‘छोरा त पाएनौं, फिरौती फिर्ता मगाइदिनुपर्‍यो’

हत्या प्रकरण
पवन यादव

सिमरा — छोरा मारेका अपहरणकारीबाट फिरौती रकम फिर्ता गराइदिन आग्रह गर्दै नाबालकका अभिभावकले नेपाल प्रहरीका प्रमुख (आईजीपी) लाई गुहारेका छन् ।

‘छोरा त पाएनौं, फिरौती फिर्ता मगाइदिनुपर्‍यो’

झन्डै सवा दुई महिना अगाडि अपहरणमा परेका जितपुर सिमरा उपमहानगरपालिका ७ निवासी ९ वर्षीय अंकित गुप्ता मृत फेला परेपछि तिनका अभिभावकले नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाललाई भेटेरै रकम फिर्ता गराइदिन आग्रह गरेका हुन् ।

पूजा खाद्य टेडर्स जितपुरका सञ्चालक अंकितका बुवा ललनप्रसाद साह र उनकी आमा संगीतादेवी साहले प्रहरी प्रमुख खनालको कार्यालयमै पुगेर यस्तो आग्रह गरेका हुन् । २ वटा सन्तानमध्ये अंकित कान्छो छोरा रहेको ललनले जानकारी दिए । ‘छोरा त पाएनौं, फिरौती रकम फिर्ता मगाइदिनुपर्‍यो सर,’ अंकितकी आमाले भकानिँदै भनिन्, ‘छोरालाई जिउँदो र सही सलामत फर्काउन झन्डै १ करोड ४ लाख रुपैयाँ (भारु ६५ लाख) अपहरणकारीलाई बुझाएका थियौं ।’ अपहरणकारीले पैसा लिएर पनि छोराको हत्या गरेको उनले जानकारी गराइन् ।

अंकितको रिहाइका लागि अपहरणकारी समूहलाई भारतको बेतिया जोगापट्टी थाना नजिकैको हरिपुरवा गाउँभन्दा करिब २ किलोमिटर अगाडि एक सुनसान स्थलमा रकम हस्तान्तरण गरेका थियौं । रकम लिन फोन सम्पर्क गरेका व्यक्तिले पैसा राखेर पछाडि नफर्कीकन जान भनेको थियो । उसले पैसा लियो र पछि बच्चा पाउँछ भन्दै हिँड्यो । ‘पैसा लिएर उनीहरूले धोका दिए,’ उनले भनिन्, ‘त्यसपछि अपहरणकारीको बन्द भएको नम्बर अहिलेसम्म खुलेको छैन ।’

अंकितको शव पर्सा जिल्लाको जगरनाथपुरस्थित नहरमा बेवारिसे अवस्थामा फेला परेको थियो । चिन्ने नसकिने गरी कुहिएको शवको गलाको लकेटका आधारमा बाबुआमाले पहिचान गरेका थिए । प्रहरी प्रमुख (आईजीपी) सर्वेन्द्र खनालले अपहरणकारीले लिएको रकम फिर्ता गराउन र अपराधीलाई कारबाही गराउन पहल गर्ने आश्वासन दिए । ‘प्रहरीसँग समन्वय गरी फिरौतीको कुरा अगाडि बढाउनु पथ्र्यो,’ उनले भने, ‘यसरी गर्दा प्रहरीलाई काम गर्न गाह्रो हुन्छ ।’ तर पनि प्रहरी चुप लागेर नबसेको उनले बताए ।

‘अहिले जिल्लाका व्यापारी त्रसित छन्,’ बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले भने, ‘हामी व्यापारीलाई व्यापार व्यवसाय गर्न शान्ति सुरक्षाको प्रबन्ध मिलाइदिनुपर्‍यो ।’

फिरौती रकम लिएर पनि शरीर बन्धक बनाइएका नबालक अंकितको हत्या गर्ने गिरोहमध्ये केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी सिमरामा सार्वजनिक गरेको थियो । घटनाको मुख्य योजनाकारसहित ४ जनालाई पक्राउ गरिएको बाराकी प्रहरी प्रमुख मिरा चौधरीले जानकारी दिइन् ।

घटनाको मुख्य योजनाकार प्रदिप गुप्ता, राप्रवेश साह गोढ, पार्वती देवी र सुरज गिरीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । वीरगन्ज–११ रानीघाट निवासी गोढ सुरुमै पक्राउ परेका अभियुक्त हुन् । पार्वती देवी, प्रदीप गुप्ता पनि वीरगन्ज निवासी हुन् । सुरज भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।

स्थानीय भिजन केयर बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत अंकित साथीको घरमा खेल्न जादैछु भनेर जेठ २२ गते घरबाट निस्केका थिए । साँझसम्म घर नफर्केपछि अंकितको खोजतलास परिवारले सुरु गरेको थियो । जेठ २३ गते अंकितको परिवारजनले जितपुर र सिमरा प्रहरीमा खोजतलास गरिदिन निवेदन दिएका थिए ।

अंकित बेपत्ता भएका ४ दिनपछि ललनको मोबाइलमा फिरौतीका लागि बारबार फोन आउन थालेपछि परिवारले अंकित अपहरणमा परेको जानकारी पाएका थिए । साउन ३२ गते परिवारजनले फिरौती रकम अपहरणकारी समूहलाई बुझाएका थिए ।

साउन ३ गते वीरगन्ज महानगरनपालिकाभित्र पर्ने गण्डक नहरको क्षेत्रमा एउटा बेवारिसे लाश फेलापरेको थियो । त्यही लास अंकितको भएको किटान भएको थियो । घटनाको छानबिनसँगै कल ट्रेसिङ र फोन नम्बर पहिचानबाट पक्राउ परेका रामप्रवेश साह गोढले नै घटनाको भेद खोल्दै अपहरणपछि हत्या गरेको बयान प्रहरीमा दिए ।

बयानका अधारमा घटनाका मुख्य योजनाकार र सहयोगीलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेकाविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरी प्रहरीले घटना अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?