कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बस्ती पुग्ने छैन बाटो

भरत जर्घामगर

सिरहा — सखुवानानकारकट्टी ५ का चार घर दलित डोम परिवार आवतजावत गर्ने बाटो नहुँदा घेराबन्दीमा परेका छन् । पोखरीको डिल छेउ ऐलानी जग्गामा तीन पुस्तादेखि बसोबास गर्दै आएका डोम बस्तीसम्म पुग्ने बाटो नहुँदा उनीहरू घेराबन्दीमा परेका हुन् ।

बस्ती पुग्ने छैन बाटो

बस्तीमा ५२ वर्षीया मिश्री मल्लिक डोम, राजेन्द्र, दिलिप र शम्भु सहित चार घरपरिवारको बसोबास छ ।

बस्तीको दक्षिणतर्फ तनुकलाल चौधरीको पोखरी, उत्तरपट्टि जगदीश साफीको धान खेत, पूर्वपट्टि वैजु यादव लगायतको घर र बगैंचा छ । साविक बाटो पूर्वपट्टि रहे पनि वैजु, सत्य, आवतजावत गर्ने बाटो नहुँदा घेराबन्दीमा सिरहाको सखुवानानकारकट्टी ५ स्थित दलित डोम बस्ती ।तस्बिर : भरतइन्दल लगायतले घर बनाएपछि बाटो बन्द भएको ५२ वर्षीया मिश्री मल्लिक डोमले बताए ।

‘पूर्वपट्टिको बाटो बन्द भएपछि हिउँदमा जगदीश साफीको खेतको आलीबाट हिँड्न थाल्यौं,’ उनले भने, ‘तर वर्षामा धान रोपेपछि त्यो आलीको बाटो समेत बन्द भएपछि अघोषित नाकाबन्दीमा परेका छौं ।’ धान खेतको आलीबाट हिँड्न साफीले रोक लगाएपछि डोम बस्ती समस्यामा परेको हो । वरपर अरूको जग्गाले घेरिएको बस्ती पुग्ने बाटो नहुँदा उनीहरूले गाउँपालिका र अधिकारवादी गुहारेका छन् । वर्षौंदेखि उपयोग गर्दै आएको बाटो समेत मिचेपछि नाकाबन्दीमा परेको उनीहरूले दु:खेसो गरे । जगदीश साफीले आफ्नो खेतमा बिजुलीको पोल गाड्न नदिँदा चार घरपरिवारको बस्तीमा सय मिटर परबाट तार तानेर बिजुली बालिएको छ । बाटो अभावमा बस्तीका बालबालिका विद्यालयै जानबाट वञ्चित छन् ।

गतवर्ष मंसिरमा दिलिपको छोरी निशाको बिहे भोजका लागि बनाएको टेन्ट समेत साफीले आफ्नो खेतबाट हटाउन लगाएका थिए । बस्तीसम्म पुग्ने बाटो नभएकै कारण एम्बुलेन्स नजाँदा श्याम मल्लिकको गर्भवती पत्नी बबितालाई बोकेरै अस्पताल पुर्‍याएका थिए ।

बाँसजन्य सामग्रीको बेचबिखन र सुंगुर बंगुर पालन गरी जीविकोपार्जन गर्ने दलित समुदायमा पनि अत्यन्त पिछडिएको डोम मेस्तर समुदाय उनीहरूले बाटो नभएकै कारण ती सामग्री बेचबिखन गर्न पाएका छैनन् । बस्तीमा कक्षा ८ सम्म पढेका सुनिल मल्लिक डोम मात्र छन् ।

सखुवानानकारकट्टी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष बैधनाथ यादवले पोखरी डिल छेउ ऐलानी जग्गामा बसोबास गर्दै आएका डोम दलित बस्तीमा पुग्न बाटोको समस्या भएको औंल्याए । ‘दक्षिणपट्टि पोखरीसहित वरिपरि व्यक्तिको निजी जग्गा रहेकाले पनि बाटोको समस्या छ,’ उनले भने, ‘बाटोका लागि पहल गर्छु ।’

सखुवानानकारकट्टी गाउँपालिकाका प्रमुख केदार यादवले बस्ती पुग्न बाटोको समस्या भएको बताउँदै हिँडडुलका लागि तत्काल बाटोको पहल भइरहेको जानकारी दिए । गत आर्थिक वर्षमा गाउँपालिकाभरि विभिन्न वडामा ५ वटा नयाँ सडक निर्माण गरिएको जानकरी दिँदै उनले डोम बस्तीमा पनि तत्काल बाटो निर्माणको पहल भइरहेको बताए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?