सीमा क्षेत्रमा भारतीय कुखुरा तस्करी

शिव पुरी

रौतहट — भारतीय सीमा क्षेत्रबाट कुखुराको तस्करी बढेको छ । मोटरसाइकल, साइकलमा खुद्रे तस्करले भारतीय कुखुरा नेपाल भित्र्याउने गरेका हुन् । उनीहरूले बिहान र बेलुकीको समयमा कुखुराको तस्करी गर्दै आएका छन् ।

रौतहटको हरसाहमा मोटरसाइकलमा झुन्ड्याएर बिक्रीका लागि भारतीय कुखुरा लैजाँदै स्थानीय व्यापारी । तस्बिर : शिव

नेपालमाभन्दा सस्तो पर्ने हुँदा स्थानीय व्यापारीले भारतीय कुखुरा खरिद गर्दै आएका हुन् । उनीहरू निर्वाधरूपमा सीमा पारिबाट कुखुरा ल्याउँछन् । भारतबाट जिउँदो कुखुरा ५०/६० रुपैयाँ (नेपाली एक सय) तिरेर ल्याउँछन् । सीमापारि नेपालभन्दा झन्डै दोब्बर सस्तो पर्ने रौतहट कुखुरा व्यवसायी संघका अध्यक्ष रामविनोद पाण्डेले बताए ।

‘सीमा क्षेत्रमा भारतीय कुखुराको तस्करी बढेको प्रहरीलाई पटकपटक जानकारी गराएका हांै,’ उनले भने, ‘अहिलेसम्म नियन्त्रण गर्न कुनै पहल भएको छैन । २/४ पिस ल्याउँदैमा के फरक पर्छ र ? भनेर सुरक्षाकर्मी पन्छिन खोज्छन् ।’ जिल्ला कुखुरा व्यवसायी संघको बैठकमा यही कुराको बढी चर्चा हुने गरेको पाण्डेले सुनाए । जिल्लाको रामपुरखाप, ईशनाथ, बंकुल नाकाबाट कुखुराको तस्करी बढी हुने गरेको छ । संघका अनुसार रौतहटमा जिउँदो कुखुरा प्रतिकिलो २ सय ५० देखि २ सय ७० रुपैयाँसम्म पर्छ ।

Yamaha

यहाँको अनुपातमा भारतमा निकै सस्तो हुने हँुदा सीमा क्षेत्रका व्यापारीले पारिबाट ल्याउने गरेका हुन् । त्यसरी ल्याइने कुखुरा यहाँ ३ सय प्रतिकेजीसम्मा बिक्री हुने गरेको छ । डुमरियादेखि दक्षिणी भेगमा भारतीय कुखुराको बिगबिगी रहेको अध्यक्ष पाण्डेले बताए । ‘उत्तरी भेगमा त्यति भित्र्याउन सकेको छैनन्,’ उनले भने, ‘दक्षिण भेगमा बढ्दो छ । यसले स्थानीय कुखुरा व्यवसायीलाई मार परेको छ ।’ जिल्लामा एक दिनमा ४/५ ट्रकसम्म कुखुरा खपत हुने गरेको पाण्डेको भनाइ छ ।

यही बिहीबार सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका ४ स्थित चोकमा भारतबाट अवैध रूपमा साइकलमा लोड गरी ल्याउँदै गरेका १२ वटा अन्दाजी २५ किलो कुखुरा बरामद गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले सीमा क्षेत्रबाट हुने कुनै पनि तस्करी रोक्ने प्रयास भइरहेको बताए । ‘मैले कुखुरा होस् वा अन्य अबैध सामान बिनाभन्सार निकासी हुन नदिन निर्देशन दिएको छु,’ उनले भने, ‘भारतीय कुखुराको तस्करी पूर्णरूपले बन्द भएको छ । लुकीछिपी गरेको भए रोक्छांै ।’ उनले सीमा क्षेत्रका प्रहरी युनिटहरूलाई कुनै पनि सामान तस्करी हुनबाट रोक्न निर्देशन दिएको जनाए । सशस्त्र प्रहरीको सीमा क्षेत्रमा तैनाथ पोस्ट र नेपाल प्रहरीले भारतीय चल्ला र कुखुरा बरामद गर्दै आएको दाबी गरेको छ ।

सीमा पारिबाट भित्रिने कुखुरामा विभिन्न खाले रोग हुन सक्ने भन्दै कुखुरा व्यवसायी संघले चिन्ता व्यक्त गरेका छन् । भारतमा पटकपटक बर्डफलु रोग देखिने हुनाले संघले भारतीय कुखुराको मासु नखान अनुरोध गरेको छ । स्थानीय व्यापारीलाई समेत बिक्री वितरण नगर्न संघले अनुरोध गर्दै आएको छ । व्यापारीले मुनाफा हेरी बिक्री गर्न थालेको संघले जनायो ।

कुखुरालाई झुन्ड्याइन्छ कुनै पनि पन्छीलाई मोटरसाइकल वा साइकलमा झुन्ड्याएर यातना हुने गरी लैजान नपाइने प्रावधान रहेको छ । पशु अधिकार नियमावलीमा उल्लेख भए अनुसार एक ठाउँबाट अर्को ठाउँमा लैजान पशु पन्छीलाई सुविधासम्पन्न गाडी हुनुपर्छ । तर स्थानीय व्यापारीले कुखुरालाई मोटरसाइकलको पछाडि र लेगार्डमा झुन्ड्याएर यातना दिँदै ओसारपसार गर्दै आएका छन् ।

संघका अध्यक्ष पाण्डेले यातना दिएर कुखुरा लगायका पन्छीलाई ओसारपसार गर्न नपाइने बताउँछन् । ‘हामीले नीति नियम बाहिर गएर यस्ता काम नगर्न भन्दै आएका छौं,’ उनले भने, ‘स्थानीय कुखुरा व्यवसायी साथीहरूले मान्नु हुन्न ।

सधैं यस्तै गरी झुन्ड्याएर कुखुरा बिक्रीका लागि ल्याउनुहुन्छ ।’ यसरी झुन्ड्याइएर कुखुराको ओसारपसार गर्नु दण्डनीय हुन्छ । पशु अधिकारकर्मीले यसको विरोध जनाए पनि व्यवसायीले बेवास्ता गर्दै आएका छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र ९, २०७५ १०:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रासायनिक मलको अभाव

कान्तिपुर संवाददाता

सर्लाही — धान गोडमेल गरेर मल छर्ने मुख्य समयमा नै सर्लाहीमा रासायनिक मलको अभाव भएको छ । मल अभावकै कारण उत्पादन घट्ने चिन्ता किसानमा छ ।

सर्लाहीमा धान गोड्दै किसान । राशायनिक मलको अभाव भएपछि यो वर्ष धान फस्टाउन सकेको छैन । तस्बिर : कान्तिपुर

कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो । धान खेतमा गोडमेल गरेर मल छर्ने मुख्य सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड मलंगवा शाखामा ३ हजार ९ सय बोरा मात्र युरिया मल छ । ती सबै मल जिल्लाको ९० वटा सहकारीलाई भाग लगाएर वितरण भइरहेको कम्पनीका शाखा प्रमुख ब्रजमणि लामाले जानकारी दिए ।

जिल्लामा ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

उक्त धान खेतका लागि मासिक ५ सय टन मलको आवश्यक रहेको लामाको भनाइ छ । ‘धान खेतको मुख्य सिजन हो, यस सिजनमा मासिक ५ सय टन मलको माग छ,’ उनले भने, ‘मागअनुसारको आपूर्ति हुन नसक्दा मल अभाव भएको हो ।’ सहकारीको नाममा व्यापारीहरूले कृषि सामग्री कम्पनीमा थोरै मात्रामा रहेको मल उठाउन थालेपछि मलमा कालोबजारी हुन थालेको छ ।

किसानका लागि ल्याइएको अनुदानित मल कृषि सामग्रीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो । तर सहकारीमार्फत आपूर्ति गरिने मल समेत व्यापारीकहाँ पुग्न थालेको छ ।

कम्पनीमा ७ सय ६५ रुपैयाँ पर्ने ५० केजीको एक बोरा युरिया मल किसानले स्थानीय व्यापारीसँग १ हजार ५ सयदेखि २ हजार सम्ममा खरिद गरिरहेका छन् । धानमा मल छर्नुपर्ने मुख्य समय भएकाले जति महँगो व्यापारीले दिए पनि मल छर्नुपर्ने बाध्यता किसानको छ ।

किसानका लागि ल्याइएको अनुदानको मल वितरण गर्ने सहकारी संस्थामा मल नपाउने गरेको किसानको भनाइ छ । ‘सहकारी संस्थामा जाँदा मल छैन भन्छ, व्यापारीले पनि सुरुमा मल छैन भन्छ पछि एक बोराको १ हजार ५ सय पर्छ भन्छ ।’ स्थानीय किसान नरेश रायले भने, ‘के गर्नु विकल्प छैन धान खेतमा मल हाल्नै पर्‍यो नभए उत्पादन घट्छ ।’

मलको सहज उपलब्धता नभएका कारण किसान समस्यामा परेका छन् । उनीहरू बढी मूल्य तिरेर भए पनि मल खरिद गरिरहेका छन् ।

एक बिघा धान खेतमा ५० किलो युरिया, ५० किलो डीएपी मलको आवश्यक रहे पनि मल नपाउँदा किसान छटपटिमा परेका हुन् । मलको सहजताका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार पनि कुनै वास्ता नगरेको किसानको गुनासो छ । ‘कृषिप्रधान देश र कृषि प्रधान प्रदेश भनिएको छ तर किसानले कुनै सुविधा पाएको छैन ।’ हरिपुर– ३ फरहदवाका किसान राम परिजन महतोले भने, ‘हामी मलका लागि छटपटाइरहेका छौं सरकार मुकदर्शक भएर बसिरहेको छ ।’

किसानका लागि आउने मल सहकारीमा नपाउनु, व्यापारीले बढी मूल्यमा मल बिक्री गर्दा पनि कम्पनीका कर्मचारी मौन बस्नुमा उनीहरूको संलग्नता रहेको किसानको आरोप छ । शाखा प्रमुख लामाले आफ्नो एकल प्रयासले मात्र मलको कालोबजारी रोक्न नसकिने बताए ।

प्रकाशित : भाद्र ९, २०७५ १०:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT