२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कार्यकारी प्रमुख ८ घण्टा बन्दी

लथालिंग स्थानीय सरकार

जनकपुर — हंसपुर नगरपालिकाको दोस्रो नगरपरिषद्बाट पारित नीति, कार्यक्रम तथा बजेटको आधिकारिक निर्णय माग गर्दै उपप्रमुख रेणुदेवी झा तथा वडाध्यक्ष उदयकुमार साह नेतृत्वमा नगरपालिका कार्यालयअगाडि प्रदर्शन गरियो ।

कार्यकारी प्रमुख ८ घण्टा बन्दी

प्रदर्शनकारीले नगरपालिकाका निमित्त कार्यकारी प्रमुख साधुशरण यादवलाई झन्डै आठ घण्टा बन्दी बनाएर राखेका थिए ।

उपमेयर झा र वडाध्यक्ष साहसँगै आएका स्थानीयवासीले आफूलाई अपराह्न ५ बजेदेखि राति १ बजेसम्म कार्यालय कोठामै थुनेर राखेको तथा केही स्थानीयवासीले दुव्र्यवहारसमेत गरेको निमित्त कार्यकारी प्रमुख यादवको गुनासो छ ।

हंसपुर नगरपालिकाको दोस्रो नगरपरिषद् असार १० गते सोही नपाको वडा नम्बर ३ स्थित हंसपुर–बेल्ही चौकमा सम्पन्न भएको थियो । प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा सम्पन्न नगर परिषद्बाट पारित नीति, कार्यक्रम तथा बजेट हालसम्म उपलब्ध नगराएको भन्दै उपमेयर झा, वडानम्बर २ का वडाध्यक्ष उदयकुमार साहसहितका केही वडाध्यक्ष तथा स्थानीयवासीले मेयर रामज्ञान मण्डल तथा कार्यकारी प्रमुखसँग माग गर्दै आएका छन् ।

‘आधिकारिक निर्णयको फोटोकपी माग्न मैले लिखित निवेदन पनि दिएको छु तर मेयर मण्डल र कार्यकारी प्रमुख यादवले दिन मानेका छैनन् । आफू पदाधिकारी रहेको बोर्डले गरेको निर्णय पनि नपाइने ? मेयर र हाकिमको यो कस्तो दादागिरी होला ?’ वडाध्यक्ष उदयकुमारले भने ।

उनका अनुसार हंसपुर नगरपालिकाको कार्यालय बघचौडामा भए पनि नगपालिकाको निर्णय पुस्तिका, योजना तथा कार्यक्रमलगायत महत्त्वपूर्ण कागजात मेयर मण्डलको जनकपुरस्थित निजी निवासमै हुने गरेको छ । नपाको महत्त्वपूर्ण बैठक पनि जनकपुरमै हुने गरेको उनले बताए ।

उपमेयर रेणुदेवी झाले नगरप्रमुख मण्डल, केही वडाध्यक्ष तथा कर्मचारी मिलेर नगरपालिकाको केन्द्र सार्न खोजेको आरोप लगाएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हंसपुर नगरपालिकाको केन्द्र बघचौडा निर्धारण गरे पनि मेयर मण्डल तथा केही वडाध्यक्षहरू बहुमतको आधारमा उक्त केन्द्र हंसपुर–बेल्ही चौकमा सार्न खोजेको उपमेयर झाको कथन छ ।

केन्द्र सार्ने निर्णयमा हस्ताक्षर गर्न मेयर मण्डलले नगरपालिकाका वडाध्यक्ष तथा सदस्यहरूलाई प्रलोभनसमेत दिएको आरोप उनले लगाए ।

‘केन्द्र सार्ने विषयमा विधिअनुसार बहस छलफल गरौं । यसरी चोरेर, प्रलोभनमा पारेर निर्णय गर्नु गैर संवैधानिक हो,’ उपमेयर झाले भने ।

जताततै विवाद
हंसपुर नगरपालिकामा देखिएको मेयर उपमेयरबीचको विवाद एक्लो भने होइन । जिल्लाका १८ स्थानीय तहमध्ये अधिकांशमा मेयर र उपमेयरबीच तीव्र विवाद देखिएको छ ।

सबैला नगरपालिकाका मेयर विजयशंकर साह तथा उपमेयर निलु कापरबीच चुलिएको विवादका कारण नगरसभा सम्पन्न भएको महिनौं बितिसक्दा पनि वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित हुन सकेको छैन । उपमेयरका लागि गाडी व्यवस्थापनको प्रस्ताव हटाएको भन्दै गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना देवीले माइन्युट नै च्यातेको घटना ताजै छ ।

फरक फरक राजनीतिक दलहरूबाट निर्वाचित जनप्रतिनिधिबीचको विवादलाई सामान्य मान्न सकिएला तथा यहाँ एउटै दलबाट निर्वाचित जनप्रतिनिधिबीच पनि पानी बाराबारको स्थिति छ । हंसपुर नगरपालिकाका मेयर र उपमेयर दुवै राष्ट्रिय जनता पार्टीसँग सम्बद्ध छन् ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव अधिकांश स्थानीय तहमा विवाद रहेको स्वीकार गर्छन् । भन्छन्, ‘गाउँ/नगरमा सिंहदरबार आएको हल्ला मच्चाइयो तर यहाँ सिंहदरबारका कचरा (फोहर) मात्र आएका रैछन् ।’ गाउँपालिका तथा नगरपालिकालाई समायोजन गर्ने भनिए पनि जिल्ला समन्वय समितिलाई अधिकारविहीन बनाइएकाले यस्तो स्थिति सिर्जना भएको यादवको कथन छ ।

महिला भएकै कारण विभेद
अधिकांश स्थानीय तहका मेयरले उपमेयरसँग लैंगिक विभेद गरेको आरोप हंसपुर नपाकी उपमेयर रेणु झाको छ । कान्तिपुरसँगको भेटमा उनले प्रतिप्रश्न गरिन्, ‘खाता सञ्चालन, नीति, कार्यक्रम, विकास निर्माण तथा विशेष बैठकजस्ता महत्त्वपूर्ण विषयमा पनि उपमेयरसँग रायसल्लाह नगर्नुको कारण हामी महिला भएर त होइन ?’

कान्तिपुरसँगको भेटमा उनले भने, ‘मेयरसाहेबलाई नगरका जनताले भोट दिएर जिताएका छन् र म टीका लगाएर उपमेयर भएकी छु ? मसँग विभेद किन ?’ मेयर मण्डलले आफूलाई वास्तै नगरेको उनको आरोप छ । यसैगरी सबैला नगरपालिकाकी उपमेयर निलु देवी केवटले पनि मेयर विजयशंकर साहले एकलौटी गर्न खोजेको आरोप लगाएकी छन् ।

संविधानले स्थानीय तहको मेयर तथा उपमेयरमध्ये एकजना महिला हुनुपर्ने प्रावधान रहे पनि धनुषाका १८ तहमध्ये एउटैमा पनि महिला मेयर वा अध्यक्ष छैनन् । सबैमा उपाध्यक्ष वा उपमेयरमात्र छन् ।

जिससका प्रमुख रामदेव बनरैत यादव जनप्रतिनिधिबीचको विवादको प्रमुख कारण सेवासुविधासँगै योजना बाँडफाँटसमेत रहेको बताउँछन् । कान्तिपुरसँगको भेटमा उनले भने, ‘मेयर, उपमेयर तथा वडाध्यक्षहरू आआफ्ना भागमा अधिकभन्दा अधिक योजना पार्न खोज्छन् । विवादको एउटा कारण यो पनि हो ।’

प्रकाशित : भाद्र ७, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?