१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजमार्गमै पार्किङ ठेक्का

पवन यादव

सिमरा — देशकै प्रमुख रामजमार्गका रूपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैयामा राजमार्गमै पार्किङ गर्न जितपुर सिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको छ ।

राजमार्गमै पार्किङ ठेक्का

यही साउन महिनादेखि लागू हुने गरी उपमहानगरपालिकाले प्रतिस्पर्धाका आधारमा पथलैया निवासी अरूणराज कंसकारलाई १० लाखमा ठेक्का दिएको छ ।

राजमार्गमा २४ घण्टा सवारी साधन पार्किङ गरेवापत ठेकेदारले रसिद दिएरै प्रतिसवारी २५ रुपैयाँको दरले शुल्क उठाउँदै आएको छ । दैनिक सयभन्दा बढीको संख्यामा ट्रक, बस, ट्याङकर लगायतका सवारी रामर्गमै पार्किङ गर्ने गरिएको ठेकेदार कंसकारले बताए ।

‘दिनमा २५ सयदेखि ३ हजार रुपैयाँ पार्किङ शुल्क उठाउछौं,’ उनले भने, ‘पथलैया क्षेत्रको सबै स्थलमा हामीले पार्किङ शुल्क उठाउन पाउछौं ।’

केही दिनदेखि भाडा नपाएर एउटै ट्रक १० दिनदेखि राजमार्गमै रोकिएको उनले जनाए । ‘राजमार्गमा पार्किङ शुल्क असुल्न मिल्दैन मलाई पनि थाहा छ, तर पथलैयामा पार्किङ स्थल नै छैन,’ उनले भने, ‘ठेक्कामा लगाइसकेको रकम त उठाउनै पर्‍यो नि ?’ पटकपटक उपमहानगरपालिकालाई पार्किङस्थल किटान गरी देखाउन ताकेदा गर्दा पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

उनका अनुसार ठेक्का सम्झौतापत्रमा पार्किङस्थल किटान गरिएको छैन । पूरै पथलैया क्षेत्रबाट पार्किङ शुल्क उठाउन भनिएको छ । अतिव्यस्त उक्त राजमार्ग अहिले फराकिलो बनाई ६ लेनको सडक बनाउने काम भइरहेको स्थानीयले बताए । निर्माणाधीन अवस्थामा रहेको उक्त खण्डमा सवारी साधन प्रवेशमा ठेकेदारले रोक लगाउदा पनि सवारी चालकले जबर्जस्ती पार्किङ गर्ने गरेको स्थानीयले बताए ।

सवारी साधन व्यवस्थापन पश्च्यात फराकिलो देखिएको जनकपुरको भानुचोक । तस्बिर : कान्तिपुर

‘ठेकेदार कर्मचारीले लगाएको छेकबार पन्छाएर चालकले उक्त क्षेत्रमा सवारी राख्छन्,’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने, ‘निर्माणाधीन स्थलमा सवारी पस्दा बनेको संरचना समेत बिग्रिने गरेको छ ।’ जथाभावी सवारी पार्किङ र संरचना बिगार्ने सवारीलाई सम्बन्धित निकायले कारवाही नगर्दा चालक र गाडी धनीको मनोबल बढदै गएको आरोप उनले लगाए ।

राजमार्गमा जथाभावी सवारी पार्किङ गर्न नपाइने प्रदेश ट्राफिक प्रहरी कार्यालयल प्रदेश २ पथलैयाकी प्रमुख एसपी किरण बज्राचार्यले बताइन् ।

राजमार्गमा सवारी पार्किङ गर्न उपमहानगरपालिकाले ठेक्का लगाएको विषयमा उनले अनभिज्ञता प्रकट गरिन् । ‘अतिव्यस्त राजमार्गमा सवारी पार्किङ गर्न ठेक्का लगाउन पाइँदैन,’ उनले भनिन्, ‘यदि यस्तो भएको रै’छ भने त्यो कार्य बिलकुल गलत हो ।’ ट्राफिक प्रहरीले राजमार्गमा सवारी पार्किङ गर्न नदिने र त्यसो गरेमा कानुनबमोजिम कारबाही गर्ने उनले दाबी गरिन् ।

जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख मेयर कृष्ण पौडेलले रामार्गमा ठेक्का लगाएको हो/होइन भन्ने बारे बोल्न चाहेनन् । ‘ठेक्का लगाइएको पथलैया क्षेत्रको पार्किङ व्यवस्थापन गर्छांै,’ उनले दोहोर्‍याए, ‘पार्किङ व्यवस्थापन गर्दै छौं ।’ पार्किङ व्यवस्थापन हुन्छ । अरू कुरा नसोध्नुस् भन्दै उनी पन्छिए ।

प्रदेश २ कै प्रमुख औद्योगिक करिडोर पथलैया–वीरगन्ज सडक खण्डको मुल सडकमै जथाभावी मालवाहक सवारी साधन पार्किङ गर्ने गरेको समाचार कान्तिपुरमा प्रकाशित भएपछि ट्राफिक प्रहरीले कडाइ गरेको थियो ।

उक्त खण्डअन्तर्गत बाराको पथलैयादेखी वीरगन्जसम्म मूल सडकमै दायाँबायाँ मालवाहक सवारी साधन पार्किङ गर्ने गरिएको छ । यसरी गरिएको जथाभावी पार्किङले सवारी साधन तथा पैदल यात्रीको आवागमनमा समेत अवरोध पुर्‍याउने गरेको स्थानीयले बताए ।

यस क्षेत्रमा रहेका ग्यास उद्योग, स्टिल उद्योग लगायत करिडोरका उद्योगमा कच्चा पदार्थ बोकेर आएका ट्रक, ग्यास बोकेर आएको ट्याङकर यसरीनै मूल सडकमै जथाभावी पार्किङ गर्ने गरिएका छन् । पथलैयामा ट्रान्सपोर्ट कम्पनी सञ्चालन गर्नेहरूको लहरै छ ।

उनीहरूले जबर्जस्ती सडकमै ढुवानीका साधन पार्किङ गराउने गरेको स्थानीयले आरोप लगाए ।

व्यवस्थापनमा ट्राफिक प्रहरी सक्रिय

जनकपुर (कास)– ट्राफिक प्रहरी कार्यालय धनुषाले नगर क्षेत्रमा विद्यमान पार्किङ व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ । अभियानअन्तर्गत हाल भानुचौक, रेल्वेस्टेसन तथा मिल्स एरियामा व्यवस्थित पार्किङ तथा छाडा गाई गोरु नियन्त्रण सुरु गरेको छ ।

एसियन विकास बैंकको सहयोगमा जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरको मुख्य सडकसँगै परिक्रमा सडक विस्तार जारी छ । भानुचोक–शिवचोक, जानकी मन्दिर सडक निर्माणाधीन अवस्थामा रहे पनि परिक्रमा सडक भने लगभग तयार भइसकेको छ ।

यसरी झन्डै ५५ फिट चौडाइको नयाँ सडकको दुवै किनारमा बस, जिप, ट्रिपर, अटो रिक्सा, मोटरसाइकल लगायतका सवारी साधन यत्र–तत्र पार्किङ गर्न थालिएपछि ट्रफिक कार्यालयलाई यो अभियान सञ्चालन गर्नुपरेको हो । ट्राफिक प्रमुख प्रहरी निरीक्षक दीपक साहका अनुसार पहिलो चरणमा निर्माण सम्पन्न भएको परिक्रमा सडकमा सवारी पार्किङ, छाडा गाई गोरु नियन्त्रण तथा सडकमै राखिएका निर्माण सामग्रीको व्यवस्थापन सुरु गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालयले हालसम्म ४५ छाडा गाई, गोरु, भैंसी काञ्जी हाउसमा राखेको छ । यथाभावी पार्किङका कारण साँघुरो देखिएको भानुचोक, मिल्स एरिया अचेल फराकिलो देखिएको छ । भानुचोकका पसले राजु भगतका अनुसार सवारी साधन व्यवस्थापनसँगै सवारी दुर्घटनामा पनि कमी आएको छ । प्रहरी निरीक्षक साहले ट्राफिक व्यवस्थापनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?