शरीरमा टेप टाँसेर तस्करी

कान्तिपुर संवाददाता

पर्सा — शरीरमा सेटिङ गरी टेप लगाएर लागूऔषध बोकेर ल्याउँदै गरेका एक युवक सोमबार वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ परेका छन् ।

शरीरमा टेप सेटिङ गरी लागूऔषध तस्करी गरी ल्याउँदै गर्दा सोमबार वीरगन्ज सीमाबाट पक्राउ परेका घले । तस्बिरः शंकर आचार्य/कान्तिपुर

पक्राउ पर्ने लमजुङ जोर्नी डाँडाका १९ वर्षीय सुभाष घले हुन् । उनलाई वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोक क्षेत्रबाट वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

Yamaha

सशस्त्र प्रहरी हवल्दार अर्जुन बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले जाँच गर्ने क्रममा घलेको शरीरबाट ६९ गोटा डाइजोल्याव, ७२ गोटा नोफिन र ७१ गोटा फेनारगन गरी २ सय १२ गोटा लागूऔषध बरामद गरेको हो ।

पक्राउ परेका घलेलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिआएका प्रनानि नकुल गौतमको जिम्मा लगाई आवश्यक कारबाहीका लागि पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खडकाले जानकारी दिए ।

सीमामा पछिल्लो समय गरिएको कडाइपछि तस्कर समूहले तस्करीको नयाँ नयाँ जुक्ति निकालेको हुन सक्ने उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७५ २०:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भालुले लुछेपछि ...

सुरविन्द्रकुमार पुन

काठमाडौँ — रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुम गाउँका कैलाश पुन भालुको आक्रमणबाट गम्भीर घाइते छन् । उनको काठमाडौं कुलेश्वरस्थित राजधानी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

‘वर्ष दिन पनि खानलाउन नपुग्ने परिवारमा जन्मेका कैलाशलाई काठमाडौंसम्म ल्याउन विभिन्न आरोह–अवरोह व्यहोर्नु पर्‍यो,’ उनको उपचारमा आर्थिक सहयोग जुटाउनेमध्येका एक अगुवा हर्कबहादुर घर्तीमगरले भने, ‘धेरै प्रयासपछि शान्तिको श्वास फेर्न पाएका छौं।’

हर्कबहादुर आफैं अध्यक्ष रहेको लुगुम्याल समाज काठमाडौंको मुख्य पहलमा कैलाश पुनको उपचार भइरहेको हो। लुगुम्याल समाजको संयोजकत्वमा देश विदेशबाट उनलाई सहयोग गर्नेको संख्या बढिरहेको छ।जिल्लावासी नेताहरुले पनि सकेको सहयोग गर्ने आश्वासन दिएका छन्। हालसम्म उनको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। ‘अस्पतालका अनुसार सबै गरेर उपचार खर्च १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ,’ कैलाशका लागि उपचार खर्च जुटाउने मध्येका एक केशव रावलले बताए।

साउन १५ गते भालुको आक्रमणमा परेका कैलाशलाई २ दिनको प्रयासपछि १७ गते काठमाडौं पुर्‍याइएको हो। कैलाशलाई जंगलमा भालुले आक्रमण गरेदेखि काठमाडौं उपचारमा ल्याउँदासम्मको कथा निकै रोचक मात्र छैन ग्रामीण भेगका बासिन्दाले विपत्‌का बेला स्वास्थ्य उपचार पाउन गरेको संघर्षको शिलशिला मर्मस्पर्शी र चाखलाग्दो छ।

कैलाश सधैं झैं बिहानको खाना खाएर साथीहरुसँग आफ्नो नियमित कामतिर लागे। आफूभन्दा पाका गोठालाहरुसँग गाईबस्तु लिएर वनतिर गए। गोठालाकाे चलनअनुसार गोठमा घाँस र दाउराको जोहो कान्छाले गर्नुपर्छ।

त्यसै पनि गोठमा युवा तथा किशोरहरु बढी सक्रिय हुनुपर्छ। गाई खर्कको रुपमा स्थापित खर्क बसेको यो वन शिल्ला जंगलले पनि चिनिन्छ, जसमा लुगुम्यालहरु साउन भदौमा मनसुनी सिजनको रुपमा अस्थायी गोठ बसाल्ने गर्दछन्।

गाईको बाच्छालाई घाँस जम्मा गर्नु कठिन काम हो। लैनु बाच्छाहरु चौबिसै घण्टा गोठमा राख्नुपर्ने हुँदा राम्रो र मसिनु घाँस पर्याप्त मात्रामा जम्मा गर्नुपर्छ। खुला चरिचरन भएकाले जंगलकाे बीचमा मसिनाे घाँस जम्मा गर्नु चानचुने होइन। अप्ठेरो ठाउँ नभई मसिनाे घाँस पाइदैन।

करिब ११ बजेतिरको समय। कैलाशसँग अरु दुईजना किशोर पनि थिए। सबै वनमा घाँसको खोजीमा व्यस्त थिए। जंगल बीचमा उनीहरु छुट्टिएको आधा घण्टा नबित्दै भालु गर्जिएको आवाज आयो। भालु तारन्तारर गर्जिरहेका थियो। खस्रुको घना जंगल बीचमा भालुको गर्जनले आसपासका गोठालाहरु नजिकिन सरु गरे।
यो बेला भालुको गर्जनसँगै मान्छे चिच्याइरहेको आवाज पनि सुनियो। यस्ता डरलाग्दो आवाज सुनिएपछि त्रसित गोठालाहरु एकठाउँ जम्मा भए। भालु गर्जिरहेको तर्फ गोठालाहरु पुग्दा कैलाशलाई भालुले लुछिरहेको थियो। लाठी मुङ्ग्रो बोकेका उनीहरु अगाडि बढेपछि भालु तर्सियो।

जब भालु झाडीतर्फ फाल हाल्यो, उनीहरुभालुबाट लुछिएकोकैलाश नजिक गए। यो बेलासम्म कैलाश फालेको थाङ्नाजस्तै लत्रिएका थिए। उनको अनुहार मात्र नभईपूरा शरीर रक्ताम्य थियो। शरीरमा भएका कपडा पनि थाङ्ना भइसकेका थिए। उनी हलचल गर्न नसक्ने भएका थिए। कतिपयले त जिउँदो नरहेको समेत बताए।

कैलाशको शीरको भाग विभत्स देखिन्थ्यो। आत्मबल बलियो भएकाले मात्र हेर्न सक्दथे। पाका गोठालाहरुले निकै सुस्तसाथ श्वास दोहोर्‍याइरहेको अड्कल काढे। गाउँमा लगेर औषधोमुलो गर्ने निधो गरियो। उनका सहोदर दाइ मोहन लगायत जना सात–आठले गोठबाट लगालग हिँडेरै ५ घण्टामा लुगुम गाउँ पुर्‍याए।

परम्परागत औषधोपचारले कैलाशलाई बचाउन नसकिने निचोडपछि गाउँलेहरुको समझदारीमा रुकुमपश्चिमको सदरमुकाम खलंगा लाने निर्णय भयो। हेलिकप्टरको व्यवस्था गर्ने हो कि भन्ने पनि चल्यो। अबेला पनि भएको र मौसमले पनि साथ नदिएको कारण त्यो सम्भव भएन। कैलाशका बुबा फुरमान र आमा जुनपुराले कुनै निर्णय लिन सकेनन्।

हुन पनि कैलाशको परिवार लुगुम गाउँकै विपन्नमध्येको एक थियो। यसै पनि उनीहरु निरक्षर थिए, निमुखा थिए। जसको कारणले १५ वर्षीय कैलाश विद्यालय पढ्ने उमेरमा पनि गोठालो जीवन बिताइरहेका थिए। फुरमान र जुनपुराले निशंकोच गाउँलेहरुको निर्णयलाई शिरोपर गरे।

दाई मोहनसहित दर्जनका संख्यामा गाउँका युवाहरु छानिएर उनलाई रुकुमकोटतर्फ लगियो। बर्खायामको मोटर बाटो। हिलो र पहिरोले निकै सास्ती दिएको थियो। जीप गुड्ने बाटोमा समेत कैलाशलाई बोकेरै रुकुमकोट पुर्‍याइयो।

रातकै बखत पनि रुकुमकोटबाट खलंगातर्फ जीप रिजर्व गरेर गए। राति नै जीपमा खलंगा पुर्‍याइयो। खलंगास्थित एक सामुदायिक अस्पतालमा केही थान सलाइन चढाउनु बाहेक अरु प्रगति हुन सकेन। बरु त्यहाँस्थित डाक्टरले सिधै बाँकेको कोहलपुर शिक्षण अस्पतालमा सिफारिस गरे।

तत्कालै उनीहरुले एम्बुलेन्स रिजर्व गरेर कोहलपुरतर्फ लागे। कोहलपुरस्थित शिक्षण अस्पतालको इमर्जेन्सीमा लगियो। त्यहाँ केही सामान्य नर्सिङ सेवापश्चात् डाक्टरले नजिकैको नेपालगञ्जको भेरी अञ्चल अस्पताल रिफर गरे। उनलाई तत्कालै नेपालगञ्ज लगियाे।

भेरी अञ्चल अस्पतालकाे इमर्जेन्सीमा लगेपश्चात् त्यहाँका डाक्टरले पनि कुनै आस दिलाउन सकेनन्। प्रयास गरौंला भन्नुको साटो उनीहरुले सिधैं लखनउतर्फको सिफारिस दिलाइदिए। विकल्पको रुपमा काठमाडौं पनि सुझाएका थिए। तर काठमाडौंतिर ती डाक्टरले निकै झिनो आशमात्र देखाएका थिए।

यो बेला कैलाशलाई लिएर आउनेहरु निकै हतास भइसकेका थिए। उनीहरुले सोचे, अब कैलाशलाई बचाउन सकिन्न। तैपनि, टोलीमा रहेका केहीले आँट देखाए। हरेस नखाने, बरु सकिनसकी कैलाशलाई काठमाडौं नै लैजाने। काठमाडौंमा आफ्नै छरछिमेकी, गाउँले, जिल्लावासीसाथै परदेशका मित्रहरुसँग हात फैलाउन सजिलो हुन्छ भन्ने उनीहरुको निर्क्याैल थियो। त्यसैले जे त पर्ला, व्यहोरिएला भन्दै दिनरात नभनी एम्बुलेन्सबाट काठमाडौं आए।

‘जति काठमाडौं नजिकिन्छौं उति हामी कुहिरोमा हराएका काग झैं भएका थियौं। काठमाडौंमा कहाँ, कुन, कस्तो प्रकृतिको अस्पतालमा लगे कैलाशको उपचार हुन सक्छ भन्दै हामी निकै दोधारै दोधारमा आइपुगेका थियौं’ टोलीका एक सदस्यले आफ्नो कहानी सुनाए,‘रुकुमपूर्वको प्रतिनिधित्व गरी काठमाडौं बसाइ गरेका नेतालाई फोन गर्‍यौं, फोन उठेन। योबेला हामी आजित बनेका थियौं।’

‘काठमाडौं भित्रिए लगत्तै कसैबाट सुनेका थियौं– जंगली जनावरको आक्रमणबाट घाइतेलाई टेकु अस्पतालले उपचार गर्छ। त्यसैले हामी सबैभन्दा पहिले टेकु अस्पताल पुग्यौं,’ लुगुम्याल समाजकी कोषाध्यक्ष दिलकुमारी बुढामगरले भनिन्, 'धेरै समयको प्रयासमा पनि टेकु अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने संकेत दियो।'

बरु डाक्टरहरुले आईसीयु विना यस्तो गम्भीर बिरामीको कुनै पनि अस्पतालमा उपचार हुन नसक्ने बताए।’एक हदले फेरि उनीहरुको जाँगर मर्‍यो। त्यसपछि सरकारी अस्पतालहरु वीर, टिचिङ, पाटन, केएमसी लगायत राजधानीका नाम चलेका निजी अस्पतालमा आईसीयु बारे बुझे। कुनै पनि अस्पतालले आईसीयु खाली नभएको बताएपछि उनीहरुले कैलाशलाई माया मारिसकेका थिए।

भालुको झम्टाइले विषाक्त बनेका घाउ बासी हुनु र अत्यधिक रक्तस्रावले उनको जीउ शिथिल बन्दै गएको थियो। ‘हामीले बाँच्छ कि भन्ने आश मारेका थियौं’, दिलकुमारीले दु:ख पोखिन्। कैलाशको शिर धुङधुङी गन्हाइरहेको थियो। झिँगा समेत भन्किसकेका थिए। धेरै पछिको प्रयासपछि कुलेश्वरस्थित राजधानी अस्पतालमा आइसीयु खाली छ भन्ने थाहा पायौं। धन्य ! अस्पतालले भर्ना गर्ने संकेत दियो।
डाक्टरले उपचारको लागि अनुमानित रकम जानकारी गराए। यसमा उनीहरु सहमत भए। कैलाशलाई भर्ना गराएर अस्पतालको अपरेसन वार्डमा भित्र्याएपछि उनीहरुले आफूले निर्वाह गरेको भूमिका ५० प्रतिशत पास भएको दाबी गरे।

मेडिकल रिपोर्टअनुसार शिरमा गम्भीर चोट परेको छ। शीरको छाला चरक्कै लुछिएको छ। भालुको पञ्जा र दाँतले मगज ढाक्ने हड्डीलाई पनि असर पुगेको छ। एनेस्थेजियोलोजिस्ट, ओर्थोपेडिक्ट, न्युरोसर्जन, प्लाष्टिक सर्जन र जनरल फिजिसियन गरी ५ डाक्टरको निगरानीमा कैलाशको उपचार भइरहेको छ।

अहिलेसम्म उनको दुईपटक शल्यक्रिया भइसकेको छ। भालुले लछारपछार पार्दा टाउकोमा गम्भीर चोट परेको छ भने दायाँ हात र बायाँ खुट्टा पनि भाँचिएको छ। उपचारको एघारौं दिनसम्म आइपुग्दा कैलाशको होस खुलेको छ। आफन्तलाई चिन्ने भएका छन् भने बायाँ हातको इसाराले सोधेको जवाफ फर्काउने कोसिस गरिरहेका छन्। उनका कुरुवा बस्न दाइ मोहनसँग अन्य लुगुम्यालहरु पालैपालो साथ दिइरहेका छन्।

लुगुम गाउँ, काठमाडौं, दाङ, खलंगा, रुकुमकोट, बेलायत, जापान, अमेरिका, कोरिया लगायत खाडी मुलुकमा रहेका लुगुम्याल मात्र नभई अन्यत्र ठाउँ र पेशामा आबद्ध व्यक्ति तथा संघसंस्थाले सहयोग जुटाइरहेका छन्। उनको उपचार खर्चका लागि आर्थिक संकलनमा आबद्ध अध्यक्ष हर्कबहादुरका अनुसार कैलाशको स्वास्थ्यमा सुधार आएपछि सहयोगी दाताहरु थप हौसिएका छन्।

स्वास्थ्यमा सुधार देखिएपछि यसबारे कैलाशका बुबाआमालाई बुझ्न खोज्दा गाउँमा टावरले काम नगरेको उनका दाइ मोहनले बताए। केही क्षणको भलाकुसारीपछि टावर दिए पनि उनका बुबाआमासँग त के सिंगो परिवारमै मोबाइल नरहेको स्पष्ट गराए।

प्रकाशित : श्रावण २८, २०७५ १९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT