कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिरुवा बेचेर करोडपति

रवीन्द्र उप्रेती

महोत्तरी — त्यति बेला नारायण श्रेष्ठ केवल २२ वर्षका थिए । गौशाला नगरपालिका १ स्थित एउटा सानो टोल इटाटारका यी युवा भरखरै आईकम सकेर घर फर्केका थिए । गाउँमा बेरोजगारी थियो । परिवारमा गरिबी । अगाडि पढने अवस्था थिएन । जागिर पाउने सम्भावाना त कल्पनाभन्दा बाहिरको कुरा ।

बिरुवा बेचेर करोडपति

उति बेलाका युवा रोजगारीको खोजीमा पंजाव र दिल्ली जाने गर्थे । पञ्चायत काल थियो । खाडी मुलुक खुलेको थिएन । आफना दौतारिभन्दा फरक स्वभावका उनले अठोट गरे रोजगारीका लागि कतै नभौतारिने । बरु गाउँमै व्यवसाय चलाउने । तर त्यसका लागि उनीसँग न पुँजी थियो न पूर्वाधार । अंशबण्डामा पाएको १० धुर जमिनबाहेक हात शून्य थियो ।

कुरो ०४५ सालतिरको हो । नकटाझिझस्थिा कृषि फर्मका नर्सरी नाइके कृष्ण दासको प्रेरणाबाट त्यहीं १० धुरमा फलफूल नर्सरी स्थापना गरे । आमदानी बढदै गयो । १० धुरबाट सुरु गरेको उनको नर्सरी अहिले ३ बिघामा फैलिएको छ । वार्षिक लाखभन्दा बढी बिरुवा उत्पादन हुन्छ । उत्पादित बिरुवामध्ये ८० हजार आँप, १५ हजार लिची, ४ हजार कटहर, १ हजार कागती र मौसमअनुसारका फूल छन् । ग्राहकको रुचि आँपका बिरुवामा रहेकाले नर्सरीमा ३५ प्रजातिका आँपका बेर्ना लगाइएको उनले बताए । ‘त्यसमध्ये मालदह, बम्बै, दशहरी, कलकतिया, आम्रपाली, जर्दा, गुलावखास प्रजातिका बिरुवाको माग बढी छ,’ नारायणले बताए, ‘अहिले लेट भेराइटीको पाकिस्तानी प्रजाती ‘अब्बेहयात’ बिरुवाको माग पनि बढदो छ, यो भदौमा पाक्ने नयाँ प्रजातिको आँप हो ।’

नर्सरी चल्न थालेपछि ०५२ सालतिर कृषि विभाग निर्देशनालयबाट बोटबिरुवा उत्पादन तथा बेचबिखनको लाइसेन्स लिएपछि उनको कारोबार अहिले भारतसम्म विस्तार भएको छ । ‘मेरो नर्सरीका ३० प्रतिशतभन्दा बढी ग्राहक भारतीय छन्,’ नारायणले भने, ‘सोनवर्षा, उमगाउँ, बेला, परिहार, कन्हमालगायत दर्जनभन्दा बढी भारतीय गाउँबाट नियमित ग्राहक आउने गरेका छन् ।’

यसको कारण हो विश्वनियता । भारतीय ग्राहकका अनुसार विरुवामा किसान सजिलै ठगिन्छन् । मालदह भनेर जर्दा आपका बिरुवा दिन्छन् । कलमी भनेर लग्यो ठिमाहा फल्छ । ‘तर नारायणको नर्सरीमा धोखा र ठगी हुँदैन,’ भारत बेलाका ग्राहक रुदल दासले भने, ‘त्यसैले हामी घर छेउको नर्सरी छाडेर बिरुवा खरिद गर्न इटाटार पुग्छौं ।’

रोजगारीका लागि विदेश जाने युवालाई देखेर उनलाई टिठ लाग्छ । उनका अनुसार जो अल्छी छ उही विदेश जान्छ । ‘किन जाने विदेश ?’ उनले प्रश्न गरे, ‘विदेश गएर खर्चने जाँगर यहीं चलाए देशमै बसेर मनग्ये कमाउन सकिन्छ, अल्छी नगरे यही अवसरै अवसर छ ।’

बिरुवाका नया प्रयोग उनको अभिरुचि हो । अहिले उनी हिमाली भेगमा फल्ने सुन्तला तराईको तापक्रममा फलाएर सवैको ध्यान खिचेका छन् । तराईको ३० देखि ४० डिग्री तापक्रममा उनको नर्सरीमा लटरम्म फलेको सुन्तलाको बोटले फलफूल ग्राहकलाई लोभ्याउन थालेपछि सुन्तलाको बेर्ना पनि उत्पादन गर्न थालेको उनले जनाए ।

नर्सरी व्यवसायबाट उनी मालामाल छन् । कति आमदानी हुन्छ बताउन रुचि देखाएनन् । तर नर्सरीकै कमाइले वार्षिक १० लाख तिरेर कान्छो छोरो शेखरमानलाई युक्रेनमा डाक्टरी पढाउँदै छन् । तीन छोरीको बिहे गर्दा ऋण उठाउनु परेन । १० धुरबाट ३ बिघाभन्दा बढी जमिन थपे । काठामाडौंको सीतापाइलामा घर जोडेको जस्ता सफलता र समृद्धिका कथा सुनाए । ‘नर्सरीबाट पैसा मात्र हैन मान्छे र विश्वाससमेत कमाउन सकेकाले म आफनो व्यवसायबाट सन्तुष्ट छु,’ उनले भने ।

प्रकाशित : श्रावण २७, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?