२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

स्मार्ट सिटीतर्फ चन्द्रपुर नगर

’स्मार्ट अर्थव्यवस्थामा नवीन उद्यमशीलता, हरित व्यवसाय हुनेछ’
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि सम्बन्धित कन्सल्टेन्टले गुरुयोजनाको काम सुरु गरेको छ । केही दिनअघि विज्ञहरूको एक टोलीले नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानको सर्भे गरेका थिए ।

स्मार्ट सिटीतर्फ चन्द्रपुर नगर

सुखी नेपाली र समृद्ध नेपालको नारा दिएको सरकारले मुलुकभर १३ स्मार्टसिटी बनाउने योजना सार्वजनिक गरेको थियो । सूचीमा रहेको चन्द्रपुरले योजनाको खाका तयार पारेको जनाएको छ ।

यसलाई व्यवस्थित सहर बनाउनका लागि सरोकारवालासित विज्ञहरूले छलफल गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, सुरक्षा, सडक, नदीनाला, भौतिक पूर्वाधारलगायतबारे क्षेत्रका सांसद, दलहरू तथा स्थानीय तहका जनप्रतिनिधिसित छलफल गरेका थिए । मुलुकभर १३ वटा स्मार्ट सिटी र १ सय स्मार्ट भिलेज बनाउने घोषणालाई सार्थक बनाउन राष्ट्रिय योजना आयोगले त्यसको सूचक तयार पारेको जनाएको छ ।

स्मार्ट सिटीमा स्मार्ट शासन, स्मार्ट पूर्वाधार, स्मार्ट अर्थ व्यवस्था र स्मार्ट जनता हुने गरी सूचक तयार पारेको बताइएको छ । स्मार्टसिटीका लागि योजना तर्जुमा गर्न कमिटीसमेत गठन गर्ने काम भएको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत नयाँ सहर आयोजना प्रमुख पराग कायस्थले बताए ।

‘चन्द्रपुर नगरपालिकालाई स्मार्टसिटी बनाउनका लागि गुरुयोजना (मास्टरप्लान) बनाउने काम सुरु भइसकेको छ,’ उनले भने, ‘कतिपय कामहरू हामीले सेटेलाइटमार्फत थालिसकेका छांै । यसको रोडम्याप तयार हुँदै छ ।’ टोलीले यसको प्रस्तावनामाथि छलफल थालेको छ । त्यसपछि गुरुयोजनालई अन्तिम रूप दिइने बताइएको छ ।

स्मार्ट जनतामा समावेशीकरण, स्वास्थ्य, सिर्जनशीलता, शिक्षा र सुरक्षा पर्नेछ । स्मार्ट शासनमा अनलाइन सेवा, सूचना प्रविधि पूर्वाधार, पारदर्शी र खुला सरकार तथा पहिचान चाहिने जनाइएको छ । यस नगरपालिकाको जनसंख्या ७२ हजार ५९ रहेको छ । तत्कालीन ५ गाविस मर्ज गरी चन्द्रपुर नगरपालिका बनाइएको हो । चरम गरिबी, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका आधारभूत पहँुचको चुनौती यहाँ देखिएको छ ।

‘स्मार्ट अर्थव्यवस्थामा नवीन उद्यमशीलता, रोजगारी सिर्जना, उत्पादनशीलता, हरित व्यवसाय हुनेछ,’ उनले भनिन्, ‘स्मार्ट पूर्वाधारमा भौतिक पूर्वाधार (यातायात, ऊर्जा, आवास तथा भवन), सहरी सेवा, सुविधाका पूर्वाधार, हरित पूर्वाधार, सामाजिक र सुरक्षा पूर्वाधारको विकास गरिनेछ । यसले जनतामा आमूल परिवर्तन ल्याउनेछ ।’

सामान्यतया स्मार्टसिटीमा वातावरणीय एवं सेवासुविधाको दिगोपन, सुविधा मापन गर्न सकिने सेवा, जनताको समावेशी र समन्यायिक पहुँच हुने (एक्सेसेबल), विशेषता अनुसरण गर्न लायक हुने (रेप्लिकेबल) र प्राविधिक विकासको प्रयोग गर्ने (टेक्निकल) विषय पर्छन् । अब बन्ने स्मार्ट सिटीका नागरिकहरूले उच्च गतिको इन्टरनेट प्रयोगसँगै सार्वजनिक स्थलमा वाइफाइ हटस्पटको सुविधा पाउनेछन् ।

उनीहरूले सार्वजनिक क्षेत्र र सडकका दोबाटो, चौबाटोमा डिजिटल सूचना बोर्डदेखि मोबाइलमा सार्वजनिक निकायका सूचनाको पहुँच पाउनेछन् । यी सबै थोरै समयमा सम्भव नहुने नेपाल डेभलोमेन्ट कन्सल्टेन्सीका प्रबन्ध निर्देशक कृष्णप्रसाद तिमल्सिनाले बताए । उनले स्मार्टसिटीको अन्तिम रूप र यसले ल्याएको परिवर्तनका लागि १५ वर्ष बढी लाग्न सक्ने जनप्रतिनिधिहरूलाई जानकारी दिए । ‘यसभित्र इन्टेलिजेन्ट यातायात प्रणालीको व्यवस्था हुन्छ ।

जहाँ अनलाइन कर प्रणाली लागू हुनेछ । जन्म, विवाह र मृत्यु दर्ताजस्ता महत्त्वपूर्ण काम अनलाइनबाटै गर्न सकिनेछ,’ उनले भने, ‘यसका लागि सबैको साथ र सहयोग अपरिहार्य हुन्छ । स्थानीय तहमा जनप्रतिनिधिको प्रतिबद्धता आवश्यक पर्छ ।’ स्मार्टसिटीमा सरकारबाट प्राप्त हुने सेवासुविधाका साथै सामाजिक सुरक्षाभत्ता घरमै बसेर ग्रहण गर्ने वा बैंकमा ट्रान्सफर गर्न सक्नेछन् ।

स्मार्ट बनाइने प्रत्येक सहरको सामाजिक र आर्थिक विकासका लागि मौलिक पहिचान कायम गरिनेछ । अनलाइन बजार व्यवस्थाले घरघरमै सेवा प्रवाह हुनेछ । पूर्वपश्चिम राजमार्गसित जोडिएको नगर भएकाले चन्द्रनिगाहपुर स्मार्टसिटीका लागि छनोटमा परेको हो ।

स्माटसिटी बनाउने काममा दलहरूबीच एकरूपता हुनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य युवराज भट्टराईले बताए ।

‘हाम्रो लक्ष्य भनेको चन्द्रपुरलाई जसरी भए पनि स्मार्टसिटी बनाउने हो,’ उलने भने ।

प्रकाशित : भाद्र ७, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?