कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सडकै ढाकेर पार्किङ

सन्तोष सिंह

जनकपुर — जनकपुरधाममा आधा सडक ढाकेर सवारी पार्किङ हुन थालेको छ । सर्वसाधारण र भीआईपी मुभमेन्टलाई सास्ती हुनेगरी सडक नै ढाकेर गाडी पार्किङ गर्दा पनि सरोकारवाला निकाय मौन छ ।

सडकै ढाकेर पार्किङ

जनकपुरको मिल्सएरिया, भानु चोक, कदम चोक, सिडिओ कार्यालय, मुरली चोक, रामान्दन चोक र पडारी चोकमा आधाभन्दा बढी सडकको भाग सवारी साधनको पार्किङले नै ढाकिएको हुन्छ । सडकमा गरिएको अव्यवस्थित सवारी साधन पार्किङले सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

एसियाली विकास बैंकको एकीकृत सहरी परियोजनाअन्तर्गत अहिले जनकपुरमा सडक फराकिलो र कालोपत्रे काम धमाधम भइरहेको छ । तर, फराकिलो गरिएको सडकको दुवै छेउमा जथाभावी सवारी सधान पार्किङ गर्दा जनकपुर अव्यवस्थित सहर बनेको छ । पार्किङको छुट्टै व्यवस्था नगरेको जनकपुर उप–महानगरपालिका पनि सहरको अव्यवस्थित पार्किङ हटाउन पहल गरेको छैन ।

सडक नै ढाक्ने गरी मोटरसाइकल, साइकल, ई–रिक्सा र साना गाडीहरू पार्किङ भइरहेको छ । सडककै बीचमा गाडी पार्किङ गरेर त्यही छेउमा उभिएर गफ चुट्नेको संख्यामा पनि जनकपुरमा बढी छ । स्कुल, कलेज, बैंक, कार्यालय, पसलेका सवारी साधन सडकमै पार्किङ गर्दा जनकपुरको फराकिलो सडक पनि साँघुरो हुन थालेको छ ।

परियोजनाअन्तर्गत उप–महानगरपालिकाले जनकपुरको अधिकांश सडक फराकिलो बनाएको छ । ‘सडक नामका लागि मात्र फराकिलो भयो । सवारी साधनले सबै ढाकेपछि सर्वसाधारण कहाँबाट आवातजावत गर्ने ?’ जनकपुर–९ का विमलेश सिंहले भने, ‘सडक मात्रै फराकिलो बनाएर हुन्न, सोच पनि फराकिलो हुनुपर्छ ।’

सडक नै ढाक्ने गरी हुने पार्किङले जनकपुरमा दुर्घटनाको जोखिम पनि बढेको छ । बन्दै गरेको चिल्लो फराकिलो सडकमा तीव्र गतिमा गाडी हुक्याउँदा दुर्घटनाको जोखिम बढेको छ । सडकको दुबै छेउमा अव्यवस्थित गरिएको पार्किङले सडकको बीचबाट हिँड्न पनि समस्या भइरहेको स्थानीय चन्दन झाले बताए । झाका अनुसार जनकपुरको सडकमा हिँड्दा अगाडि मात्र हैन, दायाँबायाँ पनि हेर्नुपर्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका प्रमुख इन्स्पेक्टर दीपक साहले जनकपुरको सडकमा जथाभावी सवारी साधन पार्किङ नगर्न बैंक, स्कुल–कलेज र अस्पताललाई पत्राचार गरिएको बताए । उनले जनकपुरको सडकमा व्यवस्थित पार्किङका लागि पहल भइरहेको बताए । ‘सडकमा जथाभावी गाडी पार्किङ नगर्न पत्राचार गरिएको छ,’ उनले भने, ‘सडकको पार्किङ व्यवस्थित बनाउन सहयोग नगर्नेलाई कारबाही हुन्छ ।’

प्रकाशित : भाद्र ५, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?