१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रासायनिक मलको अभाव

सर्लाही — धान गोडमेल गरेर मल छर्ने मुख्य समयमा नै सर्लाहीमा रासायनिक मलको अभाव भएको छ । मल अभावकै कारण उत्पादन घट्ने चिन्ता किसानमा छ ।

रासायनिक मलको अभाव

कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो । धान खेतमा गोडमेल गरेर मल छर्ने मुख्य सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड मलंगवा शाखामा ३ हजार ९ सय बोरा मात्र युरिया मल छ । ती सबै मल जिल्लाको ९० वटा सहकारीलाई भाग लगाएर वितरण भइरहेको कम्पनीका शाखा प्रमुख ब्रजमणि लामाले जानकारी दिए ।

जिल्लामा ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

उक्त धान खेतका लागि मासिक ५ सय टन मलको आवश्यक रहेको लामाको भनाइ छ । ‘धान खेतको मुख्य सिजन हो, यस सिजनमा मासिक ५ सय टन मलको माग छ,’ उनले भने, ‘मागअनुसारको आपूर्ति हुन नसक्दा मल अभाव भएको हो ।’ सहकारीको नाममा व्यापारीहरूले कृषि सामग्री कम्पनीमा थोरै मात्रामा रहेको मल उठाउन थालेपछि मलमा कालोबजारी हुन थालेको छ ।

किसानका लागि ल्याइएको अनुदानित मल कृषि सामग्रीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो । तर सहकारीमार्फत आपूर्ति गरिने मल समेत व्यापारीकहाँ पुग्न थालेको छ ।

कम्पनीमा ७ सय ६५ रुपैयाँ पर्ने ५० केजीको एक बोरा युरिया मल किसानले स्थानीय व्यापारीसँग १ हजार ५ सयदेखि २ हजार सम्ममा खरिद गरिरहेका छन् । धानमा मल छर्नुपर्ने मुख्य समय भएकाले जति महँगो व्यापारीले दिए पनि मल छर्नुपर्ने बाध्यता किसानको छ ।

किसानका लागि ल्याइएको अनुदानको मल वितरण गर्ने सहकारी संस्थामा मल नपाउने गरेको किसानको भनाइ छ । ‘सहकारी संस्थामा जाँदा मल छैन भन्छ, व्यापारीले पनि सुरुमा मल छैन भन्छ पछि एक बोराको १ हजार ५ सय पर्छ भन्छ ।’ स्थानीय किसान नरेश रायले भने, ‘के गर्नु विकल्प छैन धान खेतमा मल हाल्नै पर्‍यो नभए उत्पादन घट्छ ।’

मलको सहज उपलब्धता नभएका कारण किसान समस्यामा परेका छन् । उनीहरू बढी मूल्य तिरेर भए पनि मल खरिद गरिरहेका छन् ।

एक बिघा धान खेतमा ५० किलो युरिया, ५० किलो डीएपी मलको आवश्यक रहे पनि मल नपाउँदा किसान छटपटिमा परेका हुन् । मलको सहजताका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार पनि कुनै वास्ता नगरेको किसानको गुनासो छ । ‘कृषिप्रधान देश र कृषि प्रधान प्रदेश भनिएको छ तर किसानले कुनै सुविधा पाएको छैन ।’ हरिपुर– ३ फरहदवाका किसान राम परिजन महतोले भने, ‘हामी मलका लागि छटपटाइरहेका छौं सरकार मुकदर्शक भएर बसिरहेको छ ।’

किसानका लागि आउने मल सहकारीमा नपाउनु, व्यापारीले बढी मूल्यमा मल बिक्री गर्दा पनि कम्पनीका कर्मचारी मौन बस्नुमा उनीहरूको संलग्नता रहेको किसानको आरोप छ । शाखा प्रमुख लामाले आफ्नो एकल प्रयासले मात्र मलको कालोबजारी रोक्न नसकिने बताए ।

प्रकाशित : भाद्र ९, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?