लक्षित वर्गले पाएनन् सामान

भूषण यादव

वीरगन्ज — पर्साको विन्दवासिनी गाउँपालिकामा लक्षित वर्गलाई वितरणका लागि खरिद गरिएको सामान ‘कमिसन’ विवादले गाउँपालिकाकै गोदाममा दुई महिनादेखि थन्किएको छ ।

कार्यकारी अधिकृत र अध्यक्षको विवादले विन्दवासिनी गाउँपालिका गोदाममै थन्किएको सामग्री । तस्बिर : भूषण । कान्तिपुर

लक्षित वर्ग र कृषकका लागि खरिद गरिएको एलपीजी ग्यास (चुलो सिलिन्डर) सेट, पम्प सेट र हयान्ड पम्प तथा पीभीसी पाइप सेट कार्यकारी अधिकृत र गाउँपालिका अध्यक्षबीचको कमिसन विवादका कारण गोदाममा थन्किएको स्थानीयले गुनासो गरेका छन् । लेखापाल धनन्जय दासका अनुसार गत जेठमा ४७ लाख रुपैयाँ लागतमा २ सय ४३ थान ग्यास चुल्लो सिलिन्डर सेट, ३५ थान पम्प सेट र ९० थान चापाकाल सेट खरिद भएको थियो । जेठमै खरिद भएको सामग्री आर्थिक वर्ष समाप्त भएको एक महिना बितिसक्दा पनि वितरण हुन सकेको छैन ।

गत जेठ २ गते गाउँपालिका कार्यालयले स्थानीय पत्रिकामार्फत टेन्डर आह्वान गरेको थियो । ठेकेदारले सामग्री हस्तान्तरण गरेपछि कार्यकारी अधिकृत राज कुशवाहाले गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुलाई वितरण गर्ने विषयमा सल्लाह गरेका थिए । लक्षित वर्ग र किसानका लागि आवश्यक सामग्री खरिदमा सल्लाह नमानेकाले अध्यक्षले वितरणमा असहयोग गरेको सम्बद्ध स्रोतको दाबी छ ।

Yamaha

त्यत्तिकै रकममा १ सय ५० थान पम्प सेट र ४ सय २० थान चापाकल खरिदका लागि योजना दिएको अध्यक्ष कानुले जनाए । ‘तर, जम्मा ३५ थान पम्प सेट र ९० थान चापाकल खरिद गरे,’ उनले भने, ‘कमिसनका लागि खरिद गरिएका सामग्री उनीहरूले नै वितरण गरुन् ।’ कार्यकारी अधिकृतको प्रतिक्रया लिन बुधबार र बिहीबार दुई दिन लगातार गाउँपालिका कार्यालयमा संवाददाता पुग्दा उनी अनुपस्थित थिए । फोनमा सम्पर्क गर्दा आउँदै छु भने पनि उनी आएनन् ।

अनियमितता बारे जिज्ञासा राख्दा उनले त्यस गाउँपालिकाबाट आफ्नो सरुवा भइसकेकाले केही पनि भन्न नसकिने प्रतिक्रिया दिएका छन् । सरुवा भए पनि हालसम्म हाकिमले रमाना नबुझेको दर्ता चलानी शाखाका मोहन चौरसियाले बताए । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले ०७४/७५ को बजेट कार्यकारी अधिकृत र लेखापालले आफूखुसी खर्च गरेको दाबी गरेका छन् ।

‘लक्षित वर्गका लागि गर्ने भनिएको अधिकांश कार्यक्रम कागजमा मात्रै सीमित छन्,’ उनले भने, ‘कागजी रिपोर्ट तयारी पारी लाखौँ रुपैयाँ विनियोजन भएको छ ।’ आफू चुनावी परिमाणको पुन:गणना मुद्दामा अल्झेको बेला कर्मचारीले मनोमानी खर्च गरेको उनको भनाइ छ । जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले गत असार २८ मा मुद्दा टुंग्याएको छ । कानुलाई नै विजय घोषणा गरेको छ । ‘कार्यकारी अधिकृत र लेखापालले हरहिसाब नदिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय गएको थिएँ,’ अध्यक्ष कानुले भने, ‘सचिव दिनेश थपलियाको निर्देशन पनि कर्मचारीले टेरेका छैनन् ।’

विन्दवासिनी गाउँपालिका २ बहुअर्वाभाटाका किशोरी चौरसियाले गत आर्थिक वर्षको बजेटमा व्यापक अनियमितता भएको गुनासो गरे । सामग्री खरिदमा कमिसनको भागबन्डा नमिल्दा लक्षित वर्गले पाउन नसकेको उनले बताए । ‘खर्च विवरण माग गर्दा पनि उपलब्ध गराउँदैनन्,’ उनले भने, ‘सरोकारवाला निकायले छानबिन गर्न आवश्यक छ ।’

कार्यकारी अधिकृतले गत आर्थिक वर्षको हर हिसाब कार्यालयमा नबुझाउन्जेल सरुवा नगरिदिन सामान्य प्रशासन मन्त्रालयलाई उनले आग्रह पनि गरेका छन् । गाउँपालिकाको इटीयाही चौकदेखि मधवल जाने बाटोमा ९ लाख रुपैयाँको लागतमा वृक्षरोपण गरिएको भए पनि त्यहाँ ५ वटा बिरुवा पनि नरहेको गुप्ताले बताए । गत आवमा करिब १० लाख पचास हजार रुपैयाँको औषधि खरिद गरिएको छ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फेरियो पाथीभरा

आनन्द गौतम

ताप्लेजुङ — धेरैको आकर्षण केन्द्र बनेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र अचेल फेरिएको छ । देवी उत्पत्ति हुँदाको मानिने ढुंगाको मूर्तिबाहेक सबै संरचना परिवर्तन गरिएको छ ।

पर्यटकीय आकर्षणको केन्द्र पाथिभरा मन्दिर । तस्बिर : आनन्द । कान्तिपुर

उत्पत्तिताकाको विश्वास गरिएको मूर्ति पनि पुराना र नियाल्न सक्नेले मात्रै पहिचान गर्छन् । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यहाँ अधिकांश भक्तजनले पछि राखिएको बेग्लै मूर्तिमा पूजा गर्छन् । उत्पत्ति हुँदाको मूर्तिलाई भने पुजारीहरूले विशेष निगरानीमा राख्छन् ।

कतिपय भक्तजन किंवदन्तीमा भनिएअनुसार अहिले पूजा गर्ने स्थलभन्दा केही तल रहेको ओढारमा गएर आराधना गर्छन् । भेडी गोठालाको एक बथान भेडा यही ओडारमा पसेको र देवीले सपनामा आफ्नो आराधना गर्न भनेपछि सोहीअनुसार गरेका गोठालाको भेडा ओडारबाट निस्किएको किंवदन्ती छ ।

यो स्थान निकै विकट र पहराको टाकुरामा भएकाले मन्दिरलाई योभन्दा उच्च स्थानमा सारिएको हो । जाने बाटो नभएको र विकट भएकाले अहिले पनि जोकसैलाई त्यहाँ नजान सल्लाह दिइन्छ ।

यस क्षेत्रका जानकार फुङलिङ नगरपालिका १० फुरुम्वूका ७८ वर्षीय वीरबहादुर भट्टराईका अनुसार पाथीभरा जान पहिला सदरमुकाम फुङलिङबाट सिद्धिडाँडा–गडीडाँडा–मयमको लामाथान हुँदै भालुगौंडे–तेर्छे भएर माथिल्लो फेदी पुग्नुपथ्र्यो ।

पाथीभरा क्षेत्रमा बच्चैदेखि गोठ बसेका उनी बबरसम्सेर राणा र उनका धाईआमालाई यही बाटो भएर डोलीमा बोकेर पाथीभरा पुर्‍याउनेमध्येका एक हुन् । जीवनमै पहिलोपटक उनले त्यसै बेला नेपालका सेना देखेका थिए ।

मन्दिर जाने बाटो । तस्बिर : आनन्द

ठ्याक्कै मिति हेक्का नभएका भट्टराई ठूलो मान्छे आउने भनेर हप्तौं दिनसम्म पाथीभरा जाने गोरेटो बाटो खनेर फराकिलो बनाएको सम्झन्छन् । अचेल सदरमुकामबाट सुकेटार हुँदै त्यहाँसम्म मोटरबाटो पुर्‍याइएको छ ।

पाथीभरा मन्दिर क्षेत्रका संरचना निर्माणमा सिमेन्ट प्रयोग भएको छ । मन्दिरको मुख्य कम्पाउन्डको भित्र पनि सिमेन्टले बनाइएका बस्तु ओछ्याइएको छ । वरिपरिको पर्खाल टायल लगाएर बनाएको छ । परिसरमा निर्माणको काम गराएका निवर्तमान उपाध्यक्ष रणबहादुर कार्की भीड व्यवस्थापनका लागि गुरुयोजनाअनुसार मन्दिर परिसर व्यवस्थापन गरिएको बताउँछन् ।

पाथीभराको गुरुयोजना संरक्षण समितिको अनुरोधमा सहरी डिभिजन कार्यालय इलामले बनाएको हो । संरक्षण तथा संवद्र्धन समितिका सचिव लक्ष्मी काफ्लेका अनुसार मन्दिर परिसरमा पहिला पूजा गर्ने र बलि चढाउने एकै ठाउँमा थियो।

‘भक्तजनको ठेलमठेल हुन्थ्यो, बलि चढाउनेले बोकापाठा काट्दा पूजा गरिरहेका अरू भक्तजनलाई लाग्छ कि भन्ने त्रास थियो,’ उनले थपे, ‘कोही खुन देख्नै नहुने, कोही कपडामा खुन लाग्यो भनेर रिसाउने, द्वन्द्व नियन्त्रणका लागि पनि हामीले यसलाई व्यवस्थित गरेर फरक ठाउँमा सार्‍यौं ।’ अहिले पूजा गर्ने पूर्वतर्फ र बलि चढाउने पश्चिमतर्फ छ ।

डाँडामा रहेका धर्मशाला भत्काएर मन्दिर परिसर बाहिर सारिएको छ । तर किरात धर्मावलम्बीले भने मन्दिरभन्दा अझ माथिल्लो क्षेत्रमा मन्दिर बनाएका छन् । हवन गर्ने, पुजारी बस्ने कुटी पनि उनीहरूले यहीं निर्माणको तयारी गरेका छन् । पाथीभराको प्रवेशद्वारमा रहेको मूलद्वारै सिमेन्टको बनाइएको छ । केही वर्षअघि पाँचथरबाट आएको टोलीले पुराण लगाएको तर राति गाईगोरु पसेर पुराणस्थल नै भत्काएपछि मन्दिर परिसरको सुरक्षाका लागि वरिपरि पर्खाल लगाएको काफ्ले बताउँछन् ।

पाथीभरा क्षेत्रका ओढारहरू प्रयोगविहीन छन् । भट्टराईका अनुसार पहिला तीर्थयात्री राडी, दोसल्ला, धुसा र कतिपय त सिरक नै बोकेर जान्थे । अधिकांश ओडारमा बास बस्थे । ढुंगाको चम्को लगाएर चुलो बनाउने र त्यहीँ भात पकाएर खाने चलन थियो । ओढारमा नअटाएकाहरू भने खुला चौरमा कटेरो बनाएर बस्थे ।

लेकाली क्षेत्रमा जुनसुकै समयमा पानी पर्न सक्ने भएकाले तीर्थयात्रीले सालका पातले बनाएको ठूल्ठूला घुम ओडेका हुन्थे । छाताको चलन थिएन । बास बस्ने ठाउँमा मालिङगा, पर्‍याङ काट्थे र त्यही घुमले छापेर कटेरो बनाउँथे ।

छोटो समयमै चारैतिर बारेर बनाइने त्यस्ता कटेरा रमाइला हुने भट्टराई बताउँछन् । त्योभन्दा माथि गए राति जंगली जनावरको डर हुने भएकाले नयाँवन, तेर्छे, भालुगौंडे, फूलपाते डाँडा र फेदीमा मात्रै बास बस्थे । त्यहाँबाट उकालो भने ठूलो हुल भएर जान्थे । पछिल्ला वर्षौंदेखि जंगली जनावर यात्रुले देख्न पाएकासम्म पनि छैनन् ।

भट्टराईका अनुसार पहिलाको कुरा देख्न अहिले धेरै मुस्किल भयो । मन्दिर क्षेत्र पनि फेरियो । ३१ सय मिटर माथिको क्षेत्रमा मालिङगो, निगालो, देउनिगालो मात्रै थियो । अहिले एउटा पनि छैन । २००७/८ सालदेखि मासिन थालेको हो ।

भालु, वन कुकुर, थार, घोरल, कस्तुरी मृग थिए । अहिले देख्नै पाइँदैन । तेर्छेदेखि फेदीसम्म गोठ थिए । गोठमा आउनेले दूध, दही प्रशस्त खान पाउँथे । नि:शुल्क दिइन्थ्यो । अहिले एउटा पनि गोठ छैन ।

पहिलोपटक पाथीभराको भेटी संकलनमा चासो देखाएका तत्कालीन फुङलिङ गाविसका अध्यक्ष प्रजापती काफ्ले नागबेली जस्तो सडक सीधा भएको बताउँछन् । ‘पहिला उकालो चढ्दै ओरालो झर्दै गर्नुपथ्र्यो,’ उनले भने, ‘पानी कुदेको ठाउँलाई बाटो मानेर हिँड्नुपथ्र्यो ।’

माथिल्लो फेदीदेखि मन्दिरसम्म ढुंगाको सोलिङ गरिएको छ । ४० सालमा तिवारी थरका योगी आएर मन्दिरमा बस्ने र त्यहाँ छरिएको भेटी संकलन गर्ने प्रस्ताव गरेपछि सहजीकरण गरेका काफ्ले संकलित भेटीले नै मन्दिर क्षेत्रको परिवर्तन गरेको बताउँछन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT