिअर्वा हुलाकी सडकको निर्माण समयमै सम्पन्न गराउनका लागि सम्बन्धित निकायलाई ताकेता गरेको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बताए ।कलैया बजारको मुख्य भाग भएर गएको यस सडकको निर्माण पूरा नहुँदा कलैया बजार क्षेत्र नै कुरुप बनेको उनले बताए ।

काठमाडौंसँग तराईका जिल्लालाई जोड्ने निर्माणाधीन रहको तराई–मधेस फास्ट ट्रयाक सडक बनेपछि वीरजन्जबाट काठमाडौं जाँदा मानमत–कलैया–मटिअर्वा हुलाकी सडक नै बढी प्रयोग हुने भएकाले यसको जति छिटो निर्माण हुन्छ, त्यति नै कलैयाको भविष्यका लागि राम्रो हुने नगर प्रमुख यादवले बताए । उक्त सडक निर्माणका लागि समन्वय गरी रहेको हुलाकी राजमार्ग आयोजना एकाइ कार्यालय वीरगन्जका प्रमुख अनुठालाल पटेलले सडकभित्र पर्ने स्थानीयका घर र जग्गाको मुआब्जा दिनमा ढिलाइ हुँदा सडक निर्माणले गति लिन नसकेको दाबी गरे ।

सुरुमा गरिएको मानमत–कलैया–मटिअर्वा सडक खण्डको भारतीय कन्सन्टेन्टबाट गरिएको डिजाइन राम्रो नभएपछि सडकको अर्को डिजाइन गर्नु पर्दा त्यसले पनि निर्माणमा फरक पारेको पटेलले बताए ।डिजाइनमा केही प्राविधिक समस्या देखिएकाले सडक खण्डमा पर्ने कल्भर्ट र पुलेसाको निर्माणतिर मात्रै कम्पनी केन्द्रित भएको उनले जानकारी दिए ।

यसअघि पनि भारत सरकारसँग सम्झौता गरी हुलाकी सडक निर्माण गरिरहेका भारत हैदरावादका बीभीएसआर, (जेभी) कम्पनीले सडक निर्माण छाडी सम्पर्कविहीन भएपछि हुलाकी सडक ४ वर्षदेखि अलपत्र परेको थियो ।

भारत सरकारले उपलब्ध गराएको सहयोग अनुदान रकमबाट बन्ने हुलाकी सडकहरूको भारतीय पक्षले अनुगमन र निगरानी गर्नेछ भने नेपाली पक्षबाट सडकको ठेक्का लगाउने र त्यसलाई समयमै पूरा गर्ने भारतीय र नेपाली पक्षबीच सम्झौता गरिएको आयोजनाका अधिकारीहरूले बताए ।

भारत सरकारको सहयोगमा हुलाकी राजमार्ग आयोजनाअन्तर्गत वीरगन्ज– ठोरीअन्तर्गत पर्ने ५३ किमि, बाराको तामागढी–सिम्रौनगढ सडक खण्डको ३९ किलोमिटर सडक र मानमत कलैया मटिअर्वा सडक खण्डको २७ किलोमिटर सडक निर्माण कार्य अगाडि बढेको हुलाकी सडक निर्देशनालयले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?