२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दाइजोले सवारी दुर्घटनामा वृद्धि

रवीन्द्र उप्रेती

वर्दिवास (महोत्तरी) — सामाजिक विकृति र कानुनको बर्खिलाप मानिएको दाइजो प्रथा केही समयदेखि ‘दुर्घटनाको कारण’ समेत बन्दै गएको सुन्दा अचम्म लाग्न सक्छ ।

दाइजोले सवारी दुर्घटनामा वृद्धि

सडक र सवारी नियमनमा लामो अनुभव बटुलेका ट्राफिक प्रहरीको भनाइ मान्ने हो भने हालका दिनमा दाइजो प्रथा माइती पक्ष, कानुन र सभ्य समाजका लागि मात्र नभई ट्राफिकका लागि समेत समस्या बनेको छ ।

बर्दिवासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार सडकको अवस्था, यान्त्रिक गडबडी, मौसम, लापरबाही जस्ता दुर्घटनाका विभिन्न कारण हुन्छन् । तर केही समययता दुर्घटनाको संख्या बढनुको नयाँ कारणमा दाइजो प्रथासमेत थपिएको घटनाक्रमले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख डिल्ली मैनाली त दाइजोको नाममा लेनदेन बन्द हुने हो भने दुर्घटनमा उल्लेख्य कमी आउने तर्क गर्छन् ।

कार्यालयका अनुसार आव ०७४/७५ मा जिल्लामा ८७ सवारी दुर्घटना भए । दुर्घटनामा परेका सवारीमा मोटरसाइकलको संख्या ५० थियो । त्यसमध्ये अधिकांश मोटरसाइकल दाइजोमा परेको देखिन्थे ।

सवारी नियम उल्लंघन गर्ने र दुर्घटनामा पर्ने मोटरसाइकल दाइजोकै भएको कुनै आधिकारिक प्रमाण पाइँदैन । तर घटनाक्रम र सोधपुछबाट यस्तो रहस्य खुलेको ट्राफिकले जनाएको छ । कानुनी प्रक्रियाका लागि दुर्घटनास्थल पुगेका ट्राफिक प्रहरीका अनुसार सोधपुछ गर्दा दुर्घटनामा परेका अधिकांश मोटरसाइकल दाइजोमा पाएको चालकले सहजै स्वीकार्छन् ।

ससुरालीले दिएपछि बेहुला आफैं तथा उनका आफन्त जानि नजानी मोटरसाइकल हुँइक्याउन थाल्छन् । उनीहरूमा न चलाउने दक्षता हुन्छ न सवारी नियमको जानकारी । चालक अनुमति पत्र (लाइसेन्स) हुने त कुरै भएन । ‘ससुरालीले दाइजो पो (मोटरसाइकल) दिन्छ लाइसेन्स दिन सक्दैन,’ ट्राफिक प्रमुख मैनालीले थपे, ‘अनि जथाभावी कुदाउने, ठोकाउने, न लडनुपर्ने ठाउँमा पनि लडेर दुर्घटना गराउनेमा यस्तै मोटरसाइकल बढी पाइएको छ ।’

जिल्ला ट्राफिक प्रहरी सागर दयालीका अनुसार सवारी नियम उल्लंघन गर्नेमा पनि यस्तै मोटरसाइकलको संख्या बढी देखिन्छ । उनका अनुसार आव ०७४/७५ मा ८ हजरा २ सय ६१ मोटरसाइकल कारबाहीमा परेका थिए । यी मोटरसाइकलबाट ५६ लाख ६० हजार जरिवाना असुल भएको थियो । सोधपुछका क्रममा अधिकांशले ससुरालीबाट पाएको बताएका थिए । यसरी कारबाहीमा परेका कतिपयले जरिवाना तिर्न पनि श्रीमतीमार्फत ससुरालीमा दबाब दिएको जनाइएको छ ।

कारबाहीमा परेका मोटरसाइकलले दुईभन्दा बढी चढनु र चढाउनु उनीहरूका लागि सामान्य हो । ‘हेलमेट पनि लगाएका हुँदैनन्,’ ट्राफिक हवल्दार गणेश यादवले सवारी नियमनमा दाइजोले पारेको विकृति सुनाए ‘किन नलगाएको ? भन्दा ससुरालीले मोटरसाइकल मात्र दियो हेलमेट दिए पो लगाउनु भनी ओठे जवाफ फर्काउँछन् ।’

ट्राफिक प्रमुख मैनालीका अनुसार आव ०७४/७५ मा दुर्घटना बढने कारण सवारी संख्या बढनु पनि हो । आव ०७३/७४ मा महोत्तरीमा ७४ दुर्घटनामा २९ को मृत्यु भएको थियो । त्यो बढेर आव ०७४/७५ मा ८७ दुर्घटनामा ४४ जनाको ज्यान गुमाए ।‘कारण बर्सेनि लगनका बेला सवारी संख्या हवात्तै बढने गरेको छ,’ मैनालीले भने, ‘दाइजो रोक्न सके अस्वाभाविक रूपमा सवारी संख्या बढने थिएन र दुर्घटना र सवारी नियम उल्लंघनका घटना पनि बढने थिएनन् ।’

जिल्लाका मोटारसाइकल सोरुमले विवाह लगनको महिनामा बढी मोटरसाइकल बिक्री हुने गरेको जनाएको छ । सदरमुकाम जलेश्वरमा विभिन्न उत्पादन कम्पनीका आधादर्जनभन्दा बढी सोरुम छन् । ती सोरुमबाट लगनको समयमा हजारभन्दा बढी मोटरसाइकल बिक्री भएको जनाइएको छ । बजाज सोरुमका सुनिल राउतका अनुसार उनको सोरुमाबाट वैशाख र असारको लगनमा २ सय ५० जति मोटरसाइलक बिक्री भएको थियो ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?