२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बाढीको चपेटामा सय विद्यालय

‘विद्यालयको भौतिक पूर्वाधार बनाउँदा त्यो बेला सोचिएन । मेहनत र लाखौं खर्चिएर बनाइएको विद्यालय अहिले प्रयोगविहीन छ ।’
लक्ष्मी साह

बारा — चारकोसे जंगलसँगै काँट गाउँ भन्ने बस्ती छ, त्यहाँ झन्डै एक हजार ५ सय जनसंख्या छ । बस्तीका बालबालिकालाई पढाउन गाउँले मिलेर झुपडी बनाए । त्यही झुपडीको नाम भयो– नेराप्रावि काँटगाउँ ।

बाढीको चपेटामा सय विद्यालय

विद्यार्थी झुपडीमै पढ्न थाले । पछि दातृ निकाय जाइकाको सहयोगमा त्यहाँ २ कोठे भवन बन्यो । चर्पी बन्यो । चापाकल गाड्यो । विद्यार्थी भवनको आनन्द लिँदै पढ्दै सिक्दै गए ।

भवन बनेको केही वर्ष नबित्दै नजिकैको पसाहा खोलाले विद्यालयलाई धरापमा पार्‍यो । बाढीले खोला सिधै विद्यालयतर्फ फर्केपछि विद्यालयको अस्तित्व नै समाप्त भयो । विद्यार्थी भागाभाग भए । अहिले त्यो विद्यालय भवन ज्युका त्युँ छ । विद्यार्थी अन्यत्रै सरे । अहिले त्यो विद्यालयभन्दा केही पर पूर्वपट्टि टालीले छाएको भवनमा फेरि विद्यार्थी पढ्न थालेका छन् ।

‘झन्डै २ सय विद्यार्थी भएको विद्यालयको भविष्य नै बाढीले खाइदियो, लगानी पनि खेर गयो,’ काँटगाउँका पूर्व वडाअध्यक्ष बिकाउ चौधरीले भने, ‘विद्यालयको भौतिक पूर्वाधार बनाउँदा त्यो बेला सोचिएन । मेहनत र लाखौं खर्चिएर बनाइएको विद्यालय अहिले प्रयोगविहीन छ ।’ अहिले भवन मात्र ठडिएको देखिन्छ । पढाइ हुँदैन ।

साबिक करैया गाविस–८ मा पर्ने उक्त विद्यालय भवन हाल कोल्हवी नगरपालिका ८ मा पर्छ । ‘भवन बनेको केही वर्षमै विद्यालयको उक्त संरचना काम लागेन । चर्पी र चापाकल त्यतिकै खेर गयो,’ उनले भने । आदर्शकोतवाल गाउँपालिका–८ मा काँटगाउँ झैं समस्या छ । जमुनी खोलाले कटान गर्दागर्दै विद्यालय खोलाको किनारमै पुगेको छ । ‘केही वर्षपछि विद्यालय खोलाको धरापमा पर्ने निश्चित छ,’ स्थानीय साबिर अंसारीले भने, ‘त्यहाँबाट पनि विद्यार्थीको उठिबास लाग्छ । खोलाले गर्ने कटान रोक्नेबारे स्थानीय तह वा अन्य निकायबाट पहल भएको छैन । योजना पनि बनाइएको छैन ।’ जिल्लामा बाढीले डुबान र कटानको चपेटामा १ सय विद्यालय रहेको जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयको तथ्यांकमा छ । नदीको किनारमा त्यस्ता धेरै विद्यालय छन् ।

बाढीको चपेटामा परेर कतिपय विद्यालयमा खानेपानीको स्रोत (चापाकल) र चर्पीसमेत तहसनहस भएको छ । कतिपय ठाउँको भौतिक संरचना जीर्ण भएको छ । विगतमा शिक्षा कार्यालयबाट अनुदान लिएर कतिपय विद्यालयको भौतिक संरचना लथालिंग अवस्थामा छाडिएको छ, जुन बर्खा याममा झन् जीर्ण बनेको छ । कतिय ठाउँको विद्यालय खोला छेउमा भएकाले त्यसको भवन नै जोखिममा परेको छ । चर्पी तथा चापाकलमा बाढीको पानी पसेर समस्या भएको देखिन्छ । बाढीग्रस्त विद्यालय वरपर झाडी र घाँसपात त्यतिकै उम्रेको देखिन्छ । त्यसलाई सफासुग्घर बनाउनेतर्फ कसैको ध्यान गएको देखिँदैन ।

जिशिअ पूर्णबहादर अछामीले बाढीग्रस्त शैक्षिक संस्थालाई जोगाउन सबैको समन्वय हुनुपर्ने बताए । ती विद्यालयको भविष्यबारे जनप्रतिनिधिले चासो लिएको वा विद्यालय जोगाउन योजना ल्याएको देखिँदैन । ‘गत वर्ष सडक तथा नालालगायत पूर्वाधारमा ध्यान दियौं,’ कलैया उपमहानगरपालिका(२४ का वडा अध्यक्ष विक्रम साहले भने, ‘यसपालि बाढीबाट प्रभावित विद्यालयलाई सुधार्ने योजना बनाउँछौं ।’ जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर सिंहले सडक र नाला आवश्यकताअनुसार बनाउने विषय भए पनि शिक्षाको विकासका लागि शैक्षिक संस्थाहरूको पूर्वाधारको विकास नभई नहुने विषय भएकाले यसलाई प्राथमिकतामा राखेर विकासको काम अगाडि बढाउन सुझाउँछन् ।

जीर्ण बनेका ५५ भवन मर्मत
बाढीको चपेटामा १ सयको हाराहारीमा रहेको विद्यालयमध्ये ५५ विद्यालय छनोट गरी त्यहाँ जीर्ण भएका भौतिक संरचनालाई सुधार गरिएको छ । गत वर्षको बाढीले क्षति पुगेका ती विद्यालयमा सुधार गरिएको हो । ‘बाढीले चापाकल र चर्पी बनाएको थियो । मर्मत सुधारपछि ती संरचना अहिले प्रयोगमा आएका हुन् । चर्पी र खानेपानीको स्रोत चापाकललाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको छ ।

विश्व शिक्षा कार्यक्रमको सहयोगमा स्थानीय सेवा प्रदायक सामाजिक संस्था जनजागरण युवा क्लबले बाढीले प्रभावित ती विद्यालयमा २३ लाख खर्चेर चर्पी, चापाकल, विद्यालय परिसर तथा वरपर उम्रेका झाडी, झारपातलाई सफासुग्घर पारेको छ । ‘बाढीले चापाकलको पानी पिउनै नसक्ने र चर्पीमा बस्नै नसक्ने अवस्था थियो । मर्मतपछि विद्यार्थीले पानी पनि पिएका छन्, चर्पीमा पनि बस्न पाएका छन्,’ श्री सिमल नेराप्रावि मझौलियाका अध्यक्ष शिवचन्द्र साहले भने ।

विद्यार्थीलाई मनोरञ्जनात्मक स्रोतसाधन र शैक्षिक सामग्रीसमेत उपलब्ध गराएको जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयका स्रोत व्यक्ति रवीन्द्र मिश्रले बताए । उनका अनुसार यसबाट ५५ विद्यालयका झन्डै १६ हजार विद्यार्थी लाभान्वित भएका छन् । ‘आपतकालीन अवस्थामा समेत शिक्षा लिनबाट बालबालिका वञ्चित नहोऊन् भन्ने उद्देश्यले बाढीले तहनहस पारेका विद्यालयका भौतिक संरचनाको जीर्णोद्धार गरेका छौं,’ सेवाप्रदायक संस्थाका अध्यक्ष भैयाराम यादवले भने, ‘यसबाहेक विद्यालयमा खानेपानी र चर्पी सुविधायुक्त बनाइदिएका छौं ।’

प्रकाशित : भाद्र १४, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?