कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गर्मीले अस्तव्यस्त

गर्मीले झाडापखाला र ज्वरोका रोगी बढे

सिरहा — तीन दिनयता तराईमा बढ्दो गर्मीसँगै जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अहिले ४० डिग्री तापक्रम छ । बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल घटेको छ ।

गर्मीले अस्तव्यस्त

चिकित्सकले तातो घामबाट जोगिन सर्वसाधारणलाई सुझाएका छन् । बढी तापक्रममा शरीर ढाक्ने कपडा लगाएर मात्र हिँड्नुपर्ने उनीहरूको भनाइ छ ।

गर्मीकै कारण सिरहाका अस्पताल र ग्रामीण स्वास्थ्य केन्द्रमा झाडापखाला र ज्वरोका रोगी बढेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अस्पताल, स्वास्थ्य केन्द्रमा दैनिक ४५ जनाभन्दा बढी झाडापखाला र ज्वरोका बिरामी आउने गरेका छन् ।

चिकित्सकका अनुसार बालबालिकामा झाडापखाला र ज्वरोको असर बढी पाइएको छ । गर्मीका कारण दैनिक मजदुरीले गुजारा चलाउँदै आएका रिक्सा चालक, कृषि र निर्माण मजदुर बढी प्रभावित छन् । उनीहरू काममा जान पाएका छैनन् ।

गर्मीका कारण दुई दिनदेखि गिट्टीबालुवा चाल्न जान नसकेको बस्तीपुरकी ३२ वर्षीया ललिता रामले बताइन् । तटीय क्षेत्र वरिपरिका गुदिगाउँ, विष्णपुर, भदैया, बस्तीपुर, सोभापुर, गोविन्दपुरलगायत एक दर्जनभन्दा बढी गाउँका भूमिहीन दलित परिवारको जीवन खुट्टिखोलाले धानेको छ । तर, चर्को घाम र गर्मीका कारण दुई दिनदेखि गिटीबालुवा चाल्ने काममा जान पाएका छैनन् ।

गर्मीले कृषिमा जान नपाउँदा गुजारा चलाउन समस्या भएको बस्तीपुरका बिजुली सदायले दुखेसो गरे । उनको परिवारमा ६ जना छन् । सबै उनैमाथि आश्रित छन् ।

दिनभर सिटी रिक्सा चलाएर गुजारा गर्नेहरू झन् मर्कामा छन् । लहानका किसन रामले चर्को घाम र गर्मीका कारण ग्राहक नआएको बताए । उनले २ लाख ऋण लिएर सिटी रिक्सा किनेका थिए । ‘ग्राहक नआउँदा दिनभर रूखमुनि रिक्सा अडयाएर बस्न बाध्य भइयो,’ उनले भने, ‘गर्मी नहँुदा दैनिक १ हजार ५ सयसम्म कमाइ हुन्थ्यो । अहिले ५ सय पनि मुस्किल छ ।’

प्रकाशित : भाद्र ५, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?