कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामवृक्ष स्मृतिसभामा ओली-दाहाल

श्यामसुन्दर शशि

जनकपुर — माओवादी जनयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि २०५१ साल भदौ २ गते हत्या भएका मास्टरसाहेवका रूपमा चिनिएका रामवृक्ष यादवको स्मृतिसभामा नेकपामा दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल शनिबार उनको गाउँ बरमझिया पुगे ।

रामवृक्ष स्मृतिसभामा ओली-दाहाल

नेकपाका यी दुई शीर्ष नेताले मुलुकमा राजनीतिक आन्दोलन सम्पन्न भई समृद्धिको आन्दोलन थालिएको बताए । दुवैले सहिद यादवको सपना साकार पार्न कठिबद्ध रहेको बताए । नेकपाका दुवै शीर्ष नेता हेलिकोप्टरमा बरमझिया पुगेका थिए ।


माओवादी जनयुद्धको क्रममा यादवको परिवारका चारजनाको हत्या भएको थियो । माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी रोशन जनकपुरीका अनुसार यादव, उनका छोरा शेखर, ज्वाइँ डम्बरनारायण र अर्को नातामै पर्ने भाइसहित चारजनाको जनयुद्धकै लडाइँमा हत्या भएको हो । यादवकी पत्नी रामकुमारीको काठमाडौंमा ग्यासको चुल्हो लिक भएर मृत्यु भएको थियो ।

घोषित रूपमा माओवादी जनयुद्ध २०५२ साल फागुनदेखि सुरु भए पनि बरमझियामा सशस्त्र संघर्ष त्यस अघि नै सुरु भइसकेको थियो ।


जनयुद्धको तयारीमा रहेको एकता केन्द्र मसाल र संयुक्त जनमोर्चा नेपालका केन्द्रिय सदस्य यादव सर्वहारा वर्गको नेतृत्व गरिरहेका थिए । जनयुद्ध सुरु हुनु पूर्व बरमझियामा दुवै पक्षका गरी ४ जनाको हत्या भएको थियो । ०५१ साल भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्द कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा भदौ २ गते उनको गाउँनजिककै कमला नहरनजिक यादवको हत्या भएको थियो ।


उनको हत्या भएकै दिन हत्याका आरोपी ललन सिंहलाई पनि कार्यवाहीको नाममा हत्या गरिएको थियो । स्थानीयका अनुसार पञ्चायतकालमा यादवका पक्षधर विन्देश्वर राम तथा पञ्चायतसमर्थक लटु यादवको पनि हत्या भएको थियो ।


बरमझियामा जारी दुई पक्षीय हत्याको शृङ्खलामा करिब एक दर्जनको हत्या भएको थियो । माओवादी पक्षबाट ज्यान गुमाउनेहरूमा रामवृक्ष यादवका बाहेक उनका एकमात्र २२ वर्षीय छोरा शेखर यादव पनि हुन । शेखर २०५८ पुस १५ गते प्रहरी कारबाहीमा मारिएका थिए । यसैगरी माओवादी समर्थक ईद्रीश नदाफ, जगदीश यादव र कारी साहको पनि प्रहरी कारबाहीमा मृत्यु भएको थियो ।


जनयुद्ध कालमा सुराकी र जन कारबाहीको नाममा माओवादी कार्यकर्ताले रामशरण यादव, गंगाप्रसाद यादव, शिवनारायण यादव, श्रीप्रसाद यादव र दीपनारायण यादवलाई हत्या गरेका थिए । माओवादी जनयुद्ध उत्कर्षमा पुगेका वेला यस गाउँबाट २८ परिवारका १ सय ७ जना विस्थापित भएका थिए ।


पञ्चायतकालदेखि नै दुई पक्षमा विभाजित यस गाउँको वातावरण झण्डै डेढ दशकसम्म तनावपूर्ण रहयो । हिन्दी चलचित्रमा जस्तै सामान्य विवादमा पनि बन्दुक, लाठी, भाला, कोदालो र कुटो निस्किन्थे । दिनदिनैको झगडा र हत्या हिंसाका कारण सामाजिक सम्बन्ध क्षतविक्षत भएको थियो ।


मानवअधिकारवादी रोशनदीप ढकालले द्वन्द्वका घाउ पूरै भरिसकेको छैन तर सामाजिक सम्बन्धमा धेरै सुधार भएको बताए । यादवकी छोरी तथा माओवादी नेतृ सुनिता यादवले पनि गाउँको सामाजिक वातावरण सहज बन्दै गएको बताइन् । ‘अब दुवै पक्षको सम्बन्धमा धेरै सुधार भएको छ । सुधारको क्रम जारी नै छ,’ सुनिताले भनिन् ।


प्रकाशित : भाद्र २, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?