किसानले सडकमै फाले तरकारी

सर्लाही — तरकारी बजारमा बिक्री नभएपछि किसानले पूर्व–पश्चिम राजमार्गमा फालेर विरोध गरेका छन् । सर्लाहीको लालबन्दीका किसानले बिक्री नभएको तरकारी राजमार्गमै फाल्दा शनिबार झन्डै ४५ मिनेट सडक जाम भएको थियो ।

किसानले सडकमै फाले तरकारी

किसानलाई सडकबाट हटाउन प्रहरीले लाठी चार्ज समेत गरेको थियो । तरकारीले मूल्य नपाएको भन्दै लालबन्दी बजारमा तरकारी लिएर आएका विभिन्न ठाउँका किसानले बिहीबार पनि राजमार्ग बन्द गराएका थिए ।

राजमार्ग छेउछाउका किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । आम्दानीको मुख्य स्रोत तरकारी नै भएकाले घर ब्यवहार चलाउन समस्या भएको किसानको भनाई छ । दुई दिन अघिसम्म प्रतिकिलो १०/१२ रुपैयाँमा बिक्री भएको घिरौला शनिबार दुई रुपैयाँमा बिक्री गर्न तयार हुँदा समेत व्यापारीले खरिद नगरेको किसानको गुनासो छ । ‘एक–दुई रुपैयाँ जति दिनुहुन्छ, दिनुस् भन्दा पनि व्यापारीले किनेनन् ।’ स्थानीय किसान पुनित रायले भने, ‘दु:ख गरेर फलाएको तरकारी बिक्री नहुँदा घर व्यवहार चलाउन समस्या भएको छ ।’

व्यापारीको मिलेमतोका कारण तरकारीले उचित मूल्य नपाएको किसानको आरोप छ । तर व्यापारीहरूले भने अन्य ठाउँमा निकासी गर्दै आएको भन्दा बढी तरकारी बजार आएकाले किन्न नसकिएको बताएका छन् । ‘हामीले निकासी गर्ने भन्दा निकै बढी तरकारी आएको छ ।’ व्यापारी राकेश ढुंगेलले भने, ‘माग नै कम छ, यो अवस्थामा चाहिनेभन्दा बढी तरकारी किनेर हामीले पनि कता पठाउनु ?’ मागभन्दा उत्पादन बढी भएकाले घिरौला, झिंङनी, पर्वल, लौका, बोडी लगायतका तरकारीको भाउ सस्तो भएको व्यापारीको भनाइ छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?