१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एकै जनाले बेचे २० लाखको खसी–बोका

पवन यादव

सिमरा — निजगढ हाटबजारको नियमित तालिका अन्तर्गत साताको २ दिन बिहानदेखि मध्याह्न सम्मको समय खसी–बाख्रा बिक्रीका लागि छुट्याइएको छ ।

एकै जनाले बेचे २० लाखको खसी–बोका

साताको प्रत्येक आइतबार र बुधबार यहाँ खसी–बाख्रा खरिद–बिक्री गर्नका लागि ‘बकरी’ बजार सञ्चालन गर्न थालिएको स्थानीयले बताए ।

सात महिना समय लगाएर ठूलो संख्यामा पशुपालन गरेका निजगढ ४ वागदेवका किरण खनाल एक्लैले बुधबार ९० वटा खसी–बोका बिक्रीका लागि बजारमा ल्याएका थिए । बिहान ७ बजे उनले ल्याएका खसी–बोकामध्ये ७० वटा ९ नबज्दै बिक्री भइसकेका थिए । ठूलो र बढी वजन भएका १५ वटा खसी ३० हजारको दरले बिक्री गरेको उनले बताए ।

‘कम्तीमा ७ हजारदेखि ३० हजार रुपैयाँ हाराहारीमा ७० वटा खसी बोका बिक्री गरें,’ उनले भने, ‘एकै दिनको बिक्रीबाट झन्डै २० लाख रुपैयाँ आम्दानी गरें ।’ खोर व्यवस्थापन, पाठो खरिद र खसी बाख्रा स्याहार सुसार गर्ने एक कर्मचारीको तलब खर्च समेत गरी १५ लाख रुपैयाँ खर्च भएको उनले जनाए । ‘पालिएका बाख्रामध्ये ७० वटा बेच्दा २० लाख आम्दानी भयो,’ उनले भने, ‘अझ केही खसी–बाख्रा बिक्री गर्न बाँकी नै छन् ।’ खसी–बाख्रा पालनबाट राम्रै आम्दानी हुने गरेको उनले बताए ।

आफ्नो गाउँका धरैले १५/२० वटाको संख्यामा मात्र खसी–बाख्रा पालेका छन् । सबभन्दा बढी आफूले पालेको उनले जानकारी दिए । प्रत्येक बजारमा झन्डै ३/४ लाखको हाराहारीमा खसी–बाख्रा खरिद–बिक्री हुने गरेको निजगढ हाट बजारको ठेक्का साकार गरेका ठेकेदार पुरुषोतम खुलालले बताए ।

असोजदेखि कात्तिकसम्मको ३ महिनालाई खसी–बाख्रा बिक्रीका लागि ठेकेदार पक्षले पिक आवरका रूपमा लिने गर्छ । यो अवधिमा ठूलो संख्यामा खसीबोका खरिदबिक्री हुनुका साथै आर्थिक कारोबारसमेत दोब्बर/चौबर पुग्ने गरेको उनले बताए ।

‘खसीबाख्रा बिक्रीका लागि अहिलेको सिजनलाई अफ सिजन मानिन्छ,’ उनले भने, ‘अफ सिजनमा पनि खसीबोकाको बिक्री राम्रै रहेको छ ।’ अहिले प्रत्येक बजारमा एक सयभन्दा बढी संख्यामा खसीबाख्रा बिक्री वितरण भइरहेको उनले जानकारी दिए ।

बारा जिल्ला लगायत यस क्षेत्रमै खसीबाख्रा खरिद–बिक्रीका लागि निजगढ नियमित बजार बन्न सफल भएको समितिले दाबी छ । ‘साता २ दिन लाग्ने यस बजारमा खसी–बाख्रा मात्र बिक्री हुन्छ,’ ठेकेदार खुलालले थपे, ‘अरू चौपाया तथा खाद्य सामग्री बिक्रीका लागि राखिंदैन ।’ त्यसैले यस बजारको नाम बकरी बजार राखिएको उनले बताए ।

यहाँको बजारमा खसीबोका खरिद गर्न बारा जिल्लाको विभिन्न स्थानसँगै वीरगन्ज, हेटौंडा, चितवन, काठमाडौं, रौतहट लगायतका स्थानबाट ठूलो संख्यामा व्यपारी आउने गरेको खुलाले बताए । उनका अनुसार बिक्री भएको प्रति गोटा खसीबाट ३५ रुपैयाँ निकासी कर असुल्ने गरिन्छ । अफ सिजनमा पनि प्रत्येक बजारमा ३ देखि ४ हजार रुपैयाँसम्म कर असुली हुने गरेको छ । बन्दले असेर परेन भने ठेक्काबाट राम्रो फाइदा हुने उनले बताए ।

सजिलै बजार पाउने भएपछि विस्तारै निजगढ नगरपालिकामा खसीबाख्रा पालन फस्टाउन थालेको निजगढ ७ मन्डारी टोल बस्ने रामहरि खरेलले बताए । खसीको मूल्य सोचेभन्दा धेरै महँगो भएकाले खाली हात नै घर फर्किन थालेको उनले बताए ।

‘माग बढेपछि खसी महंगो भएको हो,’ उनले भने, ‘कतिपय बेला बिचौलियाको बदमासीले सर्वसाधारण महँगीको भार खेप्नु पर्छ ।’ व्यापारीले मात्र खसीको भाउ उच्च बनाइदिएको उनले गुनासो गरे । पशुपालन क्षेत्रमा यहाँका पशुपालक आत्मनिर्भर बन्न थालेपछि उनीहरूलाई थप ऊर्जावान बनाउन निजगढ नगरपालिकाले सघाउन थालेको छ ।

निजगढबासीको आम्दानीको मुख्य स्रोत पशुपालन बन्न थालेपछि त्यसको संरक्षण गर्न नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले बताए । ‘पशुपालक किसानका लागि विशेष अनुदान रकम छुट्याएको छ,’ उनले भने, ‘यहाँका पशुपालकले नगपालिकाबाट सहयोग पाउने छन् ।’

प्रकाशित : भाद्र ७, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?