१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

टेपभित्र लुकाएर लागूऔषध

शंकर आचार्य

पर्सा — वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको टोलीले काठमाडौं चन्द्रागिरि नपा ५ का ३१ वर्षीय अनिल सापकोटालाई लागूऔषधसहित पक्राउ गर्‍यो । शरीरमा सेटिङ गरी टेप लगाएर ५४/५४ गोटा डाइजोल्याब, नोफिन र फेनारगन उनको साथबाट बरामद भयो ।

टेपभित्र लुकाएर लागूऔषध

पछिल्लो समय सीमामा सशस्त्र प्रहरीले कडाइ गरेपछि लागूऔषध तस्करले अपनाएको यो नयाँ शैली हो । विगतमा मालसामानमा वा सवारीसाधनमा लुकाएर तस्करी गर्नेहरू अहिले यो तरिकामा अभ्यस्त भएका छन् । दैनिक जसो यस्ता लागूऔषध तस्कर पक्राउ पर्न थालेका छन् । भीडभाड रहने यो नाका हुँदै लागूऔषध तस्करीमा संलग्न सबै व्यक्ति पक्राउनै पर्छन् भन्ने निश्चित हँुदैन ।

भारतमा प्रतिबन्धित नगरिएका तर नेपालमा प्रतिबन्धित रहेका यी औषधिलाई प्रहरीले नियन्त्रित लागूऔषध भन्ने गरेको छ । भारतबाट यस्ता लागूऔषध ल्याउनेहरू मात्र नभई नेपालबाट गाँजा, चरेस जस्ता लागूऔषध बोकेर भारत जान खोज्नेहरू पनि पक्राउ परिरहेका हुन्छन् ।

प्रहरीले दैनिकजसो यस्ता लागूऔषध प्रयोगकर्ता, ढुवानीकर्ता तथा कारोबारीहरूलाई पक्राउ गरे पनि उनीहरू निरुत्साहित भने भएका छैनन् । दैनिक जसो वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुव्र्यसनीहरू सीमामा थुपै्र देखिन्छन् । यसरी फर्कंदा उनीहरूले पनि थोर बहुत यस्ता लागूऔषध बोकेर ल्याएका हुन्छन् । कतिपयले यस्ता लागूऔषध ल्याएर अन्य दुव्र्यसनीलाई बिक्री गर्छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा लागूऔषध तस्करी आरोपमा १४ महिला र १ सय ८१ पुरुष गरी १ सय ९५ जना पक्राउ परेका छन् । तीमध्ये १६ वर्षभन्दा कम उमेरका २, १६ देखि २५ वर्षका १ सय ९, २५ देखि ३५ वर्ष उमेरका ४१, ३६ देखि ४५ वर्षका ३०, ४६ वर्षभन्दा माथिका १३ जना छन् ।

अघिल्लो आवमा पनि १ सय ५१ जना लागूऔषध ढुवानीकर्ता तथा कारोबारीहरू पक्राउ परेका थिए । वीरगन्ज कारागारका झन्डै आधा कैदीबन्दी लागूऔषध मुद्दामा सजाय पाएका वा पुर्पक्षमा रहेकाहरू मात्र छन् ।यसरी मुलुकको सर्वाधिक आयात निर्यात हुने नाका लागूऔषध ढुवानीको परम्परागत ट्रान्जिटका रूपमा बदनाम रहेको छ । सुरक्षाकर्मीको आँखा छलेर लागूऔषध ढुवानी गर्नेको संख्या पक्राउ परेकाहरूभन्दा निक्कै बढी हुन सक्छ ।

नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधिहरू सीमावर्ती भारतीय सहर रक्सौलका औषधि पसलमा खुलेआम किन्न पाइन्छ । ठूलो परिमाणमा यस्ता औषधि भित्रिनुले रक्सौलमा पनि संगठित गिरोह यसको कारोबारमा लागेको अनुमान गर्न सकिन्छ । त्यस्ता गिरोह यी औषधि नेपाल पठाउने काममा सक्रिय रहेका छन् ।

पक्राउ पर्ने अधिकांशमा १८ देखि २४ वर्ष उमेर समूहका युवा हुने गरेका छन् । तीमध्ये पनि अधिकांश पर्साभन्दा बाहिरी जिल्लाका हुन्छन् । नेपालबाट भारततर्फ लगिने गाँजा र चरेस जस्ता लागूऔषध ढुवानी गर्ने अधिकांश भरिया हुन्छन् । वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी गुल्मका गुल्मपति डीएसपी तिलक खड्का पछिल्लो समय वीरगन्ज नाकामा भीडभाड र जाम कम भएपछि लागूऔषध तस्करलाई पक्राउ गर्न सहज भएको बताउँछन् । ‘अहिले आईसीपी भन्सारबाट अधिकांश मालवाहक सवारीसाधन भित्रिने गरेकाले वीरगन्ज भन्सार नाकामा भीडभाड कम भएको छ,’ उनले भने, ‘यसरी हामीलाई यो नाका भएर आउजाउ गर्ने व्यक्तिलाई निगरानी गर्न केही सहज भएको छ, शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्दा शरीरमै टेपले सेटिङ गरी लागूऔषध ल्याउँदै गरेको अवस्थामा फेला पर्छन् ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानकुमार महतो जिल्लामा सर्वाधिक पक्राउ पर्ने अपराधीहरूमा लागूऔषध तस्कर नै हुने गरेको बताउँछन् । बर्सेनि यो क्रम बढ्दै गएको पनि उनले बताए । पक्राउ परेकाहरूको अपराधको विश्लेषण गर्दा उनीहरूले सीमा नाकामा बढी भीडभाड हुने दिउँसो १२ देखि साँझ ६ बजेसम्मको समयमा तस्करीको प्रयास गर्छन् ।

सामाजिक अभियन्ता प्रकाश थारू वीरगन्ज मुलुकको प्रवेशद्वारसँगै लागूऔषधि भित्रिने नाकाका रूपमा पनि बदनाम हुनु भनेको समग्र जिल्लावासीकै लागि लज्जास्पद विषय भएको बताउँछन् । लागूऔषध तस्करीलाई नियन्त्रण गर्न यसका प्रयोगकर्ता युवा शक्तिहरूलाई यसको कुलतबाट बचाउन गैरसरकारी संस्थाहरूको साझा प्रयास आवश्यक रहेको थारूले बताए । ‘यो कुनै एक व्यक्ति वा परिवारको समस्या होइन, लागूऔषध राष्ट्रिय समस्या नै बन्दै गएको छ,’ उनले भने, ‘यसका लागि समाजका सबै वर्गको प्रयास र हातेमालो आवश्यक छ, गैरसरकारी संस्थाहरूले पनि अब यो समस्याविरुद्ध लड्न विशेष सक्रियता अपनाउनुपर्ने बेला भइसकेको छ ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?