कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी माग्दै खानेपानी कार्यालय घेराउ

भरत जर्घामगर

सिरहा — महिना दिनदेखि धारामा पानी नआएको भन्दै लहान नगरपालिकाका वडा नम्बर ५ र ६ का गृहिणी महिलाहरुले बाल्टिन बोकेर पानी माग्दै बुधबार लहानस्थित खानेपानी संस्थान कार्यालय घेराउ गरेका छन् । 

पानी माग्दै खानेपानी कार्यालय घेराउ

महिना दिनदेखि धारा पानी आउन छाडेको भन्दै उनीहरुले लहानस्थित संस्थानको कार्यालयमा बाल्टिन बोकेर घेराउ गरेका हुन । पहिला बिहान ३ घण्टा र साँझ साढे ३ घण्टा पानी उपलब्ध गराएको तर अहिले मुस्किलले डेढ घण्टा पानी छाडेपनि हावा मात्रै आउने गरेको उनीहरुले बताए ।


पानी नभएकै कारण खाना पकाउनेदेखि भाडा वर्तन, कपडा धुन र पिउने पानीको अभाव भएपछि बाध्य भएर बाल्टिन बोकेर संस्थानको कार्यालय घेराउ गरिएको कृष्णमाया बनेपालीले सुनाइन । ‘न्यूनतम मासिक १ सय १० रुपैयाँ पानी नआएपनि महशुल तिर्नुपरिरहेको छ’ उनले भनिन् ‘धारामा पानीको साटो हावा मात्रै आउँछ ।’


‘खानेपानी नै नभएपछि कसरी बाँच्न सकिन्छ’ अमिना खातुनले भनिन् ‘धारामा एक महिनादेखि पानी नै आएको छैन, कहिलेकाही धारामा पानी आउँछ त्यो पनि लेदो र बालुवा मिसिएको ।’


उनका अनुसार लेदो र गन्हाउने पानी सेवन गरेकै कारण कतिपय जन्डिस रोगले थलिएका छन् । संस्थानले फिल्टर प्लान्ट नभएका कारण वेलबाट तानेको पानीमा दैनिक ब्लीचिङ पाउडर प्रयोग गरेर ग्राहकको घरमा पानी पठाउने गर्छ ।


खानेपानी संस्थानले लहान नगरक्षेत्रमा पहिला दैनिक बिहान ५ देखि ८ बजेसम्म र बेलुकी ५ देखि साढे ८ बजेसम्म पानी वितरण गर्दै आएको थियो । तर संस्थानको ३ वटा वेल मध्ये एउटा वेलले बालुवा मिसिएको पानी फाल्न थालेपछि एक महिनादेखि आपूर्तिमा कटौती गरी दैनिक विहान ६ देखि साढे ७ र बेलुकी ६ देखि ७ बजेसम्म मात्रै धारामा पानी वितरण गर्दै आएको छ ।


नगर क्षेत्रमा ३ हजार घरधुरी ग्राहक रहेको संस्थानले एउटा वेलले बालुवा मिश्रित पानी फाल्न थालेपछि बन्द गरिएका कारण खानेपानीको समस्या उत्पन्न भएको जनाएको छ । ती ग्राहकलाई पानी आपूर्ति गर्न संस्थानसँग साढे ४ लाख लिटर क्षमताको ओभर टयांकी र साढे ५ लाख लिटर क्षमताको रिजर्भायर ट्यांकी छ ।


तर पानी तान्ने एउटा बन्द गरिएका कारण ती दुवै टयांकीमा पानी भर्न नसकिएको सुपरभाईजर सूर्य नारायण चौधरीले जानकारी दिए । कार्यालय प्रमुख इन्जिनियर विनोद मिश्रले पानी समस्या भएको जानकारी दिदै वेलको सरसफाई भइरहेकाले ८–१० दिन अझै खानेपानीको समस्या हुने बताए ।

प्रकाशित : भाद्र १३, २०७५ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?