कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नाबालिका असुरक्षित

शंकर आचार्य

पर्सा — पटेर्वासुगौली गाउँपालिका–२ स्थित मकैबारीमा साउन ४ गते सुस्तमनस्थितिकी १५ वर्षीया किशोरीलाई छिमेकी केदारबहादुर कार्कीले जबर्जस्ती करणी गरे ।

नाबालिका असुरक्षित

त्यसै दिन पर्सागढी नगरपालिका–८ हरपुरकी १४ वर्षीया अर्की किशोरी पनि बलात्कारमा परिन् । घरमा कोही नभएको मौका छोपी उनलाई छिमेकी टैट महराले बलात्कार गरे ।

पछिल्लो समय पीडक पक्राउ पर्ने र कारबाही हुने क्रम पनि बढेको छ तर बलात्कारका घटनामा कमी आएको छैन । विशेष गरी नाबालिकामाथि ज्यादती बढदो छ ।


जिल्ला प्रहरी कार्यालयको तथ्यांकले जिल्लामा बलात्कार घटना बर्सेनि बढदै गएको देखाउँछ । गत वर्ष १६ घटना भएका छन् । त्यसभन्दा अघिल्लो वर्ष यस्ता १० घटना भएका थिए ।


गत आवमा जबरजस्ती करणी उद्योगका ९ घटना भएका छन् । अघिल्लो आवमा यस्ता ११ घटना थिए ।


बलात्कारका घटनापछि बालिका सुरक्षा तथा यस सम्बन्धमा जनचेतना वृद्धिको आवश्यकता महसुस गर्दै आवाज पनि उठ्छ । तर ती आवाज केही दिनमै सेलाउँछन् । अर्को घटना भएपछि फेरि त्यस्तै माग उठ्न थाल्छ ।


सामाजिक अभियन्ता प्रकाश थारू बलात्कारका घटना न्यूनीकरणका लागि अभिभावक र किशोरी तथा युवतीलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँछन् ।


‘बलात्कार हाम्रो समाजको ठूलो समस्या र चिन्ताको विषय बन्दैछ, महिला र बालबालिकाको शिक्षा, स्वास्थ्यजस्ता विषयमा केन्द्रित रही गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन्, अब उनीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर जनचेतनामूलक कार्यक्रम जरुरी भइसकेको छ,’ उनले भने ।


गैरसरकारी संस्था दिव्य युवा क्लबकी महिला अधिकार कार्यक्रम संयोजक कोपिला चौलागाईं साह अब पुरुषहरूलाई यौनजन्य व्यवहार, बलात्कार गरेपछि हुने सजाय, सामाजिक बेइज्जती र उनीहरूका अभिभावकले भोग्ने मानसिक तनाव आदि बारे प्रशिक्षण दिने बेला आएको बताउँछिन् ।


‘बलात्कृत महिलाले एकातिर शारीरिक र मानसिक पीडा भोग्छन्,’ साहले भनिन्, ‘अर्कातिर कतिपय घटनामा बलात्कारीहरू राजनीतिक संरक्षणको कारण कारबाहीमा पर्दैनन् ।’


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापा यस्ता घटनाको जानकारी पाएलगत्तै पीडकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने गरिएको बताउँछन् ।


‘बलात्कारका घटनामा शून्य सहनशिलता अपनाइन्छ,’ उनले भने, ‘पीडकलाई कारबाही र बलात्कृतको उपचार तथा पुन:स्थापनामा पनि हामी गम्भीर भएर लाग्छौँ ।’

प्रकाशित : भाद्र ४, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?