कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन वर्षदेखि ओछ्यानमै

शिव पुरी

डुमरिया (रौतहट) — चन्द्रपुर ९ स्थित डुमरियाका ३५ वर्षीय सुरेश माझी मुसहर उपचारको अभावमा ३ वर्षदेखि ओछ्यानमै अलपत्र परेका छन् । ससुरालीबाट घर फर्कने क्रममा बाटोमा लडेर घाइते सुरेशको उपचार अभावमा ओछ्यानमा परेका हुन् ।

तीन वर्षदेखि ओछ्यानमै

उनको ढाडदेखि मुनि र दुवै हात चल्दैनन । खानेकुरा खुवाउनदेखि दिसापिसाब गराउन अर्कैको सहारा चाहिन्छ । ‘उपचार गराउँ भने पैसा छैन,’ उनले भने, ‘ओछ्यानमै प्राण जाने भयो । कसैले उपचार गराउन सहयोग गरेनन् ।’

अपाङ्गले पाउने सेवा सुविधा समेत स्थानीय तहबाट नपाएको उनको गुनासो छ । एक वर्षअघि आवश्यक सबै कागजपत्र बनाएर नगरपालिकामा पेस गरेको भए पनि अहिलेसम्म भत्ता नपाएको उनले बताए ।

घाइते भएपछि गरुडा नगरपालिकास्थित शिवनगरको एक क्लिनिकमा सामान्य उपचार गराउँदा १८ हजार खर्चेका थिए । तर ठीक भएन । उपचार गराउन गाउँका महाजनबाट लिइएको ऋण उनकी श्रीमती सन्ध्या मुसहरले काम गरेर तिर्दै आएकी छन् । घरमुली बिरामी परेपछि जीविका चलाउन उनलाई समस्या परेको छ । तीन छोराछोरी सहित ५ जनाको परिवारको अवस्था कष्टकर छ । सन्ध्या चिम्नि भट्टामा काम गर्न जान्छिन् ।

वर्षाको सिजनभरि त्यो पनि बन्द हुन्छ । यो बेलामा उनीहरूलाई खान धौधौ पर्छ । ‘कहिलेकाहीं भोकै सुत्छाैं । छोराछोरी पनि भोकै हुन्छन्,’ गहभरि आँसु पार्दै भनिन्, ‘श्रीमानको उपचार गर्न सकिएन ।’ केही दिनदेखि उनी पनि बिरामी छन् । पिसाबमा समस्या आएपछि दिनहुँ चिकित्सक कहाँ धाउँछिन् ।दैनिक मजदुरी गरेर चामल, दाल किन्दै आएको भए पनि वर्षाका बेला इँटा बनाउने काम बन्द हुँदा उनीहरूसँग घरमा एक पैसा छैन । आर्थिक अभावककै कारण छोराछोरीलाई विद्यालय भर्ना गर्न नसकेको उनले सुनाइन् । स्कुल जाने उमेरका एकछोरी र दुई छोराले पढ्न पाएका छैनन् । आमा कमाउन गएका बेला दुई छोरा बुवाको रेखदेख गर्न बस्छन् ।

डुमरिया बजारदेखि पूर्वपट्टि एकान्त ठाउँमा रहेको उनको झुपडीमा लत्ताकपडा केही छैन । जाडोको समयमा ओढ्ने ओछ्याउने न्यानो कपडा नहुँदा सुकुल तथा पराल ओछ्याएरै सुत्ने गर्छन् । वर्षाका बेला छानाबाट पानी चुहिएर बस्नै हुँदैन ।

कटहरिया नगरपालिका ९ डुमरिया टोलका ८४ वर्षीय हंसराज माझी दस वर्षदेखि पक्षघातले पीडित छन् । उनको दुवै खुट्टा चल्दैन । उपचार अभावमा नदी छेउको सामान्य घरमा उनी ओछ्यानमै पल्टिरहेका हुन्छन् ।

झुपडीमा कष्टकर जीवन बितराइरहेका उनले ३ वर्षदेखि बाहिरी संसार देख्न पाएका छैनन् । ‘उपचार गर्न पैसा छैन । मृत्यु पर्खनु बाहेक विकल्प छैन,’ उनले भने, ‘घरमा खाना छैन उपचार कसरी गर्नु ।’ उनका सन्तान छैनन । त्यसैले पीडा थपिएको हो । दिसापिसाब अर्कैले गराउनुपर्ने अवस्था छ । ७० वर्षीया श्रीमती सीतादेवी मुसहर्नीले छरछिमेक गुहारेर खानेकुराको जोहो गर्दै आएकी छन् । दुवैको वृद्ध जीवन त्यसरी नै चलेको छ ।

चन्द्रपुर नगरपालिका ८ सन्तपुरका ४५ वर्षीय रितलाल माझी मुसहर पनि पक्षघातले हिँडडुल गर्न नसेकेको ४ वर्ष भइसकेको छ । उनको पनि उपचार अभावमा ओछ्यानमै बास छ । ‘सामान्य बिरामी हँुदा आर्थिक अभावकै कारण उपचार गराउन सक्दैनन्,’ मुसहरका अगुवा अनुप माझी मुसहरले भने, ‘अर्काकोमा ज्यालादारी गर्ने मुसहरले चामल किन्ने कि उपचार गराउने ?’

प्रकाशित : श्रावण २७, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?