२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पढाइसँगै खेलकुद

शिव पुरी

रौतहट — चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

पढाइसँगै खेलकुद

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि नि:शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्राय: बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा नि:शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि नि:शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?