२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मुख्यमन्त्रीकै घर अगाडिको सडकको बिजोग

‘मुख्य मन्त्रीले आफैं सडक बनाउने होइन, स्थानीय तहले बनाइदिने हो, हेरौं हामीले अझै कति दिन कुर्नुपर्ने हो’
शंकर आचार्य

पर्सा — सामान्यतया मन्त्री वा अन्य भीभीआईपीहरूको नियुक्तिसँगै उनीहरूको घर वरपरको सुरक्षा, सार्वजनिक सुविधा वृद्धि गर्ने चलन जस्तै भए पनि २ नम्बर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतको हकमा यस्तो यो चलन दोहोरिएको छैन ।

मुख्यमन्त्रीकै घर अगाडिको सडकको बिजोग

उनको वीरगन्ज महानगर १३ तेजारथटोलस्थित घर जाने बाटोको हालत अझै पनि दयनीय छ । महानगरको मुख्य सडक जोडिएर उनको घरतर्फ पश्चिम जाने सडकको अवस्था उनी मुख्य मन्त्री बनेको लामै समय भइसक्दा पनि सुधार त के सुधारको सामान्य प्रयास समेत गरिएको छैन ।

विगतमा कालोपत्रे रहेको यो सडक गत वर्ष एसियाली विकास बैंकको सहयोगमा महानगरमा सञ्चालित परियोजनाको कारण पावरहाउसदेखि अदालतसम्मको सडक अवरूद्ध भएपछि बैकल्पिक सडकका रूपमा प्रयोग गरिएको थियो । त्यसपछि यो सडक झनै जीर्ण बन्न पुग्यो ।

हाल परियोजनाको काम सम्पन्न भएपछि बैकल्पिक रूपमा प्रयोग गरिएको यो सडकको मर्मतसम्भारसम्मको काम पनि परियोजनाका ठेकेदारले गरिदिएनन् । महानगरमा पनि जनप्रतिनिधि आइसक्दा पनि एकपटक हल्का ग्राभेल छर्ने बाहेक सडकको स्तरोन्नति काम महानगरपालिकाको कार्यालयले गर्न सकेको छैन ।

मुख्यमन्त्री राउत र मेयर बिजय कुमार सरावगी संघीय समाजवादी फोरम नेपाल पार्टीबाटै विजयी भएका हुन् । स्वयं मुख्यमन्त्री राउत आफ्नै घर भएको प्रदेशको सिटबाट चुनाव लडेर विजयी भएका हुन् । मुख्यमन्त्री आफैं पनि तत्कालीन वीरगन्ज उमपहानगरपालिकाको कार्यालयमा अधिकृत रूपमा लामो समय कार्यरत थिए ।

उनको घरसम्म पुग्ने बाटो मात्र जीर्ण छैन, त्यो बाटोमा नाला पनि भत्किएर काम नलाग्ने भई दयनीय छ । सामान्य पानी पर्ना साथ बाटोबाट नाला र वर्षाको पानी बगेर झन्डै खोलामै परिणत हुन्छ । पानी रोकिएपछि पनि वर्षाको पानी जमेर स्थानीयलाई समेत आवागमनमा अप्ठेरो हुन्छ । मुख्य मन्त्री राउतको घर मुख्य सडकबाट करिब २ सय मिटर भित्र छ । मुख्यमन्त्रीकै छिमेकीहरू पनि यो सडक र नालाको यो स्थिति देखेर चकित छन् । स्थानीय शम्भु यादव लामो समयदेखि आफूहरूले हिँडडुल गर्ने सडक जीर्ण भएकाले आफूहरूलाई निक्कै सास्ती भएको बताउँछन् ।

‘मुख्य मन्त्रीको छिमेकी बनेपछि हाम्रो टोलकै कायापलट हुन्छ भनेर हामी खुसी पनि भएका थियौं,’ उनले भने, ‘तर खै केही परिवर्तन पनि देखिएन, महानगरपालिकाको कार्यालयले मुख्य मन्त्रीको सम्मान गरेर एउटा सडक र त्यसको दुबैतर्फको नालालाई व्यवस्थित सम्म गरिदिएन भने अरू बढी के आशा गर्ने ।’

स्थानीय ललन तिवारीले यो समस्याबारे आफूहरूले महानगरपालिकाको कार्यालय तथा मुख्य मन्त्री राउतलाई समेत गुनासो गरी सकेको बताए । ‘महानगरपालिकाको कार्यालय एडीबीको परियोजनाको दोस्रो चरणमा यो सडक परेको र दशैं पछि सडक निर्माण गरिने बताएको छ,’ उनले भने, ‘मुख्य मन्त्रीले आफैं सडक बनाउने होइन, स्थानीय तहले बनाइ दिने हो, हेरौं हामीले अझै कति दिन कुर्नुपर्ने हो ।’

महानगरपालिकाको कार्यालयका सूचना अधिकृत अशोक प्रधानले एडीबी परियोजनाले पहिलो चरणमा समेटन नसकेका सडक निर्माणको काम दोस्रो चरणमा समेटन लागेको बताए । भने, ‘तेजारथटोलका सडकहरू पनि दोस्रो चरणमा समेटिने सुनेको छर तर यकिन साथ भन्न सक्दिनँ ।’

प्रकाशित : भाद्र ११, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?