१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अवैध करको विरोधमा चालक

भूषण यादब

वीरगन्ज — वीरगन्ज महानगरपालिकाको पटके सवारी करको ठेक्का लिएका ठेकेदारले मालवाहक सवारी साधनसँग अवैध रूपमा दोहोरो कर असुली रहेको पाइएको छ ।

अवैध करको विरोधमा चालक

भन्सार भित्रिने क्रममा सडकमा रोकिएका ट्रकसँग पार्किङ शुल्क समेत असुलेका छन् । ठेकेदारले जबरजस्ती कर असुल्न थालेपछि ट्रक चालकहरूले बिहीबार बिहान करिब ३ घण्टा एकीकृत भन्सार चौकी (आईसीपी) मूल गेट अगाडि सडक जाम गरी विरोध जनाएका थिए ।

भन्सार प्रमुख सेवन्तक पोखरेलले अवैध असुलीबारे जिल्ला प्रहरी प्रमुखलाई अवगत गराएपछि प्रहरीले ठेकेदारका प्रतिनिधिलाई नियन्त्रणमा लिएका थिए । भन्सार प्रमुखले दोहोरो रकम तिरेका केही ट्रक चालकको रकम समेत फिर्ता गराएका थिए । चालकका अनुसार स्थानीय प्रहरी चौकीकै मिलेमतोमा ठेकेदारले अवैध रूपले भारतीय ट्रक चालकसँग रकम असुल्दै आएका छन् । ठेकेदारका युवाहरूले भारतीय ट्रक चालकसँग जबरजस्ती कर असुल्दा पनि त्यहाँ तैनाथ रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक बन्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।

बुधबार भारतको जहानाबादबाट धान लिएर आएका धर्मेन्द्र कुमारले पटके सवारी करबापत २ सय ८५ रुपैयाँ तिरेका थिए । ‘धान अनलोड गरी हिजो साँझ फर्किंदा पनि थप २ सय ८५ रुपैयाँ लिए,’ कान्तिपुरसँग धर्मेन्द्रले भने, ‘मागे जति रकम नदिए कुटपिट समेत गर्छन् ।’ बुधबार राति आईसीपी भित्रिने सडकमा रोकिएका भारतीय ट्रक चालकसँग पार्किङको नाममा एक सय रुपैयाँदेखि ३ सय रुपैयाँ जबरजस्ती असुलिएको चालकहरूले जनाए । ‘अवैध पार्किङ कर नदिने अडान लिएका एक पन्जाबी चालकलाई ठेकेदारका युवाहरूले राति कुटपिट पनि गरे,’ राजस्थानका चालक नैनारामले भने, ‘यो नाकामा अवैध असुली बढ्दो छ ।’ सामान अनलोड गरी फर्किने क्रममा आईसीपी गेट अगाडि पनि प्रतिघण्टा ५० रुपैयाँको दरले पार्किङ लिने गरिएको उनले सुनाए ।

आईसीपी भन्सार प्रमुख सेवन्तक पोखरेलले नेपाल भित्रिने सवारीसँग एकपटक मात्र सवारी कर लिन पाइने जनाए । ‘नाकासँग जोडिएको महानगरपालिका, गाउँपालिकाले मात्र सवारी कर लिन पाउँछन्,’ उनले भने, ‘एउटा स्थानीय तहले कर लिइसकेपछि सोही शीर्षकमा अर्को स्थानीय तहले कर असुल्नु गैरकानुनी हो ।’

जीतपुरसिमरा उपमहानगरपालिकाका ठेकेदार सन्तोष कुशवाहाले वीरगन्जका ठेकेदारलाई पटके कर तिरिसकेका सवारीसँग पटके सवारी कर बापत एक सय रुपैयाँ असुलेका छन् । नगरपालिकाको बजेटमा निर्माण भएका सडकमा सवारी कर संकलन गर्न पाइने नियम भए पनि ठेकेदारले राजमार्गमै पटके कर असुल्ने गरेका छन् ।

वीरगन्ज महानगरपालिकाले सवारी करको ठेक्का मात्र लगाए पनि ठेकेदारले सवारी व्यवस्थापनको नाममा समेत कर असुल्दै आएका छन् । ‘पटके करको रसिदमा २ सय ८५ लेखिएको हुन्छ,’ जयपुर निवासी चालक मखनलाल उमठले भने, ‘तर, हामीसँग तीन सय २० नेपाली रुपैयाँ लिन्छन् ।’ वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले ठेकेदारलाई स्पष्टीकरण सोधिने जनाए । ‘दोहोरो कर असुलीको गुनासो आएको छ,’ मेयर सरावगीले भने, ‘ठेकेदारलाई पत्र काट्न भनिसकेको छु ।’ महानगर स्रोतका अनुसार चालू आर्थिक वर्षमा ठेकेदारले महँगो मूल्यमा ठेक्का सकार गरेकाले अवैध रूपले कर असुलिरहेका छन् ।

प्रकाशित : भाद्र १, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?