‘बर्थिङ सेन्टर’लाई भवन अभाव

कान्तिपुर संवाददाता

रौतहट — जिल्लामा सञ्चालित अधिकांश ‘बर्थिङ सेन्टर’ मा भवनको अभाव देखिएको छ । प्रसूति गराउन दक्ष चिकित्सक भए पनि यहाँ भवनको अभाव देखिएको हो । अधिकांश सेन्टरका भवन जीर्ण भइसकेका छन् । तिनको मर्मत हुन सकेको छैन ।

‘बर्थिङ सेन्टर’लाई भवन अभाव

सुत्केरी व्यथा लागेर मंगलबार सन्तपुर बर्थिङ सेन्टर आएकी चन्द्रपुर ९ नयाँबस्तीकी सुनिताकुमारी साहलाई स्वास्थ्यकर्मीले पुरनो जीर्ण भवनमै राखेर प्रसूति गराए । सेन्टरका लागि एउटामा महिलालाई व्यथा लागेका बेला राख्ने, अर्को सुत्केरी हुने समयमा र अर्को प्रसूति भइसकेपछि राख्ने गरी ३ कोठा हुनुपर्छ । त्यसका लागि कतिपय स्थानमा साधन स्रोत भए पनि भवनको अभाव खडकिएको जिल्ला जनस्वास्थ्य अधिकृत कृष्ण साहले बताए । ‘अहिले स्थानीय तहले स्वास्थ्य संस्थाको रेखदेख गर्छन्,’ उनले भने ।

सन्तपुरस्थित सेन्टरमा २ वटा मात्र कोठा छन् । त्यसमा पनि एउटामा ब्यथा लाग्ने समयमा बिरामी राख्ने गरिन्छ । गरुडा, कहटरिया, गौरलगायत नगरपालिकामा रहेको बिर्थङ सेन्टरमा भवनकै अभाव रहेको जिल्ला जन स्वास्थ्य कार्यालयले जनायो । सुत्केरी भएपछि राख्ने ठाउँको अभाव देखिएको छ । अर्को कोठामा सुत्केरी गराउने भए पनि त्यही कार्यालयको कामकाज सञ्चालन गरिँदै आएको छ ।

यसरी काम गर्नुपर्दा समस्या हुने स्वास्थ्यकर्मी सुनिता चौधरीले बताइन् । ‘नयाँ भवन बनाउन लागिएको छ,’ उनले भने, ‘भवनकै अभावले बिरामी प्रसूति गराउन आउँदा समस्या झेल्नुपर्छ ।’ यस सेन्टरमा प्रसूति गराउन आउने महिलाको भीड लाग्छ । सेन्टरमा एउटा मात्र बेड छ । एकै पटक धेरै बिरामी आएमा समस्या हुने चौधरीले सुनाइन् ।

नयाँ भवन बनेपछि बेड थप्ने योजना रहेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर र सुकुम्बासी बस्तीका महिला सुत्केरी गराउन आउँछन् । गत वर्ष स्वास्थ्यकेन्द्रमा २ सयभन्दा बढीले प्रसूति सेवा लिएका छन् । प्रसूतिका अलावा अस्थायी परिवार नियोजन, सुरक्षित गर्भपतन, गर्भवती जाँच सेवा सुरु गरेको छ । जिल्लाभरि २२ वटा बर्थिङ सेन्टर रहेको प्रमुख साहले जनाए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?