२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सडक फराकिला बनाइँदै

पवन यादव

सिमरा — निजगढ नगरपालिकाले नगर क्षेत्रका जनताका लागि घरघरसम्म सुविधासम्पन्न सडक निर्माण गरी नगरलाई ‘स्मार्ट सिट्टी’ बनाउने उद्देश्यले अहिले भित्री सडक फराकिलो बनाउने काम तीव्र बनाएको छ ।

सडक फराकिला बनाइँदै

नगरपालिकाले भित्री सडकलाई फराकिलो र कालोपत्रे बनाउन चासो देखाएपछि नगरवासी हर्षित भएका छन् । नगरको भित्री सडक कच्ची र साँघुरो थियो । त्यसमा सवारी कुदाउन, आपत परेका बेलामा एम्बुलेन्स ल्याउन, आगलागी भएका बेला दमकल ल्याउन मुस्किल पथ्र्यो । सडक फराकिलो भएसँगै यो समस्या हट्ने स्थानीयले बताए ।


नगरका भित्री सडक कालोपत्रे भएपछि सार्वजनिक सवारी घरसम्मै पुर्‍याउने र बजारबाट घर फर्किन सजिलो हुने निजगढ नगरपालिका ९ अस्पताल टोल निवासी प्रमेश्वरी सिटौलाले बताइन् ।


‘बाटो फराकिलो भएसँगै हामी जनतालाई धेरै फाइदा पुग्छ,’ उनले भनिन्, ‘यस टोलाका बासिन्दाले प्रत्यक्ष फाइदा पाउँछन् ।’ हाम्रो टोल पनि सुन्दर र आकिर्षित देखिन्छ । सडकले फाइदै फाइदा हुने उनले विश्वास व्यक्त गरिन् ।


उनका अनुसार अस्पताल टोलमा सबभन्दा बढी केरा खेती हुने गर्छ । केरा ढुवानी गर्न खेतसम्म नै सवारी सजिलै पुर्‍याउन सकिनेछ । सडक छेउमा केही समयका लागि केरा लोड गर्न गाडी बाटो छेउमा राख्दा पनि सडकमा आवागमन अवरुद्ध नहुुने उनले जानकारी दिइन् । ‘पहिला पार्किङ गर्न समेत धेरै अप्ठेरो हुन्थ्यो,’ उनले थपिन्, ‘अहिले त्यो समस्या आफ्ै हटनेछ ।’ नगरपालिको यो कार्यबाट हामी नगरवासी धेरै खुसी भएका छौं । नगरपालिको कामलाई सफल पार्न आफूसहितका नगरवासीले सडक फराकिलो बनाउन सहयोग गरिरहेको उनले बताइन् ।


यही स्पिडमा नगरपालिकाले नगर क्षेत्रको पूर्वाधार निर्माणका कामलाई तीव्रता दिए निजगढले विकासको मामलामा फडको मार्ने अर्का स्थानीय उर्मिला उप्रतीले बताइन् ।


‘सडक साँघुरो भएकै कारण रातिमा प्रहरीले गस्ती गर्न आउँदैनथ्यो,’ उनले भनिन्, ‘अब प्रहरीलाई पनि नगरमा गस्ती गर्न सजिलो हुन्छ ।’ इलाकाबाट थोरै समयमा यस टोलमा प्रहरी पुग्ने उनले विश्वास व्यक्त गरिन् । बच्चाहरू पढने स्कुल बस समेत घर आँगनमै सजिलै आइपुग्ने उनले बताइन् ।


सडक फराकिलो भएसँगै यस क्षेत्रको रौनक समेत बढेको छ । यहाँको पूरै सडक फराकिलो र सफा देखिन थालेको उनले जनाइन् । विकासको मूल आधार सडक रहेको स्थानीय रामनारायण श्रेष्ठले बताए । उनले भने, ‘नगरपालिकाले यसरी नै आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्दै जानुपर्छ ।’ हामी नगरवासीले पनि होस्टेमा हेंसे गर्नुपर्छ । यसले नगरवासीको कल्याण हुने उनले बताए ।


निजगढ नगरपालिकाले नगर क्षेत्र भित्रको भित्री सडकलाई फराकिलो बनाउनुका साथै आवश्यकताअनुसार सडक ढलान र कालोपत्रे समेत गर्न थालेको छ । नगर क्षेत्रभरिको झन्डै ३० किलोमिटर साँघुरो सडक फराकिलो बनाइएको निजगढ नगरपालिकाका प्रमुख मेयर सुरेश खनालले बताए ।


‘यो दूरीमा सडक फराकिलो बनाउँदै नयाँ ट्रयाक खोल्ने काम समेत भएको छ,’ उनले भने, ‘पक्की बनाउन नसकिएको सडकमा ग्राभेल हाल्ने काम पनि गरिरहेका छौं ।’ नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने अवधारणाअनुसार सडकलाई प्राथमिकमा राखेका छौं । क्रमबद्ध अनुसार सडकलाई कालोपत्रे र ढलान गर्दै जाने नगरपालिकाले योजना बनाएको उनले जानकारी दिए ।


नगरवासीले धैर्यधारण गर्नुपर्छ । हामी विस्तारै सबैको घरदैलोसम्म पक्की सडक पुर्‍याउने उद्देश्यले अगाडि बढिरहेका छौं । नगरवासीले पनि निर्माणको काममा खटिएका कर्मचारी, जनप्रतिनिधि सबैलाई सघाउनुपर्नेमा उनले जोड दिए ।


उनका अनुसार नगर क्षेत्रभरिमा अहिलेसम्म १५ देखि १७ मिटर चौडाइ भएको १७ किलोमिटर सडक ढलान गरिएको छ । पहिलो चरणमा ७ सय मिटर सडक कालोपत्रे गरिएको उनले जनाए । नगरवासीका लागि रिङरोड बनाउने अवधारणा समेत प्राविधिकको सहयोगमा नक्सांकन गरी अघि बढाउने काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ६, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?