कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूल सडकमै जथाभावी पार्किङ

पवन यादव

सिमरा — प्रमुख औद्योगिक करिडोर पथलैया–वीरगन्ज सडक खण्डको मूल सडकमै जथाभावी मालवाहक सवारी साधन पार्किङ गरिएका छन् ।

मूल सडकमै जथाभावी पार्किङ

सडक खण्डअन्तर्गत बाराको पथलैयादेखि वीरगन्जसम्म मूल सडकमै दायाँबायाँ मालवाहक सवारी साधन पार्किङले सवारी साधन तथा पैदल यात्रीको आवागमनमा समेत अवरोध पुर्‍याउने गरेको स्थानीयले बताए ।

मूल सडकमै जथाभावी पार्किङ गरेर राखिएको ग्यास ट्यांकर सहितका सवारी साधन लाम नै देखिन्छन् । यस क्षेत्रमा रहेका ग्यास उद्योग, स्टिल उद्योग लगायत करिडोरका उद्योगमा कच्चा पदार्थ बोकेर आएका ट्रक, ग्यास बोकेर आएको ट्यांकर यसरी नै मूल सडकमै जथाभावी पार्किङ गर्ने गरिएका छन् ।

उद्योगले परिसरभित्र पार्किङस्थल नबनाउँदा उद्योगमा आएका मालवाहक सवारी सडकमै पार्किङ गर्न बाध्य हुनु परेको भारतबाट ग्यास बोकेर सिमरा आएका एक भारतीय चालकले बताए ।

‘उद्योगभित्र पार्किङ नै छैन, कहाँ पार्किङ गर्ने ?,’ उनले भने, ‘उद्योगका कर्मचारीले नै यसरी पार्किङ गर्न भन्छन् ।’ उनीहरूले समयमा ग्यास अनलोड नगर्दा लामो समयसम्म सडकमै सवारी राख्न बाध्य हुनु परेको उनले बताए । सडकमा यसरी पार्किङ गर्दा आफूहरूलाई कसैले रोक्न र सडकबाट सवारी हटाउन भन्दैन । त्यसैले निर्धक्क हिसाबले हामी बस्छाैं । तर रोकिएको सवारीमा अर्को सवारी ठोकिएर दुर्घटना हुने चिन्ताले आफूहरूलाई सधैं सताउने गरेको उनले सुनाए ।

दिनहुँ दुर्घटना हुने करिडोरमा ट्राफिक व्यवस्था दुरुस्त राख्नुपर्नेमा ट्रफिक प्रहरीले हेलचक्रयाइँ गरेको गुनासो यात्री राकेश पाण्डेले बताए ।

‘प्राय: जसो सडक छेउमा रोकिएको सवारीमा साना सवारी ठोकिएर दुर्घटनामा पर्छन्,’ उनले भने, ‘तर जथाभावी रोकिएको सवारीलाई हटाउन कुनै निकायले पहल गर्दैन ।’ सडक छेउसम्मको जग्गामा वाल खडा गरेर उद्योगले प्रयोग गर्छन् । तर आफ्नो उद्योगमा आएको सवारीलाई उद्योगभित्रै पार्किङ स्थल बनाएर व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

मूल सडकमा गरिएको पार्किङ व्यवस्थापन गर्न यहाँका ट्राफिक प्रहरीले समेत चासो नदेखाएको स्थानीयले गुनासो गरे । रातको समयमा लाई कमजोर भएको साना सवारीले अगाडि गुडेको सवारीलाई उछिन्ने क्रममा छेउमा रोकिएको सवारीमा ठोकिएर दुर्घटनामा पर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सडकमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालयकी प्रमुख एसपी किरण बज्राचार्यले बताइन् ।

स्थानी ट्राफिक प्रहरीलाई सडकमा पार्किङ गर्ने सवारीलाई कारबाही गर्न निर्देशन समेत दिइएको उनले बताइन् । ‘कारबाही मात्र गरेर हुँदैन, सडकमा पार्किङ गर्ने सवारीलाई व्यवस्थापन गर्न अन्य सरोकारवाला निकायसँग छलफल सुरु गरेका छौं,’ उनले भनिन्, ‘यसका लागि प्रमुख जिल्ला अधिकारी, स्थानीय उद्योगी व्यपारी सबैसँग पहल गर्न आग्रह गर्दैछौं ।’ पहिलाको तुलनामा अहिले सवारी व्यवस्थापनमा सुधार हुँदै गएको उनले बताइन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?