कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

१० वर्ष कर मिनाहा गर्न माग

जनकपुर — जनकपुरधाम उप–महानगरपालिकामा सडक विस्तारका क्रममा भत्काइएका घरजग्गाको लगत कट्टा गरी क्षतिपूर्तिस्वरूप १० वर्षका लागि घर तथा सम्पत्ति कर मिनाहा गर्न कांग्रेसले माग गरेको छ ।

१० वर्ष कर मिनाहा गर्न माग

कांग्रेस जनकपुर उप–महानगरपालिका नगर कार्य समितिले मेयर लालकिशोर साहलाई ज्ञापनपत्र बुझाउँदै उपमहानगरपालिकाले गरेको मूल्य वृद्धि लगायत अन्य शीर्षकमा वृद्धि गरेको करका साथै नयाँ शीर्षकमा लगाइएको सरसफाइ कर, पार्किङ कर, सम्पत्ति कर, घर कर तत्काल खारेज गर्न माग गरेको छ ।

सडक विस्तारले जग्गा र घरमा स्थानीयले क्षति व्यहोर्नु परेकाले राहत स्वरूप १० वर्षसम्म कर मिनाहा गरी नयाँ कर हटाउन माग गरिएको कांग्रेसका नगर सभापति मनोजकुमार साहले बताए । घर र जग्गा सडकमा परेकाहरू समस्यामा परेका छन्, सभापति साहले भने, ‘सडकमा परेको जग्गाको समेत कर बुझाउनु पर्दा नगरबासी समस्यामा छन् । सडकमा परेको जग्गाको लगत कट्टा गरी कर मिनाहा गरेर सहुलियत दिनुपर्ने हाम्रो प्रमुख माग हो ।’ कांग्रेसले ७ दिने अल्टिमेट सहित ज्ञापनपत्र बुझाउँदै जनकपुर उपमहानगरको प्रमुख समस्या फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट तत्काल आरम्भ गर्न माग गरेको छ ।

स्थानीय शासन ऐन र नियमावली अनुसार उपमहानगरपालिका सञ्चालन गर्नुपर्ने माग गर्दै उपमहानगरमा प्रक्रिया पूरा नगरी मनोमानी ढंगले नियुक्त गरिएका कर्मचारीको नियुक्ति खारेज गरी नियमानुसार विज्ञापन गरी भर्ना गर्नुपर्ने, २५ वडाको पहुँच पुग्ने गरी प्रत्येक ग्रामीण वडालाई मुख्य सडकबाट जोडने ३० मिटर चौडाइ बाह्य चक्रपथ निर्माण अगाडि बढाउनुपर्ने माग गरेको छ ।

यसअघि पनि ज्ञापनपत्र बुझाएर मेयरको ध्यानाकर्षण गराएको तर व्यवहारमा लागू नभएकाले पुन: ज्ञापनपत्र बुझाएर स्मरण गराएको र ७ दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने कांग्रेस जनकपुर नगर समितिले चेतावनी दिएको छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?