२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बागमतीमा बाढी: बाँधकै चिन्ता

शिव पुरी

रौतहट — राजदेवी नगरपालिका ६ का स्थानीय छिनछिनमा वाग्मतीको बाँध हेर्न पुग्थे । पानीको सतह बढेपछि गाउँलेलाई एउटै चिन्ता थियो, बाँध भत्कियो भने सिंगो गाउँ नै सखाप हुन्छ । अवस्था गम्भीर हुन सक्छ । नदीले बाँधभन्दा २०/२५ मिटर नजिक कटान गर्न थालेपछि स्थानीयमा त्रास बढेको हो ।

बागमतीमा बाढी: बाँधकै चिन्ता

बर्सेनि बागमती र लालबकैयाले डुबान कटानको समस्या पार्दै आएको छ । नदीमा आएको बाढीले बाँध भत्किने हो कि भन्ने सबैमा त्रास छ । यो जीर्ण भइसकेको छ । ठाउँ/ठाउँमा भत्किँदै गएको छ । त्यसैले पनि समस्या ल्याएको हो । नदीले कटान गर्न थालेको सूचना पाए लगत्तै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसमेत पुगेका थिए ।

उनले बाँधको अवस्थाको स्थलगत निरीक्षण गरेपछि तत्कालै जलउत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवलाई फोन गरेर तत्काल अस्थायी भए पनि स्पर लगाउन अनुरोध गरे । प्रमुख श्रीवास्तवले बजेट अभावले सम्भव नभएको भन्दै पन्छिन खोजे । प्रजिअ रिजालले गृह मन्त्रालयमा अवस्थाको जानकारी गराए । त्यसपछि माथिबाट मर्मतका लागि निर्देशन भयो ।

प्रजिअ रिजालले कटान रोक्नेतर्फ चासो दिनुपर्नेमा बजेटको अभाव देखाएर डिभिजन कार्यालय पन्छिन खोजेको बताए । ‘तत्काल कटान रोक्न सकिएन भने पछि बाँधसमेत भत्किएर ठूलो समस्या ल्याउँछ,’ उनले भने, ‘थोरै कटान हुँदा थोरै रकमले सम्भव हुन्छ । पछि बाढीको चाप बढेर धेरै गाउँ डुबान र बगाउने डर हुन्छ । यसलाई तत्काल रोकथाम गर्न जरुरी छ ।’

प्रजिअ रिजालको पहलपछि अहिले त्यहाँ डिभिजनले अस्थायी स्पर निर्माणका लागि बोरा सहयोग गरेको छ । राजदेवी नगरपालिकाले बोरामा बालुवाका राखेर अस्थायी स्पर बनाउन सुरु गरेको छ । तत्काल ६ वटा स्पर बनाउनसके कटान रोकिने प्रजिअ रिजालले जनाए ।

चुरे क्षेत्रमा भएको भारी वर्षाले वागमती नदीमा पानीको सतह बढेको हो । सतह बढ्दै गएपछि नदी आसपासका दर्जनौं बस्ती जोखिममा छन् । राजदेवी नगरपालिकाको ब्रह्मपुरी र कटरवनस्थित खेतीयोग्य जमिन पनि कटान गरेको छ ।

नदीमा आएको बाढी सदरमुकाम गौरसहित आसपासका ब्रह्मपुरी, बेलबिछुवा, मुडवलवा, लक्ष्मीपुर, बसतपुर, भषेढवा, पिप्रालगायत दर्जन बस्तीमा पस्ने जोखिम बढेको छ । पानीको सतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । राजेवी नगरपालिकाका उपमेयर अन्सु सिंहले कटान रोक्न स्पर बनाउने काम तीव्र गतिमा भइरहेको जानकारी दिइन् । ‘हामीले आफ्नो तहबाट कटान रोक्न हरसम्भव प्रयास गरेका छौं,’ उनले भनिन्, ‘तत्काल खतरा टरे पनि पछिका लागि केन्द्रीय सरकारले नै स्थायी उपाय निकाल्नुपर्छ ।’

२५ वर्षदेखि डुबानकै समस्या
बागमती र लालबकैया नदीमा आउने बाढीको समस्या नयाँ होइन । बर्सेनि दुवै नदीले डुबान कटानको समस्या पारेको छ । वर्षाको समय भरी स्थानीय त्रासमै बस्न बाध्य हुन्छन् । नदी छेउका स्थानीय रातभर जाग्राम बस्छन् । वर्षासँगै गत वर्षको साउन २९ गते लालबकैया नदीमा आएको बाढीले तटबन्ध भत्किएर जिल्लाको दजनौं गाउँ डुबानमा परेका थिए ।

पानीले निकास नपाउँदा सदरमुकाम गौरसमेत जलमग्न भयो । डुबानले ठूलो क्षति बेहोर्नुपर्‍यो । ५० सालको बाढीपछि जिल्लावासीले २५ वर्षदेखि यही नियति भोग्दै आएका छन् । अहिले पनि दर्जनौं गाउँ बाढीको उच्च जोखिममा छन् । बाढीले भत्किएको ठाउँ/ठाउँको बाँध मर्मत गरिएको छैन ।

भारत सरकारले निर्माण गरिदिएको बाँध पुरानो जीर्ण भइसकेको छ । बजेट अभावले भत्किएको बाँधको मर्मतमा ढिलाइ भएको डिभिजन प्रमुख श्रीवास्तव बताउँछन् । ‘मर्मत गर्न भारत सरकार वा नेपाल सरकारले बजेट दिने भन्नेमा अन्योल हुन्छ,’ उनले भने, ‘समयमा बजेट विनियोजन नहँुदा मर्मतमा ढिलाइ हुने गरेको हो ।’

गएको साउनमा आएको बाढीले लालबकैयामा लगाइएको बाँधको धेरै ठाउँमा भत्काइदियो । बजेट अभाव भन्दै जलउत्पन्न डिभिजनले मर्मतमा चासो दिएन । वर्षा लाग्न सुरु गरेपछि केही स्थानमा सामान्य मर्मत गरेको थियो । वर्षा सुरु हुनासाथ बौधीमाई नगरपालिका २ इनर्बा गाउँ नजिक लालबकैया नदीमा आएको बाढीले बाँध कटान गरेपछि वरपरका बस्तीका स्थानीय त्रासमा थिए ।

अहिले स्थानीय, नेपाल प्रहरी, सशस्त्र र सेनाले अस्थायी तार, जाली र बोरा राखेर रोकथामको प्रयास गरेकोछ । नदीको पूर्वी र पश्चिमी तथा बागमती नदीको बाढीले साना र ठूला गरी ३१ स्थानमा बाँधको संरचना भत्किएको थियो । खास गरी बौधीमाई, लौकाहा, कहटहरिया क्षेत्र, गौर र बागमतीको राजदेवी, वसन्तपुर, समनपुर, धरमपुर, गढीमाई नगरपालिका बाढीको जोखिम छ ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?