कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा अडिँदैनन् पर्यटक

शंकर आचार्य

पर्सा — गत वर्ष वीरगन्ज नाकाबाट आउजाउ गर्ने तेस्रो मुलुकका पर्यटकको संख्यामा निकै कमी पाइएको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार गत वर्ष २ हजार २ सय ६९ पर्यटक मात्र आउजाउ गरेका छन् । तीमध्ये १ हजार १ सय १९ पर्यटक भित्रिएका छन् भने १ हजार १ सय ५० जना बाहिरिएका छन् ।

वीरगन्जमा अडिँदैनन् पर्यटक

अध्यागमन सहायक धु्रव अधिकारीका अनुसार नेपाल प्रवेश गरेका पर्यटकमध्ये ६ सय ५३ पुरुष र ४ सय ५ महिला थिए । त्यसैगरी बाहिरिनेमा ६ सय ५३ पुरुष र ४ सय ९७ महिला थिए । यो नाकाबाट आवागमन गर्ने पर्यटक अधिकांश थाइल्यान्ड, अमेरिका, बेलायत, अस्ट्ेरलियाका हुने गरेको उनले बताए ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट त्यहाँका अधिकांश महानगर तथा ठूला सहरसम्म सोझो रेल सेवा भए पनि यो नाकाबाट पर्यटकको आवागमनको आँकडा निकै कम हो । नाका अव्यवस्थित र फोहोर हुँदा पर्यटकमाझ मुलुकको छवि धमिलिने गरेको छ । वर्षौंदेखि वीरगन्ज–रक्सौल नाका अव्यवस्थित, फोहोरी, दुर्गन्ध र कोलाहलयुक्त छ । जाम, धूलो, धूवा र अव्यवस्थाले पर्यटक आजित हुने गरेका छन् ।

यसै कारण उनीहरू दोहोर्‍याएर यो नाका प्रयोग गर्न चाहँदैनन् । वीरगन्जमा रात बिताउने पर्यटक विरलै हुन्छन् । उनीहरू सकेसम्म सौराहा, काठमाडौं, पोखराजस्ता पर्यटकीय सहरै पुग्छन् । वीरगन्ज र आसपास क्षेत्रमा पर्सा निकुञ्ज, गढीमाई मन्दिर, सिम्रौनगढ, घडिअर्वा पोखरी जस्ता पर्यटकीय संरचना छन् । यिनबारे पर्याप्त प्रचारप्रसार नहुँदा पनि पर्यटक यहाँ अडिँदैनन् ।

यो नाकामा भेटिने पर्यटकमध्ये आधाजसो भारतको प्रसिद्ध बौद्ध धार्मिक स्थल बोधगया आउजाउ गर्नेहरू हुन्छन् । यहाँबाट बोधगया पुग्न सहज छ । तर, फोहोर र अव्यवस्थाकै कारण उनीहरूलाई वीरगन्जले भने तान्न सक्दैन । पर्यटक लोभ्याउन यहाँका पर्यटन तथा होटल व्यवसायीले पनि कुनै गृहकार्य गरेका छैनन् ।

यहाँका विकास पूर्वाधारलाई ऐतिहासिक तथा पर्यटकीय स्थलमा विकास गरेर पर्यटक तान्न सकिने प्रशस्त सम्भावना रहेको होटल व्यवसायी हरि पन्त बताउँछन् । ‘पर्यटकलाई बास बसाउन आकर्षक वातावरण पनि त हुनुपर्छ,’ उनले भने, ‘अन्य केही नभए मधेसी, थारू, आदिवासी–जनजातिको सांस्कृतिक पहिचान झल्किने झाँकी, नृत्यले मनोरन्जन दिन सकिन्छ, पर्सा राष्ट्रिय निकुञ्ज सफारी गराउन सकिन्छ ।’ तर, यसका लागि नाकालाई व्यवस्थित, आकर्षक, स्वच्छ, हराभरा बनाउन आवश्यक रहेको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?