धार्मिक पर्यटन बन्दै रामभौरी भाठा

भूषण यादव

वीरगन्ज — पहाड वरिपरि घना जंगल । छेउमै बगिरहेको खोला । पहाडमाथि श्री दुग्धेश्वर महादेवको मन्दिर । मन्दिरसम्म पुग्न निर्माण गरिएका तीन सयभन्दा बढी सिँढी ।

पर्साको रामभौरी भाठास्थित दुग्धेश्वर महादेव मन्दिरमा दर्शनका लागि आएका दर्शनार्थी । पछिल्लो समय रामभौरी भाठा जिल्लाकै धार्मिक पर्यटकीय स्थलको रूपमा प्रख्यात बनेको छ ।तस्बिर : भूषण

महादेवको दर्शनसँगै पहाडबाट देखिने मनोरम दृश्यले जोकोहीको मन पनि प्रफुल्ल बनाउँछ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको रामभौरी भाठास्थित दुग्धेश्वर महादेवको मन्दिरमा यस वर्षको साउन महिनामा ठूलो संख्यामा भक्तजनहरू दर्शन गर्न आए ।

वीरगन्जबाट ४५ किलोमिटर पश्चिम र उत्तरको कुनामा पर्ने दुग्धेश्वर महादेवलाई जल अर्पण गर्न साउन महिनामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । खोलाको बगर र घाँसे चउरमा एक महिनासम्म मेला लाग्ने गरेको छ । टाढाबाट आएका दर्शनार्थी राति धर्मशाला र खोलाको बगरमा त्रिपाल ओछ्याएर बास बस्छन् । भोलिपल्ट बिहान खोलामा नुहाएर जल लिई महादेवलाई चढाउँछन् ।

मेला समितिका अनुसार यसपालिको मेलामा नेपाल र भारतका करिब २० लाख दर्शनार्थीले दुग्धेश्वर महादेवको दर्शन गरेका छन् । साइकल, मोटरसाइकल, टयाक्टर, जिप र बसलगायतका सवारी साधनमा दर्शनार्थी आएका थिए । पर्सा, बारा लगायत भारतको विहार, उत्तर प्रदेश र झारखण्ड राज्यबाट दर्शनार्थी साउन महिनामा महादेवलाई जल चढाउन आउने गर्छन् । मेलाका लागि सोनवर्षादेखि करिब १२ किलोमिटर सडकको खाल्डाखुल्डी भरिएको अध्यक्षले बिगा चौधरीले बताए ।

‘पुर्खौंदेखि लाग्दै आएको मेलामा जनविश्वास बढदै गएको छ,’ पचगावाका प्रमोद यादव भन्छन्, ‘भक्तजनको मनोकामना पूरा भएपछि मन्दिर परिषरमा अष्ठजाम, भजन, कीर्तन, कथावचन गराउने चलन रहिआएको छ ।’ मेला समितिका अध्यक्ष बिगा चौधरीका अनुसार तत्कालीन राजा सुरेन्द्र वीरविक्रम शाह भ्रमणमा आएका बेला दुग्धेश्वर महादेव चर्चामा आएको जानकारी दिए ।

०४० मा आरक्ष गठन भएपछि उक्त क्षेत्र आरक्षमा गाभियो । ‘दिनप्रतिदिन प्रख्याति कमाउन थालेपछि १२ किलोमिटर घना जंगल छिछोलेर भए पनि श्रद्धालु महादेव दर्शन गर्न आउँछन्,’ अध्यक्ष चौधरीले भने, ‘०५७ सालको साउनदेखि काँवरिया आउन थाले ।’

०६३ सालमा जिल्ला प्रशासन कार्यालयमा दुग्धेश्वर महादेवको नामले ९ सदस्यीय मन्दिर निर्माण तथा संरक्षण समिति गठन भएको मेला समितिका सचिव गणेश पन्जियार थारूले बताए । उनका अनुसार ०६४ जेठ २२ मा समाज कल्याण परिषद काठमाडौंबाट आबद्धता पत्र समेत प्राप्त भयो । ‘साउन महिनाभरि, माघ पञ्चमी, शिवरात्रि र वैशाखका दिन भक्तजन जल चढाउन आउने गरेका छन्,’ उनले भने, तर, पछिल्लो समय पर्सा वन्यजन्तु आरक्ष निकुञ्जमा परिणत भएपछि महादेव दर्शन र मेला सञ्चालनमा कठिनाइ आएको छ । जंगली जनावरको संरक्षणका लागि ०६७ सालमा रामभौरी भाठाबाट सरकारले स्थानीयको बस्ती सारेको थियो ।

गत वैशाखदेखि पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत दुग्धेश्वर महादेव मन्दिर लगायतको क्षेत्र गाभिएपछि साउने मेला ढिला सञ्चालनमा आएको थियो । सुरुमा मेलालाई निषेध गर्दै आएको निकुञ्जले साउनको तिथिअनुसार मेला सञ्चालनको मौखिक सहमति दिएको थियो । ध्वनि प्रदूषण, होहल्ला तथा वन्यजन्तुलाई नजिस्काउन, जानवरलाई असर गर्ने कुनै क्रियाकलाप नगर्ने, मानवीय क्षति हुन नदिन सचेत गराएको थियो । ‘निकुञ्ज घोषणा भएपछि यसपालि मेला सञ्चालनमा रोक लगाइयो,’ सचिव थारू भन्छन्, ‘दर्शन गरी फर्किने भक्तजनले जानावरलाई कुनै क्षति गर्दैनन् ।’

दुग्धेश्वर महादेवको स्वामित्वमा रहेको क्षेत्रलाई निकुञ्ज मातहतबाट हटाउने पहल गरिने उनले बताए । धार्मिक पर्यटनका हिसाबले जिल्लाकै प्रमुख स्थललाई निकुञ्जमा गाभिएको छ, उनले भने ।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बिरामीको चाप थेग्न हम्मे

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
कान्तिपुर संवाददाता

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्ष साँघुरिएर बिरामीको चाप थेग्न सकेको छैन । अर्कोतिर सबै आन्तरिक प्रक्रिया पूरा गरेर इमर्जेन्सी कक्ष विस्तारका लागि खुला जमिनमा भवन निर्माणका लागि जग खन्दा खन्दै ‘माथिको’ आदेश भनेर रोकियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीका चाप । तस्बिर : प्रदीप

इमर्जेन्सी विभागका चिकित्सक, नर्स र कर्मचारीहरूले ‘जग खन्दाखन्दै किन बीचैमा अचानक रोकियो’ भनेर अस्पताल प्रमुख, प्रतिष्ठान व्यवस्थापन पक्ष, उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कक्ष घेराउ गरे । चार पदाधिकारीको जवाफ आयो, ‘माथिको आदेशमा रोकिएको हो ।’

स्वास्थ्य मन्त्रालयको आदेशले रोकिएको स्रोतले जनाएको छ । सर्वसाधारणका लागि बन्न लागेको इमर्जेन्सी कक्ष रोक्ने मौखिक आदेशलाई कतिपयले प्रतिष्ठान स्वायत्त हुँदाहुँदै पनि स्वास्थ्य मन्त्रालयबाट हचुवाका भरमा हस्तक्षेप भएको बताएका छन् ।

दैनिक करिव २५ जना आउने अढाइ दशकअघिको बिरामीको चापलाई ध्यानमा राखेर डिजाइन गरिएको प्रतिष्ठानको हालको इमर्जेन्सी कक्ष तीनपटक विस्तार गर्दा पनि मुस्किलले ५० देखि ६० जनालाई मात्र उपचार गर्न सकिन्छ । तर बिरामीको चाप दैनिक १ सय ५० बढी छ । चिकित्सक, नर्स, कर्मचारी, बिरामी, बिरामीका कुरुवा, सुरक्षा गार्ड, प्रहरी, ट्रली, बेड एकसाथ चलायमान हुँदा एकापसमै ठोकिएर जाम हुन्छ ।

पाँच वर्षदेखि इमर्जेन्सी कक्ष विस्तारको माग गर्दै आएका प्रतिष्ठानका बरिष्ठ इमर्जेन्सी मेडिसिन चिकित्सक प्राडा ज्ञानेन्द्र मल्लले निराश हुँदै भने, ‘हामीलाई त केही छैन तर इमर्जेन्सीमा उपचारका लागि आउने सर्वसाधारण बिरामीहरू यो प्रतिष्ठानको नामले आउँछन् । धनीमानी, हुनेखानेहरू अन्तै महँगोमा जान्छन् । ती सर्वसाधारणकाको उपचार सहज होस् भनेर इमर्जेन्सी कक्ष विस्तार गर्न लागेको मात्र के थियौं, माथिको आदेशमा रोकी पो दिए । यस्तो पनि हुन्छ कतै ?’

उनले प्रतिष्ठानको नयाँ बनाउन लागेको इमर्जेन्सी कक्ष आन्तरिक स्रोतबाट थप ४० बेडको बनाउने भनेर सिनेट बैठकबाटै पारित गरिसकिएको बताए । सिनेटबाट पारित भएपछि २ करोड ४० लाख लागत इस्टिमेटमा हालकै इमर्जेन्सी कक्षसंगै जोडिएको खुला जमिनमा थप इमर्जेन्सी कक्ष विस्तार गर्न लागिएको थियो । तर प्रष्ठिानको विषयमा छानबिन भइरहेको बहाना बनाएर सिस्टमलाई पूरै विगार्न इमर्जेन्सी कक्ष विस्तार गर्न नदिएको आरोप डा. मल्लले लगाए । उनले भने, ‘टर्सरी सेन्टरका रूपमा विकास भएको प्रतिष्ठानको इमर्जेन्सीमा १५ जना कन्सल्ट्यान्ट चिकित्सक स्टेनवाइ हुन्छन् ।’

तर एकैपटक कम्तीमा डेढ सय जना बिरामीको उपचार गर्न सहज होस् भनेर इमर्जेन्सी विस्तार गर्न लागेको हो । यति धेरै कन्सल्ट्यान्ट चिकित्सक भएको इमर्जेन्सी नेपालको कुनै अस्पतालमा छ भने देखाउन् ।’ उनले काम रोक्न आदेश दिने माथिका भनिएकाहरूलाई प्रतिष्ठानको इमर्जेन्सी कक्षको हालत हेर्न आउन पनि अनुरोध गरे ।

इमर्जेन्सी कक्षसँगै अब्जर्भेसन कक्ष समेत प्रतिष्ठानमा नभएकाले उपचार सेवा दिनदिनै प्रभावित भएको गुनासो गरे । उनले भने, ‘पहिले इमर्जेन्सी कक्षसँगै अब्जर्भेसन कक्ष थियो । तर त्यसलाई दुई वर्षअघि एसआईसीयूमा परिणत गरेपछि अव्जर्भेसनमा राख्नुपर्ने बिरामीलाई जता पायो त्यही भुइँमा, ट्रलिमा, करिडोरमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।’

आकस्मिक कक्ष अभावसँगै जनशक्तिको अभावका कारण पनि ढिलाइ हुने गरेको छ । कम्तीमा ३५ जना चिकित्सकले हेर्नु पर्नेमा आधामात्र जनशक्तिले हेर्नु परेको अवस्था छ । प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएका बिरामी बचाउन बैज्ञानिक र आधुनिक उपचार पद्धति मानिएको ‘अस्ट्रेलेसियस ट्रियाज स्कोर सिस्टम’ लागू गरिएको छ । उक्त पद्धतिअनुसार जो गम्भीर बिरामी वा घाइते छ उसलाई पहिलो प्राथमिकतामा राखिन्छ । अन्य अस्पतालमा जो अगाडि ल्याइयो उसैलाई पहिले उपचार सेवा दिने परम्परागत प्रणाली छ ।

आकस्मिक कक्षमा उपचारका लागि ल्याइने बिरामीको चाप थेग्नका लागि विभागले तत्कालका लागि कम्तीमा ५० शय्या विस्तार गर्दै सोहीअनुसार चिकित्सक र नर्सको व्यवस्था हुनुपर्ने प्रस्ताव राख्दै आएका आधारमा आकस्मिक कक्ष विस्तारको काम सुरु भएको थियो ।

उनले भने, ‘आकस्मिक कक्षलाई सय शय्याको बनाएर सोहीअनुसार उपकरण र जनशक्तिको व्यवस्था भएमा जेनतेन थेग्न सकिन्छ । नत्र दक्ष र सुविधा सम्पन्न हुँदाहँुदै पनि तनावमा उपचार गर्दा गुणस्तरीय सेवा दिन सकिन्न भनेर काम सुरु भयो, तर पहिलो गाँसमा ढुंगा लाग्यो ।’

हालको आकस्मिक कक्षले पूर्वमा रहेका अञ्चल र जिल्ला अस्पताल, नर्सिङ होम, क्लिनिकहरूले रिफर गरेका बिरामीको चाप थेग्न सकेको छैन । चाप बढेपछि प्रतिष्ठानले आन्तरिक स्रोत र निर्णयअनुसार थप शय्या राख्नका लागि भवन निर्माण र विस्तार गर्न लागेकै दिन रोक्का गर्ने मौखिक आदेश आएको थियो । अब बन्ने हो कि नबन्ने हो कुनै टुंगो नभएको डा. मल्लले बताए ।

प्रतिष्ठानका इमर्जेन्सी विभागका सिनियर कन्लस्ट्यान्ट डा. सरोज गिरीले भने, ‘यो साँघुरो इमर्जेन्सी कक्षमा कहिलेसम्म भुइँमा, ट्रलिमा र करिडोरमा राखेर सिकिस्त बिरामीको उपचार गर्ने ? यसरी उपचार गर्दा प्रभावकारी पनि हुन्न । यति कुरो त बुझ्न् पर्ने हो आदेश दिनेहरूले पनि ।’

प्रतिष्ठानको आकस्मिक कक्ष मुलुककै सवैभन्दा ठूलो मानिन्छ । ठूलो र सुविधासम्पन्न भनिएको आकस्मिक कक्षमा पुर्‍याउनासाथ चिकित्सक र नर्सले उपचार गुरून् भन्ने सवै बिरामी र तिनका आफन्तले आशा गर्ने गरेका हुन्छन् । तर बिरामीको चाप अत्यधिक भएपछि बिरामी कुरुवासँगै चिकित्सक र नर्सहरू नै अलमलिन बाध्य भएका छन् ।

बन्न लागेको इमर्जेन्सी कक्षको भवन निर्माण सुरु गर्दा गर्दै रोकिएका बारेमा प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले दुईचार दिनका लागि रोक्न जानकारी आएकाले रोकेको बताए । उनले भने, ‘बिरामीको चाप थेग्न नसकेरै थप ४० शय्याको कक्ष विस्तार गर्न लागिएको हो । लामो समय काम रोकिन्न । केही दिनपछि फेरि सुरु गर्छौं ।’

प्रकाशित : भाद्र १०, २०७५ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT