२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जनकपुरमा क्रिकेट क्रेज

सन्तोष सिंह

जनकपुर — कभर्डहलसँगै रहेको चिया पसलमा भेटिने १० वर्षीया बिनिता कुमारी पछिल्लो समय क्रिकेट अभ्यासमा व्यस्त छिन् ।

जनकपुरमा क्रिकेट क्रेज

कक्षा २ मा अध्ययनरत बिनिताको उद्देश्य नेपालको प्रतिनिधित्व गर्दै क्रिकेटको अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने हो । त्यसैका लागि उनी दिनरात अभ्यास गर्दैछिन् ।

जनकपुरको कभर्डहल मैदानमा बिहानी सत्रमा २०/२५ जना खेलाडीमा बिनिता एक्लै छैनन् । उमेरमा सानी भएर उनलाई सबैले सघाउँछन् । टिभीमा क्रिकेट देखेर बिनितालाई क्रिकेटर बन्न रहर लागेर अहोरात्र मिहिनत गर्दै छिन् ।

बुवा राजकुमार महतो कारखाना र आमा इन्दु देवी चिया पसल चलाउँदै आएकी बिनिता क्रिकेट खेल्न उत्साहित भएकाले उनलाई नि:शुल्क सिक्ने व्यवस्था मिलाइएको छ । क्रिकेट प्रशिक्षक नविन सिंहले नियमित अभ्यस गराउँदै आएको कभर्ड हल मैदानमा बिहान र साँझमा ४० भन्दा बढी युवा क्रिकेटको अभ्यास गर्दै आएका छन् । अभ्यासका लागि आवश्यक खेल सामग्री खेलाडीहरूबाट चन्दा संकलन गरी खरिद गरिएको क्रिकेट खेलाडी शोभाकान्त पाण्डे बताउँछन् ।

अभाव दबाबमा अभ्यास राम्रै भए पनि खेला सामग्रीको कमी छ, पाण्डेले भने, ‘अभ्यासका लागि बल, ब्याट र किट नै खरिद गर्न समस्या छ ।’ एक खोलाडीका लागि मासिक २ बल खरिद गर्न १ हजार रुपैयाँ खेलाडीबाटै संकलन गरी अन्य सामग्री खरिदका लागि चन्दा संकलन गर्दा अभ्यास सम्भव भएको छ ।

खेलकुदको विकासका लागि भाषण गर्ने धेरै छन् तर आर्थिक सहयोग गर्ने भेटिदैनन्, पाण्डेले भने, ‘सरकारी सहयोग त पाएकै छैनाैं । आक्कलझुकल आए पनि ५ लाखमा २ लाख कर्मचारीलाई नै घूस बुझाउने शर्त गर्छन् । फर्जी बिल बनाएर घूस लिने शर्त राखेपछि हामी सरकारी सहयोग लिदैनाैं ।’

सरकारी अनुदान हामीबाट सम्भव नै नहुँदा जनकपुरको क्रिकेट धरासायी बनेको छ । खेलकुदको बजेटमा कमिसन, भ्रष्टाचार हुँदा खेलकुदको स्तर बिग्रिएको पाण्डेले टिप्पणी गरे । हामी खेलाडीले बजेट ल्याउन सक्दैनो तर खेलाडी उत्पादन गर्न सक्छौं, पाण्डेले भने, ‘अभाव दबाबमै सञ्चालन भएको क्रिकेट एकेडेमीबाट २/३ वर्षमा नेपालको नेतृत्व गर्ने खेलाडी जनकपुरबाट उत्पादन हुनेछ ।’ जनकपुरको कभर्ड हल र रंग भूमि मैदान बाह्र बिग्हामा स्थानीय युवाहरूलाई क्रिकेट सिकाउन क्रिकेट खेलाडीहरूले कोच गरिरहेका छन् ।

क्रिकेटको भविष्य राम्रो भए पनि राम्रो खेल्ने रंगशाला र वातावरण छैन । सही नियतले खेलकुदमा लगानी नहँुदा प्रतिभावान खेलाडीको भविष्य अन्यौलमा परेको छ । क्रिकेट खेल्न र राम्रो प्रदर्शन गर्न सक्ने क्षमता भए पनि लगानी अभावमा जनकपुरको क्रिकेट फस्टाउन सकेको छैन ।

संघीय सरकार, स्थानीय तह र प्रदेश सरकारको खेलकुद लगानी पनि दल, निर्वाचन क्षेत्र र प्रचारप्रसारमै खर्च हुन्छ । खेलाडी उत्पादनका लागि बजेट खर्च भएको पाइँदैन । जनकपुर क्रिकेट सुधारका लागि राष्ट्रिय टिमको प्रशिक्षकको अनुभवी नविन सिंह र क्रिकेटर हरिशंबर साहले क्रिकेट खेल्न चाहनेलाई प्रशिक्षक दिँदै आएको छ ।

क्रिकेट खेल्ने खेलाडीलाई खेल मैदान नहुँदा विगतको तुलनमा जनकपुरबाट खेलाडी उत्पादन घटेको प्रशिक्षक सिंह बताउँछन् । जति सुकै इन्डोर अभ्यास गरे पनि म्याच नखेलेसम्म खेलाडी तयार हुँदैन, प्रशिक्षक सिंहले भने, ‘यहाँको खेलाडीमा क्षमता छ । क्षमता देखाउन मैदान छैन ।’ जनकपुरको पढाइको स्तर खस्किएपछि यहाँको खेलकुदको स्तर पनि खस्केको सिंह बताउँछन् ।

दुई दशकअघि सम्म जनकपुर पढन आउने परम्परा पछिल्लो समय पढाइ बिग्रिएपछि जनकपुरका होनहार खेलाडीहरू पढन बाहिर गएपछि क्रिकेटमा ठूलो क्षति भएको छ, उनले भने । मुलुक संघीयतामा गएकाले स्थानीय सरकारले खेलकुदको रकम सदुपयोग गर्दै ग्रास रुटबाटै क्रिकेट खेलाडी छनौट गर्न सके प्रदेश २ को क्रिकेटमा सम्भावना राम्रो छ, सिंहले भने ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?