१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

युनिसेफको किट ४ महिनापछि वितरण

कान्तिपुर संवाददाता

पर्सा — बालबालिकाको मनोरञ्जन र मानसिक विकासका लागि वितरण गर्न भनी युनिसेफले उपलब्ध गराएको खेलकुद तथा सांगीतिक सामग्री सहितको २० वटा किट (बाकस) ४ महिनापछि वितरण हुन थालेको छ ।

युनिसेफको किट ४ महिनापछि वितरण

वीरगन्ज महानगरपालिकाको कार्यालयको ग्यारेजमा थन्किएको यो किट सातायता वितरण हुन थालेको हो ।

महानगरपालिकाको बालमैत्री शासन कार्यक्रमका स्रोत व्यक्ति मुकेश गुप्ताले हालसम्म २० वडामध्ये ७ वडाले किट लगिसकेको बताए । वडा नं ३, १०, ११, १२, १७ र २४ वडाका वडाध्यक्षहरूलाई किट हस्तान्तरण गरी सकिएको उनले जानकारी दिए । अन्य वडाका वडाध्यक्षले पनि क्रमश: किट बुझी लग्ने प्रक्रिया जारी रहेको उनले बताए ।


महानगरमा सन्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न वडामा गठित बाल क्लबलाई वितरण गर्ने उद्देश्यले युनिसेफले उपलब्ध गराएको किटमा विभिन्न खेलका खेल सामग्री तथा वाद्ययन्त्र पनि छन् ।

अप्रिल पहिलो साता आइपुगेका यी किट वितरणका लागि आवश्यक प्रक्रिया नपुगेको भन्दै ४ महिनादेखि थन्क्याएर राखिएको थियो ।किटमा फुटबल, फुटबल पम्प, टेबलटेनिस सेट, व्याडमिन्टन र्‍याकेट सेट, विभिन्न आकारका भलिबल, क्रिकेट व्याट, बल र स्टम्प, नि प्याड, स्किपिङ रोप, रबर चुङ्गीको ठूलो प्याकेट, विभिन्न खालका चेस सेट, लुडो, काठको चिनियाँ चेकर, उच्च गुणस्तरको सांगीतिक बाँसुरी, मादल, घुँघरु, ट्याम्बोरिन, हार्मोनियम, मेघा फोन, पोस्टर कलरहरू, ब्रस, पानी रंग, टेनिस बल, एक्सटेन्सन कर्ड, टिन ट्र्रङ, सटल कर्क सेट, हिसल, व्याडमिन्टन नेट, टेबलटेनिस नेट र टिन ट्रङ लक गरी ३५ प्रकारका सामग्री छन् ।

बालबालिकाका लागि अत्यन्त उपयोगी हुने किट ढिलै भए पनि वितरण हुनु सकारात्मक भएको गुप्ताले बताए । महानगरको साविकका २० वडाहरूमा वितरण गर्ने योजनाअनुरूप ती वडामा हाल ढिलो गरी बालक्लव गठन भएकाले पनि समस्या भएको उनले बताए । यी किट वितरण गर्न प्रत्येक वडामा ५ वटा टोल र एउटा वडास्तरीय बाल क्लव गठन हुन अनिवार्य छ । सबै वडामा यस्ता क्लव गठन हुन ढिलाइ भएकाले किट वितरण हुन ढिला भएको गुप्ताले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?