नारा मात्रै गतिलो

विकास, समृद्धि र जनचेतनासँग जोडिएका नारा ल्याए पनि गतिहीन अवस्थामा सरकार
अजित तिवारी

जनकपुर — मुख्यमन्त्री मोहमम्द लालबाबु राउतले सत्ताको बागडोर सम्हालेको १० दिनमै सरकारको प्राथमिकता तोक्दै केही गतिला नारा सार्वजनिक गरे । प्रदेश २ को विकास, समृद्धि र जनचेतनासँग जोडिएका कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष फितलो हुँदा प्रभावकारी हुन सकेको छैनन् ।

‘बेटी पढाऊ, बेटी बचाऊ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’, ‘जनतासँग मुख्यमन्त्री’, ‘प्रदेश प्रमुख नैतिक शिक्षा अभियान’, ‘चुरे जोगाऔं, मधेस बचाऔं’, ‘मुख्यमन्त्री ग्रामीण सडक आयोजना’ र ‘हर खेतमे पानी, हर हातमे काम’ लगायतका लोकप्रिय नारा ल्याएको प्रदेश सरकारले यी सबै मामिलामा काम अगाडि बढाउन सकेको छैन ।

सरकार गठन भएको ६ महिनायता दुईपटक नीति तथा कार्यक्रम र बजेट ल्याइसके पनि कामको गति भने सुस्त छ । आव ०७४/७५ मा सानो अवधिका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कार्यान्वयन नहुँदै आव ०७५/७६ का लागि बृहत् नीति तथा कार्यक्रम सार्वजनिक गरियो । व्यावहारिक पाटोमै अल्झिएको प्रदेश सरकारले जनतालाई राहत हुने काम गर्न नसकेकोमा आलोचना बढेको छ ।

Yamaha

जनकपुरका प्राध्यापक सुरेन्द्र लाभ प्रदेश सरकारले नारा गतिलो ल्याए पनि काम गर्न नसकेको आरोप लगाउँछन् । ‘भारतका राम्राराम्रा नारा प्रदेश सरकारले कपी त गर्‍यो तर काम गर्न सकेन,’ लाभले भने, ‘सरकार व्यावहारिक झमेलामै अल्झिएजस्तो देखिन्छ ।’

मन्त्री बने लगत्तै आफ्नै गृहजिल्ला धाउन्ने प्रवृत्ति प्रदेशका मन्त्रीहरूमा छ । ‘सरकारको कामलाई लिएर सरकारकै मन्त्रीहरूबीच एकरूपता देखिन्न,’ एक उच्च सरकारी अधिकारीले भने, ‘मन्त्रीजीहरू आफ्नै जिल्लामा हराउने, मन्त्रालय पनि पूरै सिस्टममा नआइसकेकाले सरकारको डेलिभरी नदेखिएको हो ।’ सरकारले पनि आफूले ल्याएको नीति र नारा आफैंले बिर्सिदा पनि जनताले प्रदेश सरकारको अनुभूति गर्न सकेको छैनन् ।

प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममा नै मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ अभियानलाई सशक्त ढंगले अगाडि बढाउने घोषणा गरेको थियो । मुख्यमन्त्रीको कार्यालयमा उप–सचिवको नेतृत्वमा उक्त अभियानका लागि समिति गठन गरिएको छ । निम्न आय भएका परिवारमा जन्मिने छोरीको शिक्षाको निरन्तरतालाई कायम राख्न यो अभियानअन्तर्गत शिक्षा बिमा गरिने नीति छ । तर, हालसम्म कुनै विद्यार्थीको शिक्षा बिमा गरिएको छैन ।

स्कुलभन्दा टाढा घर भएका कक्षा ९ र १० मा अध्यनरत छोरीलाई स्कुल जानका लागि साइकल वितरण गरिने योजना अभियानमा समेटिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार करिब ८ सय साइकल खरिदका लागि प्रक्रिया अगाडि बढाइएको छ । प्रदेशको ८ वटै जिल्लाका विद्यार्थीलाई साइकल वितरण गर्ने प्रदेश सरकारको योजना छ । त्यसका लागि सरकारले केही एफएम–रेडियोमा सन्देशमूलक सूचनाबाहेक अन्य काम गरेकै छैन ।

यस्तै, योग पद्धतिलाई शिक्षाको अभिन्न अङ्ग बनाउन सरकारले ‘प्रदेश प्रमुख नैतिक शिक्षा अभियान’ थाल्ने घोषणा गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो नारा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले वाचन गरेका थिए । शैक्षिक संस्थामा क्रमश: लागू गर्दै विद्यार्थीको शारीरिक एवं मानसिक विकासमा जोड दिने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

चुरे बिनाशको बढी असर भोगिरहेको प्रदेश २ को मधेसको भूभागलाई जोगाउन ‘चुरे जोगाऔं, मधेस बचाऔं’ अभियान थाल्ने घोषणा गरेको पनि महिनौं बितिसकेको छ । तर, चुरे क्षेत्रमा प्रदेश सरकारले दोहन रोकथाम गर्न प्रभावकारी अभियान थालेको छैन । बजेटमा चुरे क्षेत्रमा इनार खन्ने योजना सरकारले ल्याएको छ ।

फोहोरमैला व्यवस्थापन र प्लास्टिक मुक्तलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास तथा जनचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने कार्यक्रम सरकारले ल्यायो । तर, प्रदेशकै केन्द्र जनकपुरधाम दुर्गन्धित छ । सामुदायिक संघ, संस्था तथा नागरिक समाजको सहभागितामा हराभारा स्वच्छ प्रदेश कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिइने सरकारको नीति छ ।

त्यही नीतिअन्तर्गत औद्योगिक क्षेत्रबाट प्रदूषित हुने नदीनालाको स्वच्छताका लागि प्रदूषित गर्ने उद्योगलाई कारबाही गरिने सरकारले घोषणा गरे पनि धनुषाकै दुधमती नदीमा एभरेस्ट सुगर मिलले बगाएको प्रदूषित पानीले त्यस भेगका जनता आजित छन् । बारा–पर्सा औद्योगिक करिडोरका उद्योगले पनि त्यो क्षेत्रमा प्रदूषण बढेको छ ।

दुई वा दुईभन्दा बढी स्थानीयतह तथा प्रत्येक स्थानीय तहको केन्द्रलाई जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण, विस्तार, स्तरोन्नति, मर्मतसम्भार तथा आवश्यक पर्ने पुल–पुलेसा निर्माण गरी प्रदेश तथा स्थानीय तहमा सामाजिक–आर्थिक क्रियाकलापलाई गतिशील बनाउन मुख्यमन्त्री ग्रामीण सडक आयोजना पनि सरकारले ल्यायो । तर, स्थानीय तह र प्रदेश सरकारबीच अधिकारलाई लिएर चुलिएको मतभेदले यो काम पनि अगाडि बढ्न सकेको छैन ।

प्रदेश सरकारले खेतीयोग्य जग्गामा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराउन ‘हर खेतमे पानी, हर हातमे काम’ भन्ने नाराका साथ प्रदेशस्तरीय अभियान सञ्चालन गरिने घोषणा गर्‍यो । तर, धान रोपाइँकै सिजनमा अकासे पानीको भर पर्दा किसानले यसपालि पनि रोपाइँ ढिलो गरेका छन् ।

प्रकाशित : भाद्र ९, २०७५ १०:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सीमा क्षेत्रमा भारतीय कुखुरा तस्करी

शिव पुरी

रौतहट — भारतीय सीमा क्षेत्रबाट कुखुराको तस्करी बढेको छ । मोटरसाइकल, साइकलमा खुद्रे तस्करले भारतीय कुखुरा नेपाल भित्र्याउने गरेका हुन् । उनीहरूले बिहान र बेलुकीको समयमा कुखुराको तस्करी गर्दै आएका छन् ।

रौतहटको हरसाहमा मोटरसाइकलमा झुन्ड्याएर बिक्रीका लागि भारतीय कुखुरा लैजाँदै स्थानीय व्यापारी । तस्बिर : शिव

नेपालमाभन्दा सस्तो पर्ने हुँदा स्थानीय व्यापारीले भारतीय कुखुरा खरिद गर्दै आएका हुन् । उनीहरू निर्वाधरूपमा सीमा पारिबाट कुखुरा ल्याउँछन् । भारतबाट जिउँदो कुखुरा ५०/६० रुपैयाँ (नेपाली एक सय) तिरेर ल्याउँछन् । सीमापारि नेपालभन्दा झन्डै दोब्बर सस्तो पर्ने रौतहट कुखुरा व्यवसायी संघका अध्यक्ष रामविनोद पाण्डेले बताए ।

‘सीमा क्षेत्रमा भारतीय कुखुराको तस्करी बढेको प्रहरीलाई पटकपटक जानकारी गराएका हांै,’ उनले भने, ‘अहिलेसम्म नियन्त्रण गर्न कुनै पहल भएको छैन । २/४ पिस ल्याउँदैमा के फरक पर्छ र ? भनेर सुरक्षाकर्मी पन्छिन खोज्छन् ।’ जिल्ला कुखुरा व्यवसायी संघको बैठकमा यही कुराको बढी चर्चा हुने गरेको पाण्डेले सुनाए । जिल्लाको रामपुरखाप, ईशनाथ, बंकुल नाकाबाट कुखुराको तस्करी बढी हुने गरेको छ । संघका अनुसार रौतहटमा जिउँदो कुखुरा प्रतिकिलो २ सय ५० देखि २ सय ७० रुपैयाँसम्म पर्छ ।

यहाँको अनुपातमा भारतमा निकै सस्तो हुने हँुदा सीमा क्षेत्रका व्यापारीले पारिबाट ल्याउने गरेका हुन् । त्यसरी ल्याइने कुखुरा यहाँ ३ सय प्रतिकेजीसम्मा बिक्री हुने गरेको छ । डुमरियादेखि दक्षिणी भेगमा भारतीय कुखुराको बिगबिगी रहेको अध्यक्ष पाण्डेले बताए । ‘उत्तरी भेगमा त्यति भित्र्याउन सकेको छैनन्,’ उनले भने, ‘दक्षिण भेगमा बढ्दो छ । यसले स्थानीय कुखुरा व्यवसायीलाई मार परेको छ ।’ जिल्लामा एक दिनमा ४/५ ट्रकसम्म कुखुरा खपत हुने गरेको पाण्डेको भनाइ छ ।

यही बिहीबार सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका ४ स्थित चोकमा भारतबाट अवैध रूपमा साइकलमा लोड गरी ल्याउँदै गरेका १२ वटा अन्दाजी २५ किलो कुखुरा बरामद गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले सीमा क्षेत्रबाट हुने कुनै पनि तस्करी रोक्ने प्रयास भइरहेको बताए । ‘मैले कुखुरा होस् वा अन्य अबैध सामान बिनाभन्सार निकासी हुन नदिन निर्देशन दिएको छु,’ उनले भने, ‘भारतीय कुखुराको तस्करी पूर्णरूपले बन्द भएको छ । लुकीछिपी गरेको भए रोक्छांै ।’ उनले सीमा क्षेत्रका प्रहरी युनिटहरूलाई कुनै पनि सामान तस्करी हुनबाट रोक्न निर्देशन दिएको जनाए । सशस्त्र प्रहरीको सीमा क्षेत्रमा तैनाथ पोस्ट र नेपाल प्रहरीले भारतीय चल्ला र कुखुरा बरामद गर्दै आएको दाबी गरेको छ ।

सीमा पारिबाट भित्रिने कुखुरामा विभिन्न खाले रोग हुन सक्ने भन्दै कुखुरा व्यवसायी संघले चिन्ता व्यक्त गरेका छन् । भारतमा पटकपटक बर्डफलु रोग देखिने हुनाले संघले भारतीय कुखुराको मासु नखान अनुरोध गरेको छ । स्थानीय व्यापारीलाई समेत बिक्री वितरण नगर्न संघले अनुरोध गर्दै आएको छ । व्यापारीले मुनाफा हेरी बिक्री गर्न थालेको संघले जनायो ।

कुखुरालाई झुन्ड्याइन्छ कुनै पनि पन्छीलाई मोटरसाइकल वा साइकलमा झुन्ड्याएर यातना हुने गरी लैजान नपाइने प्रावधान रहेको छ । पशु अधिकार नियमावलीमा उल्लेख भए अनुसार एक ठाउँबाट अर्को ठाउँमा लैजान पशु पन्छीलाई सुविधासम्पन्न गाडी हुनुपर्छ । तर स्थानीय व्यापारीले कुखुरालाई मोटरसाइकलको पछाडि र लेगार्डमा झुन्ड्याएर यातना दिँदै ओसारपसार गर्दै आएका छन् ।

संघका अध्यक्ष पाण्डेले यातना दिएर कुखुरा लगायका पन्छीलाई ओसारपसार गर्न नपाइने बताउँछन् । ‘हामीले नीति नियम बाहिर गएर यस्ता काम नगर्न भन्दै आएका छौं,’ उनले भने, ‘स्थानीय कुखुरा व्यवसायी साथीहरूले मान्नु हुन्न ।

सधैं यस्तै गरी झुन्ड्याएर कुखुरा बिक्रीका लागि ल्याउनुहुन्छ ।’ यसरी झुन्ड्याइएर कुखुराको ओसारपसार गर्नु दण्डनीय हुन्छ । पशु अधिकारकर्मीले यसको विरोध जनाए पनि व्यवसायीले बेवास्ता गर्दै आएका छन् ।

प्रकाशित : भाद्र ९, २०७५ १०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT