कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बगाउने डरले राति सुत्दैनन्

शिव पुरी

बसतपुर (रौतहट) — राजदेवी नगरपालिका ३ चण्डियाका ६८ वर्षीय गणेश साहको परिवार राम्ररी सुत्न नपाएको एक साताभन्दा बढी भइसक्यो । बागमती नदीमा पानीको सतह बढेपछि उनीहरूको निद्रा हराएको हो ।

बगाउने डरले राति सुत्दैनन्

त्यस क्षेत्रमा नदीले कटान गरिरहेको छ । यसअघि बाढीको पीडा व्यहोरिसकेका साह परिवारलाई आकाशमा कालो बादल लाग्नासाथ चिन्ता बढ्छ ।

केही दिनयता चुरे क्षेत्रमा परेको पानीले बागमती नदीमा बाढी आएपछि त्यस क्षेत्रमा स्थानीयमा त्रास बढेको हो । बागमतीको बाँधको डिलमुनि साहको सानो झुपडी छ । बुधबार उनी त्यहींमाथि बसेर टोलाइरहेका थिए । ‘यसको कुनै भर छैन, उनले भने, ‘ठूलो बाढी आयो भने बाँध समेत भत्काउने डर छ ।’

बतसपुर क्षेत्रमा नदीले कटान गर्दै बाँध नजिक आउन थालेपछि चण्डिया लगायत त्यस क्षेत्रका स्थानीयमा त्रास बढेको हो । २०५० मा बाग्मतीमा आएको बाढीले घरखेत बगाएपछि बाँधमा उनको परिवारले कष्टकर जीवन बिताउँदै आएका छन । बाढीले चण्डिया गाउँका झन्डै ६ सय घर बगाएको थियो । बाढीपछि निकै कष्टले जीवन बिताउनु परेको साहले सुनाए ।

बागमतीमा आउने बाढीबाट हुने धनजनको क्षति रोक्न जल उत्पन्न प्रकोप विभाग ८ नम्बर डिभिजनका माध्यमबाट भारत सरकारको सहयोगमा ४४ किलोमिटर बाँध निर्माण गरिएको थियो । बाँध निकै पुरानो र जीर्ण भइसकेको छ । केही स्थानमा बाँध भत्किएको छ । यसको सामान्य मर्मत हुन सकेको छैन । बाढीपछि त्यस क्षेत्रका झन्डै २ सय घरधुरी बाँधको आडैमा घर बनाई २५ वर्षदेखि बसेका छन् ।

अहिले त्यस क्षेत्रको कटान रोक्न अस्थायी स्पर बनाउन गाउँले नै लागिपरेका छन् । हरेक वर्ष यसरी नै त्रासमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय अकलु साहले बताए । ‘एकपटक बाढीको पीडा व्यहोरिसकेका हौं,’ उनले भने, ‘सधैं डरत्रासमा बस्नुपर्ने यो कस्तो नियति हो । बाढीका बेला सधैं जाग्राम बस्नुपर्ने ।’

अधिकांशको खेत बागमतीले कटान गरेको थियो । अहिले नदीले धार परिवर्तन गरेपछि खेत पारि परेको छ । उनीहरू डुंगाको मद्दतले वारपार गर्छन् । बाढीका बेला त्यो पनि बन्द हुन्छ । कहिलेकाहीं भनेका बेला खेतमा पुग्न सक्दैनन् । चुरे क्षेत्रमा सामान्य पानी पर्‍यो भने पनि बागमतीमा सहत बढ्ने गर्छ । पछिल्लो साता राजदेवी नगरपालिका लगायतको क्षेत्रको जमिन कटान गर्न थालेपछि स्थानीय डराएका हुन् ।

अस्थायी स्परको भर
केही दिनअघि बागमती नदीमा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान हुन थालेपछि नगरपालिकाको पहलमा तटबन्धको काम सुरु भएको छ । कटानको सीमा बाँध नजिक पुग्न थालेपछि जोखिम बढदै गएको छ । कटान रोक्न राजदेवी नगरपालिकाले बोरामा माटो हाल्दै अस्थायी स्पर निर्माण गरिरहेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट १५ हजार र नगरपालिकाको विपद् व्यवस्थापन समितिबाट ३० हजार गरी ४५ हजार बोरामा बालुवा, माटोभरि नाइनलको जालीभित्र राखेर झन्डै १० वटा अस्थायी स्पर निर्माण गरिरहेको मेयर धिरेन्द्र प्रसाद सिंहले बताए । ‘हामीले अस्थायी रूपमै भए पनि खतरा टार्न कटान क्षेत्रमा बोरा राखेका छौं,’ उनले भने, ‘यसबाट केही राहत हुन्छ । धेरै क्षति हुन र कटानबाट जोगाउन सकिन्छ होला ।’ त्यस क्षेत्रमा बाँसको बेरा लगाइएको छ । यसले कटान रोक्न थप मद्दत पुग्छ । बागमतीमा बनाइएको दुइटा स्परको बीच भागमा रहेको करिब २० बिघा जग्गा कटान गरिसकेको छ ।

यस्तो अवस्थामा कटान रोक्न प्रत्येक २० मिटरको दूरीमा १० वटा स्पर निर्माणको काम भइरहेको छ । नदी नियन्त्रणका लागि नगरपालिकाबाट ३० लाख छुट्याइएको छ । यो रकमबाट अस्थायी स्पर निर्माण गरिने नगरपालिकाले जनायो । नदीले कटरवन, गडहिया, बसतपुर, ब्रह्मपुरी, मुडवलवा लगायतका गाउँ नजिकको खेतीयोग्य जग्गामा लगाएको उखु, धान, बाँस, केरा लगायतको खेती कटान गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नदीले कटान गरिरहेको क्षेत्रमा नगरपालिकासँग समन्वय गरी अस्थायी रूपमा स्पर निर्माण युद्धस्तरमा भइरहेको जनाए ।

केही दिनअघि बागमतीमा पानीको सतह बढेको भन्दै स्थानीयले खबर गरेपछि प्रजिअ रिजाल आफैं स्थलगत पुगेका थिए । नदीले कटान गरी बाँध नजिकसम्म ल्याउन थालेपछि उनले तत्कालै नियन्त्रणको प्रयास थालेका हुन् । त्यसका लागि जलउत्पन्न प्रकोप विभागलाई समेत नियन्त्रणका लागि अनुरोध गरेका थिए ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?