नगरपालिका नामकरण विवाद : एक महिनादेखि तालाबन्दी

जनकपुर — धनुषाको नगराइन नगरपालिकामा एक महिनासम्म तालाबन्दी भएपछि कार्यालयको काम प्रभावित भएको छ ।

नगरपालिका नामकरण विवाद : एक महिनादेखि तालाबन्दी

नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्र नारायण निधि राख्न खोजिएपछि नगराइन नगरपालिकामा एक महिनादेखि तालाबन्दी भएको हो ।

नगरपालिकाका प्रमुख प्रमेश्वर यादव, उपप्रमुख रञ्जु कुमारी साहसहित ५ वडाका अध्यक्षले कांग्रेस नेता स्वर्गीय महेन्द्रनरायण निधिको नाममा नगरपालिकाको नामकरण गर्न खोजेका थिए । नगरपालिकाका ९ वडामध्ये ५ वडा र प्रमुख तथा उपप्रमुख कांग्रेसले जितेको छ । नेकपाबाट विजयी भएका ४ जना वडाध्यक्षले नगरपालिकामा तालाबन्दी गरेका हुन् । साउन ११ गतेदेखि नगरपालिकाको मुल गेटमा लगाइएको ताला खुल्न सकेको छैन । तालाबन्दीका कारण नगरपालिकाको दैनिक कार्य प्रभावित भएको छ ।

कर्मचारीहरू कार्यालय बाहिरै सादा कागजमा हाजिरी गरी घर फर्किन्छन् । लामो समयदेखि कार्यालय बन्द भएपछि नगरसभाबाट पारित गरिएका योजनाको कार्यान्वयन हुन नसकेको नगराइन नगरपालिकाका प्रशासकीय प्रमुख रामकुमार महतोले बताए । वडा कार्यालयको काम ठप्प नभएको हुँदा सेवाग्राहीको काम प्रभावित भएको छैन, प्रमुख महतोले भने, ‘ताला नखुल्दा कार्यालयको कार्यसम्पादन, नगरको वार्षिक आर्थिक विवरण, लेखा परीक्षण, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनसहितको कामकाज प्रभावित भएको छ ।’

तालाबन्दी गरेका वडा अध्यक्षहरूले नगरपालिकाको नाम परिवर्तन गर्ने नै भए पञ्चायतकालका कांग्रेसकै अभियन्ता सहिद दुर्गानन्द झाको नाममा नामकरण गर्न माग गरेका छन् । नगरपालिकामा तालाबन्दी भएर काम ठप्प भएका बेला नगरपालिकाका प्रशासकीय अधिकृत महतोको सरुवा भएको छ ।

झन्डै एक महिनादेखि नगरपालिकामा तालाबन्दी भए पनि तालाबन्दी खोली कार्यालय सञ्चालन गर्न नगर प्रमुख परमेश्वर यादवले कुनै पहल गरेका छैनन् । प्रमुख यादवले ताला खोलाउने विषयमा प्रयास गरे पनि खुल्न नसकेको बताए । विपक्षीहरू अदालतसम्म पुगेकाले स्थानीय स्तरमा छलफलको वातावरण नबनेको उनले भने ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?