कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अझै धामीझाँक्रीकै भर

सर्लाही — ग्रामीण क्षेत्रका महिलाहरू अझै पनि बोक्सी, धामीझाँक्रीजस्ता अन्धविश्वास र कुरीतिको चपेटामा छन् । कानुनले बोक्सी आरोप लाउनेलाई सजाय तोके पनि बोक्सी आरोप लागेकालाई समाजले सहज स्वीकार गरेको छैन ।

अझै धामीझाँक्रीकै भर

ग्रामीण क्षेत्रका महिलामा चेतना फैलाउने उद्देश्यले नेपाल मधेस फाउन्डेसनले गरेको एक कार्यक्रममा प्रशिक्षकले बाक्सी आरोप र यसका कानुनी पाटाको बारेमा बोलेपछि महिलाहरू आक्रोसित बनेका थिए । उनीहरू बोक्सीको विरोध र धामीझाँक्रीको पक्षमा वकालत गरेका थिए । महिलाहरूले ‘बोक्सी’ हुन्छ भनेर खुला रूपमै बहस गरेका थिए । स्थानीय सहिदा खातुन प्रशिक्षकलाई भन्दै थिइन्, ‘सब बिगारेको तपाईंहरूजस्ताले हो, तपाईंहरूको यस्तो कार्यक्रमले बोक्सी थप उत्साहित हुन्छन् ।’

ग्रामीण क्षेत्रमा शिक्षा र चेतना अभावमा महिला कुरीति र अन्धविश्वासको चपेटामा छन् । उनीहरू अझै पनि बिरामीलाई उपचारको साटो धामीझाँक्रीकै भर पर्ने गर्छन् । बिरामीलाई अस्पताल लिएर जाँदा निको नहुने धामीझाँक्रीकामा लिएर जाँदा बिरामी निको हुने गरेको स्थानीयको भनाइ छ । ‘बिरामी परेकालाई उपचार गराउँदागराउँदै थाकिन्छ, पैसा पनि बढी खर्च हुन्छ निको हुँदैन ।’ स्थानीय यमुना देवी सिंहले भनिन्, ‘धामीझाँक्रीकामा जाँदा पैसा पनि कम लाग्ने र बिरामी पनि निको हुने गर्छ ।’ ग्रामीण क्षेत्रका स्थानीय गरिबीका कारण बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन पाउँदैनन् जसका कारण बिरामीको मृत्यु हुन्छ, त्यसपछि बोक्सी आरोप लाग्ने गर्छ ।

कार्यक्रमका जिल्ला संयोजक मनोज साहले अझै पनि समाजमा बोक्सी आरोप लगाउने प्रचलन कायम रहेको बताए । ‘ग्रामीण क्षेत्रका महिलामा शिक्षा र चेतनाको कमी भएकाले उनीहरू अझै पनि बोक्सीजस्ता विषयमा विश्वास गर्छन्,’ उनले भने, ‘महिला हिंसामा कमि ल्याउनका लागि यो कार्यक्रम गरिरहेको छु । सुरुमा आक्रोशित देखिएका महिला कार्यक्रम समापनमा भने केही सकारात्मक देखिएका छन् ।’

खास गरी गरिब, दलित र एकल महिलालाई नै बोक्सी आरोप लाग्ने गर्छ । आफ्नो समाज र छिमेकीले नै बोक्सीको आरोप लगाएपछि पीडित परिवार त्रासमा बस्ने गर्छन् । कानुनी कारबाही लागि समाजविरुद्ध डटेर सामना गर्ने पीडितको हिम्मत हुँदैन । धामीले आरोप लगाउनेबित्तिकै पीडित परिवार सामाजिक बहिष्करणमा पर्छन् ।

सामाजिक भेला, छलफलमा बोलाइँदैन, त्यस्ताले छोएको खानासमेत नखाने गरेको नागरिक अगुवा रजनीकान्त झाले बताए । बोक्सी आरोपमा केही कमी भए पनि शिक्षाको कमीका कारण निर्मूल हुन नसकेको झाको कथन छ । ‘बोक्सीका नाममा महिला हिंसा कायमै छ,’ झाले भने, ‘पीडित महिला कमजोर भएका कारण आफ्ना छिमेक र समाज विरुद्ध आवाज उठाउन सक्दैनन् ।’ आफू कमजोर भएकै कारण पीडित हिंसा सहन बाध्य हुन्छन्, कानुनी उपाय खोज्दैनन् । कानुनी रूपमा पीडक कमजोर भए पनि सामाजिक रूपमा बलिया छन् ।

विगत केही वर्षयता बोक्सी आरोपमा हुने महिला हिंसामा कमी आएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ । ‘पहिलाको जस्तो बोक्सी आरोपमा मलमूत्र खुवाउने, कपाल काट्नेलगायत घटनाको उजुरीमा कमी आएको छ,’ मुद्दा शाखाका प्रहरी निरीक्षक कुन्दन देवले भने, ‘समान्य बोक्सीको आरोपमा गालीगलौज घटनाको उजुरी यथावत् छ ।’

प्रकाशित : भाद्र ७, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?