कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बोर्डिङबाट सामुदायिकमा

‘पति मापसे अभियोगमा साउदी जेल परे, खर्च धान्न सकिएन छोरालाई सामुदायिकमा सारें’
शंकर आचार्य

पर्सा — रोजगारीका लागि साउदी गएका ३२ वर्षीय राजेश मण्डल ८ महिनादेखि प्रहरी नियन्त्रणमा छन् ।
उनी जेल परेपछि घरमा पैसा पठाउन छोडे । छोरा बोर्डिङबाट सामुदायिक विद्यालयमा सरे ।पति पक्राउ परेदेखि वीरगन्ज महानगर १४ राधेमाईकी लक्षु मण्डलका आँखा ओभाना भएका छैनन् ।

बोर्डिङबाट सामुदायिकमा

वीरगन्जको एक गैरसरकारी संस्थाकी कार्यालय सहयोगी लक्षुले आफ्नै कमाइबाट ३ वटा छोराछोरीको पालनपोषण र शिक्षादीक्षा कठिन भएको बताइन् । ‘म एक्लीले घर–व्यवहार धान्न नसक्ने भएर छोरालाई सामुदायिकमा सारें,’ लक्षुले भनिन्, ‘उहाँ पक्राउ पर्नु अघि मासिक २० देखि २५ हजार रुपैयाँ पठाउनुहुन्थ्यो । अहिले त्यो बन्द छ । उहाँ रोजगारीमा जाँदा लिएको १ लाख ४० हजार रुपैयाँ ऋण जसोतसो तिरेकी थिएँ ।’


राजेशलाई साउदी प्रहरीले २०१७ को डिसेम्बर २० मा साउदी अरबको राजधानी रियादस्थित डेराबाटै पक्राउ गरेको थियो ।


काठमाडौंका साथी रमेश राउतसँगै बसेर डेरामा मदिरा सेवन गरेको अवस्थामा साउदी प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि २ पटक मात्र आफूलाई फोन गरेका पति राजेशले सानो भूलले पक्राउ परी अत्यन्त समस्यामा परेको र आफूलाई कसैगरी छुटाउन आग्रह गरेको लक्षुले बताइन् । ‘म अत्यन्त समस्यामा छु, मलाई कसैगरी यहाँबाट छुटाउ भन्नुहुन्थ्यो,’ लक्षुले भनिन्, ‘उहाँ कुन जेल वा थानामा हुनुहुन्छ, मलाई थाहा छैन, मैले के गर्दा उहाँलाई छुटाउन सक्छु, कहाँ जाउँ, कसलाई गुहारौं केही सोच्न सकेकी छैन ।’


३ साताअघि पछिल्लोपटक आएको फोनमा पति राजेशले यसअघि मदिरा सेवनको अभियोगमा पक्राउ परेका एक नेपालीले ६ वर्ष कैद सजाय पाएको र आफूले पनि त्यस्तै सजाय पाउन सक्ने सम्भावना रहेको बताएको लक्षुको भनाइ थियो ।


राजेश त्यहाँको अब्दुल अजिज एम अल मान्ना कम्पनीमा सवारी चालकका रूपमा आबद्ध थिए । २ वर्षे करार गरी रोजगारीका लागि गएका राजेश २०७३ वैशाख ४ गते साउदी पुगेका हुन् । उनको भिसाको अवधि २०७५ वैशाख ४ गते सकिएको छ । आफ्ना लागि बोलिदिने र पैरवी गरिदिने कोही नभएकाले आफू अत्यन्त निराश र हताश भएको लक्षुले बताइन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?