२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वीरगञ्जमा समावेशी हवन

शंकर आचार्य

पर्सा — सामान्यतया हवन आदि धार्मिक कार्यमा पुरेत/ब्राह्मणले कर्ताका रूपमा ब्राह्मणलाई नै राख्छन् । यसरी कर्ता ब्राह्मण राख्दा पनि कतिपय पुजन विधि र कार्य पुरेत आफैंले गरेर ब्राह्मण कर्ताप्रति पनि अविश्वास देखाउँछन् ।

वीरगञ्जमा समावेशी हवन

तर वीरगन्जमा शुक्रबार सम्पन्न एक धार्मिक अनुष्ठानमा ब्राह्मण, जनजाति, मधेसीसँगै बसेर कर्ताका रूपमा हवन सम्पन्न गरे । उनीहरूले छुवाछूत, विभेद र धर्मकर्म माथिको ब्राह्मण/पुरेतहरूको वर्चश्वलाई तोड्ने गतिलो सन्देश दिएका छन् । अझ हवनका कर्ता केवल पुरुष मात्र हुने परम्परालाई पनि चुनौती दिँदै २ महिला समेत सहभागी भए ।

सन्दर्भ थियो आन्तरिक राजस्व कार्यालय वीरगन्जको नयाँ भवनको पूजा । नवनिर्मित भवनमा कार्यालय सार्नका लागि उक्त भवनको पूजा गर्नुपर्ने भएकाले शुक्रबारको साइत पारेर भवनको पूजा गरिएको थियो ।

पुरेतले भवन पूजाको सामान्य विधि गरेपछि भने हवन आदिको अन्य विधिका कर्ताहरू ९ जनाको समावेशी टोलीले आफैं गर्‍यो । ‘सबै पुरेत, सबै कर्ता’ भनिएको हवनमा प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपिकृष्ण कोइराला, उनकी पत्नी गायत्री, मदन खडगी, जुलुम खडगी, संजु नेवा, रामचन्द्र ठाकुर, प्रह्लाद कर्ण, दिनेश आचार्य, रामप्रसाद ढुंगाना कर्ताका रूपमा सहभागी भए । यीमध्ये खडगी र नेवा जनजाति नेवार हुन् । कोइराला, आचार्य र ढुंगाना उपाध्याय ब्राह्मण हुन् भने ठाकुर र कर्ण गैरब्राह्मण मधेसी हुन् ।

बिहान साढे ८ बजे सुरु भएको हवन मध्याह्न साढे १२ बजेसम्म लगातार ४ घण्टा चल्यो । सबैले हवनकुण्ड वरिपरि बसी एकै विधिबाट मन्त्रोच्चारण समेत गरी आफैं कर्ता र आफैं पुरेतको भूमिका खेले । प्रमुख राजस्व अनुसन्धान अधिकृत कोइरालाले ब्राह्मणहरूको मात्र पेवाका रूपमा राखिएको धार्मिक विधि तथा अनुष्ठानलाई समयक्रम अनुसार अन्य जातजातिमा पनि बिस्तार हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले समावेशी पूजन विधि गरिएको बताए ।

‘पूजापाठ, त्यसमा पनि हवन विधि ब्राह्मणहरूको पेवाका रूपमा रहँदै आएको छ,’ उनले भने, ‘त्यसो हुनु भएन, म आफैं पनि उपाध्याय ब्राह्मण कुलमा जन्मेको हुँ, वेदको ज्ञानको लाभ गैरब्राह्मणले पनि पाउनुपर्छ, जन्मिदा सबै शुद्र हुन्छन्, पछि कर्मले ब्राह्मण हुने हो, जन्मले ब्राह्मण कोही हुँदैन ।’

भगवानका लागि सबै बराबर हुन् र महिला पुरुष बराबर हुन् भन्ने सन्देश पनि आफूहरूले दिन चाहेको उनले बताए । ‘भगवानले ब्राह्मणका लागि एक थरी र दलितका लागि अर्को थरी पूजन विधि पनि तोकेका छैनन्, त्यसैगरी पुरुष र महिलामा पनि विभेद छैन,’ उनले भने, ‘जातीय संरचना, लिंग, वर्ण र भेदभावको पर्खाल समाजले निर्माण गरेको हो, छुवाछूतको कुनै तुक छैन ।’

अर्का कर्ता जुलुम खडगीले यसरी समावेशी हवनमा सरिक हुन पाउँदा खुसी व्यक्त गरे । ‘यो अत्यन्त राम्रो प्रयास हो,’ उनले भने, ‘पहाडी ब्राह्मण, जनजाति नेवार र गैर ब्राह्मण मधेसी एउटै हवनमा सामूहिक कर्ता बन्नु आफैंमा दुर्लभ संयोग हो ।’ त्यसैगरी अर्का कर्ता रामचन्द्र ठाकुरले शुक्रबारको हवनमा सहभागी हुँदा छुट्टै आनन्द आएको बताए । ‘हवनले तन र मनको शान्ति दिन्छ, त्यसमाथि आजको हवन छुट्टै खाले थियो,’ उनले भने, ‘अत्यन्त सुखद अनुभूति भयो, बिस्तारै परम्परा र कुरीतिहरू यसरी नै परिवर्तन हुँदै जान्छन् ।’

महिला कर्ता सन्जु नेवाले कुनै समय आफ्नो शरीर चल्न नसक्ने अवस्थामा पुगी सकेकोमा पछिल्लो समय धर्मकर्म र ईश्वर माथिको विश्वासलेनै आफू हिँडडुल गर्न सक्ने भएको बताइन् । ‘धर्म र आस्थाको दायरामा कुनै जात जाति वर्गविशेष मात्र आउँदैन,’ उनले भनिन्, ‘ईश्वर सबैका हुन्, ईश्वरका लागि सबै बराबर हुन् ।’

प्रकाशित : भाद्र ९, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?