कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राजमार्गमा जथाभावी पार्किङ

एल पवन यादव

सिमरा — वीरगन्ज–पथलैया औद्योगिक करिडोरको सडकमा हुँदै आएको जथाभावी पार्किङ अझै सुध्रिएको छैन । राजमार्गको पार्किङ व्यवस्थापन गर्न ट्राफिक प्रहरी कस्सिएपछि अव्यवस्थित पार्किङ गर्ने सवारी साधनको भागाभाग लागेको थियो ।

राजमार्गमा जथाभावी पार्किङ

कडाइ गरेपछि एक/दुई दिन सुधार भए पनि अहिले पुरानै अवस्था दाहोरिएको स्थानीयले बताए ।


‘जहिलेसम्म यहाँका उद्योगले उद्योग परिसर भित्र पार्किङस्थल निर्माण गर्दैनन्, त्यो बेलासम्म यहाँको अव्यवस्थित पार्किङ सुध्रिदैन,’ स्थानीय अर्जुन साहले भने, ‘सम्बन्धित निकायले पार्किङ व्यवस्थापनतिर ध्यान नै दिएका छैनन् ।’ जितपुर सिमरा उपमहानगरपालिकाले नै राजमार्गको पार्किङ व्यवस्थित बनाउन कदम चाल्नुपथ्र्यो । तर उमहानगरपालिकाले नै राजमार्गमै पार्किङ ठेक्का लगाएर कानुन उल्लंघन गरेको उनले बताए ।


‘एउटा सरकारले नै कानुन उल्लंघन गरेपछि उसलाई कुन निकायले कारवाही गर्ने ?,’ उनले भने, ‘उपमहानगरपालिकाको आम्दानी बढाउन सडकमै पार्किङ ठेक्का लगाउन मिल्छ र ?’ कही नभएको काम यहाँको उपमहानगरपालिकाले गरेको स्थानीयले गुनासो गरे ।


‘घर अगाडि नै ट्रकै ट्रकको लाम लाग्छ, घर अगाडि ट्रक नरोक्न भन्दा पनि चालकले मान्दैनन्,’ एक स्थानीयले भने, ‘पार्किङ शुल्क तिरेपछि किन नराख्नु ।’ तपाईको घरमा राख्या छैनन् नि सडकमा राखेको भनी चालकले जवाफ फर्काउने गरेको उनले बताए । रामार्गको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न कुनै निकायले चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन । देशकै प्रमुख रामजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैयामा राजमार्गमै पार्किङ गर्न जितपुर सिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको छ । राजमार्गमै जथाभावी पार्किङ गरिएको सवारी साधनलाई हटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट खटिएको टोलीलाई चालकले पार्किङ शुल्क तिरेको रसिद देखाएपछि उक्त रहस्यको खुलासा भएको थियो ।


यही साउन महिनादेखि लागू हुने गरी उपमहानगरपालिकाले प्रतिस्पर्धाका आधारमा पथलैया निवासी अरूणराज कंसकारलाई १० लाख रूपैयाँमा ठेक्का दिएको छ । राजमार्गमा पार्किङ गर्न उपमहानगरपालिकाले ठेक्का लगाएपछि अहिले ट्राफिक प्रहरी पनि चुप लागेर बसेको स्थानीयको गुनासो छ । उक्त राजमार्गमा २४ घण्टा सवारी साधन पार्किङ गरेवापत ठेकेदारले पार्किङ रसिद दिएर प्रति सवारी २५ रूपैयाँको दरले पार्किङ शुल्क उठाउँदै आएको छ ।


दैनिक एक सयभन्दा बढीको संख्यामा ट्रक, बस, ट्याङकर लगायतका सवारी रामर्गमै पार्किङ गर्ने गरिएको ठेकेदारको भनाइ छ । ‘दिनमा २५ सय देखी ३ हजार रूपैयाँ पार्किङ शुल्क उठाउछौं,’ उनले भने, ‘पथलैया क्षेत्रको सबै स्थलमा हामीले पार्किङ शुल्क उठाउन पाउँछौं ।’ पथलैयास्थित राजमार्गमा पार्किङ भएका सबै सवारीबाट पार्किङ शुल्क उठाउने गरिएको उनले जनाए ।


पटक पटक उपमहानगरपालिकालाई पार्किङ स्थल किटान गरी देखाउन ताकेदा गर्दा पनि कुनै सुनुवाइ नभएको ठेकेदार पक्षको गुनासो छ ।


ठेक्का सम्झौतापत्रमा पार्किङ स्थल किटान गरिएको छैन । पूरै पथलैया क्षेत्रबाट पार्किङ शुल्क उठाउन भनिएको छ । सवारी साधन पार्किङ गर्न पथलैयामा रामाजर्ग बाहेक एक रती पनि जग्गा खाली छैन । सवारी साधन पार्किङ गर्ने राजमार्ग बाहेकको विकल्प नरहेको ठेकेदार पक्षको भनाइ छ । अतिव्यस्त उक्त राजमार्ग अहिले फराकिलो बनाई ६ लेनको सडक बनाउने काम भइरहेको छ । निर्माणाधीन अवस्थामा रहेको उक्त खण्डमा सवारी साधन प्रवेशमा निर्माणमा संलग्न ठेकेदारले रोक लगाउदा पनि सवारी चालकले जबर्जस्ती पार्किङ गर्ने गरेको स्थानीयको भनाइ छ ।


जथाभावी सवारी पार्किङ र संरचना बिगार्ने सवारीलाई सम्बन्धित निकायले कारवाही नगर्दा चालक र गाडी धनीको मनोबल बढदै गएको आरोप निर्माण कार्यमा संलग्न कर्मचारीले लगाए ।


राजमार्ग हुने गरेको जथाभावी सवारी पार्किङलाई व्यवस्थित पार्न ट्राफिक प्रहरी खटिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयल प्रदेश नं. २ पथलैयाकी प्रमुख एसपी किरण बज्राचार्यले दाबी गरीन ।


‘राजमार्गको पार्किङ व्यवस्थित पार्न जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरी खटिरहेको छ,’ उनले भनिन्, ‘ट्राफिक प्रहरीले कारवाही गरेर, चालकलाई सचेत गराएर पार्किङ व्यवस्थित गरिरहेका छन् ।’ ट्राफिक प्रहरीले राजमार्गमा सवारी पार्किङ गर्न नदिने र यदी गरेमा कानुन बमोजिम कारवाही गर्न थालिएको उनले दाबी गरिन् । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख मेयर कृष्ण पौडेलले राजमार्गको पार्किङ व्यवस्थित पार्न आफू लागेको बताएका छन् । उक्त खण्डअन्तर्गत बाराको पथलैयादेखि बीरगन्जसम्म मुल सडकमै दायाबाया मालवाहक सवारी साधन पार्किङ गर्ने गरिएको छ । यसरी गरिएको जथाभावी पार्किङले सवारी साधन तथा पैदल यात्रीको आवागमनमा समेत अवरोध पुर्‍याउने गरेको स्थानीयले बताए । उद्योगले परिसरभित्र पार्किङ स्थल नबनाउदा उद्योगमा आएका मालवाहक सवारी यसरी सडकमै पार्किङ गर्न बाध्य हुनु परेको चालकहरूको भनाई छ ।

प्रकाशित : भाद्र १३, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?