खाँडो नदी प्रदूषित

जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसको छ
उतनदीमा खुला रूपमा दिसा फालिने गरेको छ
रोगको संक्रमण, चौपाया मर्न थाले
अवधेशकुमार झा

राजविराज — सप्तरीको दक्षिणी क्षेत्र हुँदै बग्ने खाँडो नदी पछिल्लो समय दूषित बन्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा शौचालय सफा गरी सेफ्टी टयांकी सञ्चालकहरूले खाँडो खोलामै खुला रूपमा दिसा विसर्जन गर्न थालेपछि नदी दूषित बन्न पुगेको हो ।

जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसके पनि नदीमा खुला रूपमा निर्वाध ढंगबाट दिसा फालिने गरेको छ । तर रोक्नेतर्फ कुनै निकायको ध्यान पुग्न सकेको छैन ।

नदीमा दिसा फालिँदा खाडोको दक्षिणी तटीय क्षेत्रमा धार्मिक आस्थामाथि समेत प्रहार भएको छ भने रोगको संक्रमण फैलिने खतरा बढेको छ । यस्तै दिसा नदीमा फालिने स्थानमा चर्न जाने चौपायाहरू भकाभक मर्न थालेको कृषकहरूले बताएका छन् ।

Yamaha

राजविराज–हनुमाननगर सडक खण्ड अन्तरगत राजविराज नगरपालिकाको देउरी भरुवा ग्रामदेबता स्थानभन्दा २ सय मिटर दक्षिण सेफटी ट्यांकीबाट दिसा खाँडो नदीमा मिल्काउने गरिएको छ ।

‘हामीले रोक्दा रोक्दा थाक्यौ तर सेफ्टी ट्यांकी सञ्चालकहरू दिनहुँ आएर नदीमा दिसा मिल्काउने गरेको देउरी भरुवाका लक्ष्मण यादवले बताए । शनिबार साँझ सिरहा सेफ्टी ट्यांकीक बन्दीपुर सिरहाको सेफ्टी ट्यांकी भएको गाडी खाँडो नदीमा निर्बाध रूपमा दिसा फालिइरहेका थिए । ‘जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ, हामीले सकीनसकी घरघरमा शौचालय बनायौं,’ देउरी भरुवाका लक्ष्मण यादवले भने, ‘हामीले शौचालयमा दिसा व्यवस्थित गरेका छौं तर बाहिरको दिसा हाम्रो ठाउँमा ल्याएर नदीमा मिसाउने कार्य भएको छ, हामी रोक्छौं, मान्दैनन् ।’

उनले नदीलाई दूषित पार्ने र रोगको संक्रमण फैलाउने गरी भइरहेका कार्य रोक्न जनप्रतिनिधि र स्थानीय प्रशासनले तदारुकता देखाउनुपर्ने माग गरे । ‘दिनमा दुईदेखि ३ पटकसम्म सेफ्टी ट्यांकी ल्याएर खाँडो खोलामा दिसा मिल्काउने गरिएको छ,’ स्थानीय रामस्वरूप यादवले भने । नदीमा दिसा मिल्काउँदा पशु चौपायामा तत्कालै प्रत्यक्ष असर देखिन थालेको उनले बताए । उनले कहिले काहीं नदीमा पानी नभएका बेला तटमै दिसा फाल्ने गरेको र सो क्षेत्रमा चर्न जाने पशु चौपाया बिरामी भई मर्न थालेको बताए ।

स्थानीय लक्ष्मण यादवले पछिल्लो केही समययता आफनो टोलका १५ वटा भैंसी अचानक बिरामी भई मरेको बताए । ‘खुला स्थानमा दिसा फाल्छन्, त्यहाँ उम्रिने घाँस खाएर पशु बिरामी भई मर्छन्,’ यादवले भने । उनले भने, ‘हामी गोठाला पनि रोगको उच्च संक्रमणमा छौं, नदीकिनारमा पशुचौपाया लिएर चराउन आउँछौं, सधैं दिसा फालिएको हुन्छ ।’ ‘सेफ्टी ट्यांकीबाट नदीमा वा नदी किनारमा दिसा फाल्नेबितिकै दुर्गन्धले गोठाला भाग्छन्, बटुवालाई पनि बाँधको बाटो हिँड्नै मुस्किल हुन्छ,’ उनले थपे ।

देउरी भरुवा क्षेत्रमा मात्र होइन, खाँडो तटीय क्षेत्रको दक्षिणी भागका पशु चौपायामा समेत समस्या देखिन थालेको छ । खासगरी देउरी भरुवा, मुसहरनिया, तोपा, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा र बेलही गाउँका पशु चौपायाको पानी खाने ठाउँ खाँडो नदी नै हो भने चरण क्षेत्र पनि खाँडो नदीकै किनार हो ।

यसैगरी ती गाउँका कैयौं मानिस पानी भएका बेला खाँडो नदीमै स्नानसमेत गर्ने गरेका छन् । ‘गाउँका गाउँ पशु चौपायामा समस्या हुने गरी खाँडो नदीमा दिसा मिल्काउनु अपराध हो,’ तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले भने । उनले यसबारे तत्कालै स्थानीय प्रशासनसित समन्वय गरी रोक लगाउने बताए ।

‘खाँडो नदीमा दिसा मिल्काउनेले हाम्रो धार्मिक आस्थामाथि पनि प्रहार भएको छ,’ तोपाका शिवकुमार मण्डलले भने, ‘हामी खाँडोको जललाई पवित्र भन्दै पूजा कोठासम्म लान्छांै, स्नान गर्छौं, कैयांै परिवार यही नदीमा छठ पूजा गर्छन्, यसमा जिल्लाभरिको दिसा मिल्काउनु अपराध हो, दोषीलाई कारबाही हुनुपर्छ ।’ उनले जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा खुला रूपमा नदीमा दिसा मिल्काउन नहुने बताए ।

‘खाँडो नदीमा पानीको सतह केही बढ्नेबित्तिकै दक्षिणी क्षेत्रका घरहरूमा पानी पस्छ,’ तिलाठीका देवनारायण यादवले भने, ‘हाम्रा टोलबस्तीका घरघरमा दिसायुक्त पानी पस्दा रोगको संक्रमण हुने खतरा बढेर गएको छ ।’ उनले नदीमा खुला रूपमा दिसा विसर्जन गर्ने कार्य रोक्न प्रशासन र स्थानीय निकायले तदारूकता देखाउनुपर्ने माग गरे । देवनारायणका अनुसार अहिले तिलाठी र लौनिया क्षेत्रका पशुहरूमा समेत विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।

उक्त क्षेत्रका पशुचौपायाको पानी खाने स्थान पनि खाँडो नदी नै हो भने चरण क्षेत्र खाँडोको तटीय क्षेत्र । ‘नदीमा दिसा फाल्ने कार्य तत्काल रोक्नुपर्छ,’ देवनारायणले भने, ‘अन्यथा हामी सर्वसाधारणलाई जबरजस्ती गएर रोक्नुपर्ने बाध्यता आउन सक्छ ।’ उनले खाँडो खोलामा दिसा फाल्नाले नदी फोहोर भएको र पवित्र जल भन्दै पूजा कोठासम्म खाँडोको जल लग्नेहरूको धार्मिक आस्थामाथि प्रहार भएको बताए ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंहले खाँडो नदीमा खुला रूपमा दिसा फाल्ने अनुमति कुनै निकायले कसैलाई नदिएको बताउँदै नदीमा खुला रूपमा दिसा फाल्नेविरुद्ध स्थानीय प्रशासनसित समन्वय गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताए । ‘नदीनाला र खुला स्थानमा दिसा फालेर जनता र पशुचौपायालाई रोगको संक्रमण गराउने कार्य कुनै पनि हिसाबले उचित छैन,’ गाउँपालिका अध्यक्ष सिंहले भने, ‘तत्कालै स्थानीय प्रशासनसित समन्वय गरी यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनेछ ।’

प्रकाशित : भाद्र १४, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मध्यरातमा डुब्यो बस्ती

३ सय ३५ घर डुबानमा, १ लाख नागरिक असुरक्षित
अवधेशकुमार झा

हनुमाननगर (सप्तरी) — हनुमाननगर कंकालिनी १२, हटियानजिक बस्तीकी सवाना खातुन सोमबार साँझ खाना बनाउने तरखरमा थिइन् । आँगनमा अचानक पानी पस्यो । उनी आत्तिइन् । घरभित्र रहेका परिवारका अन्य सदस्यलाई उनले गुहारिन् ।

सबै आँगनमा भेला हुँदासम्म चुलो त सप्तकोसीको पानीले डुबिसकेको थियो । केही बेरमै घरभित्र पनि पानी पसेपछि घरमा रहेका महत्त्वपूर्ण कागजपत्रसहित नजिकैको अग्लो स्थानमा आश्रय लिन दौडिइन् ।


सवानाको परिवार सुरक्षित आश्रयस्थलको खोजीमा दौडिइरहेका बेला उनका अन्य छिमेकीसमेत दौडादौड र भागाभागमा थिए । भारतको कोसी योजनाले २ वर्ष लगाएर सप्तकोसी ब्यारेजभन्दा दक्षिणी भागमा पाइलट च्यानल खनी पूर्वतर्फबाट बगिरहेको कोसी धारलाई पश्चिम फर्काएपछि सोमबार साँझबाट हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय र कार्यालयको पूर्व, दक्षिण र पश्चिम रहेका करिब ३ सयसहितको बस्ती डुबानमा परेको हो ।


‘भारतीय लापरबाहीले २० वर्षपछि बस्तीमा कोसीको पानी पसेको छ, अहिले हाम्रो उठिबास भयो,’ स्थानीय देवानन्द मुखियाले भने, ‘नेपाल सरकारले समयमै सचेतता नअपनाउँदा बिल्लीबाठ भयो ।’ विगत कैयौं वर्षदेखि कोसीको पानीले पश्चिमी तटबन्ध छोएको थिएन । तर, २ वर्षदेखि कोसी योजनाका भारतीय अधिकारीहरू र भारतीय ठेकेदारले आफूखुसी बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि पश्चिमी तटबन्धतिर बहाव मोडिँदा पश्चिमी तटबन्ध जोखिममा छ । हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय घर र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ घर गरी ३ सय ३५ घर डुबानमा परेका छन् ।


मध्यरातमा डुबान बस्ती पुग्दा सर्वसाधारण त्रसित देखिन्थे । बस्तीहरूमा ३ फिटसम्म पानी सोमबार साँझबाट बगिरहेको छ । कोसीको पानीले लिलजा ठाकुर प्राथमिक विद्यालय पनि डुबानमा परेको छ । स्थानीय कुशेश्वर यादवले आफूहरूको घरको कोठासम्मै पानी पस्ने अवस्था आएपछि घर छाडेको बताए । ‘हनुमाननगरको साप्ताहिक हाट लाग्ने स्थान र हाम्रो आँगनबाट कोसी बगिरहेको छ,’ उनले भने, ‘बस्तीमा अचानक पानी पसेपछि सर्वसाधारण भागाभाग भएका छौं ।’ उनका अनुसार बस्तीका कैयौं घर बाढीले भत्काएको छ । धेरै परिवारको अन्नपात, लत्ताकपडा बगेको छ ।


हाटबजारको सेडमा आश्रय लिएर बसेकी हनुमाननगरकी उर्मिलादेवीले भनिन्, ‘म बिहे भएर आएदेखि कोसीको पानी घर पसेको देखेको थिएन, सोमबार साँझ अचानक आँगनै डुबानमा परेपछि डरले भाग्न पनि मुस्किल भयो ।’ बाढीको सतह बढेसँगै हनुमाननगरको हटियाबस्तीसहित तिलाठी कोइलाडीको वनरझुलास्थित पश्चिमी तटबन्धभन्दा पूर्वका बासिन्दा घर छोडेर अन्यत्र जान बाध्य भएका थिए । कोसीको पानी मंगलबार साँझसम्म पनि कम भएको छैन । बस्तीमा बाढी पसेसँगै सर्वसाधारणको उद्धारमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको थियो । केही स्थानीय बासिन्दा पनि डुंगा लिएर उद्धारमा खटिएका थिए ।


पछिल्लो २ वर्ष लगाएर भारतीयले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिमतर्फ मोडेका हुन् । कोसी ब्यारेजबाट रम्पुरा मल्हनियासम्म हनुमाननगर कंकालिनी नगरपालिकामा १७ किमि कोसीको पश्चिमी तटबन्ध छ । सन् १९८८ मा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियामा तटबन्ध भत्किएको थियो । त्यसबेला भत्किएको तटबन्ध अझै मर्मत हुन सकेको छैन । ‘एकातर्फ वर्षौंदेखि तटबन्ध मर्मत भएको छैन, अर्कोतर्फ नदीको बहावलाई फर्काएर पश्चिमी तटबन्धमाथि खतरा बढाइएको छ । बस्ती डुबानमा पार्ने भारतीय लापरबाहीबिरुद्ध नेपाल सरकार समयमै उच्च तहमा कुरा गर्नुपर्छ,’ स्थानीय कुशेश्वरले भने ।


९ लाख क्युसेक प्रतिसेकेन्ड बहाव क्षमताको ब्यारेजबाट सोमबार साँझ १ लाख ७० हजार क्युसेक प्रतिसेकेन्डका दरले बहाव हुँदा २० वर्षदेखि नडुबेका बस्ती डुबेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले बताए । उनी भन्छन्, ‘यो डुबान भारतीय कोसी योजनाले नदीमा पाइलट च्यानल खनी पश्चिमतर्फ फर्काउने कार्यको परिणाम हो ।’ उनका अनुसार थोरै बहावमा नदीको पानी २० वर्षपछि पश्चिमी तटबन्धमा टाँसिएका कारण तटबन्ध असुरक्षित बनेको हो । विभिन्न स्थानमा कोसीको पानी हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका केही वडामा पस्ने खतरा बढेको उनले बताए ।


कोसीको पश्चिमी तटबन्धमा समस्या भए सप्तरीका १ लाख बढी घर परिवार विस्थापित हुने खतरा छ । अध्यक्ष सिंहका अनुसार सोमबार साँझको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाका पनि ३५ घर डुबानमा परेका छन् । बाढी बस्ती पस्दा कोसी ब्यारेजका २५ ढोका खोलिएका थिए । जसमध्ये २१ ढोका पश्चिम तर्फकै खोलिएका थिए । ‘एक त पाइलट च्यानल खनी कोसी पश्चिम फर्काइयो, त्यसमाथि सबै पश्चिम तर्फकै ढोका खोल्दा त बस्ती डुबिहाल्छ नि,’ सिंहले भने ।


हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवले कोसीको पानी मंगलबार साँझसम्म पनि कम भएको छैन । उनले बाढीका कारण विस्थापनमा परेकाहरू मंगलबार पनि घर फर्किन नपाएको बताए । बाढीपीडितको लगत संकलनको काम पनि भइरहेको उनले बताए ।


कोसी पीडित समाजका अध्यक्ष देवनारायण यादवले भारतीय लापरबाहीले ३ सय बढी घर डुबानमा परेको र १ लाख बढी सर्वसाधारणको अवस्था जोखिममा परेकाले नेपालले तत्काल कूटनीतिक स्तरमा भारतसित संवाद गरी समस्या समाधान गर्नुपर्ने बताए । ‘तत्काल कोसीको बहावलाई बीचबाट बगाउने प्रयत्न नभए सर्वसाधारणको उठिबास हुने पक्का छ,’ अध्यक्ष यादवले भने, ‘नेपाल सरकारले यसमा ढिलाइ गर्नु हुँदैन ।’


प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोसीको पानी बस्तीमा प्रवेश गरेपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको बताए । उनले विस्थापनमा परेकाको खानेबस्ने व्यवस्था पनि स्थानीय तहबाटै मिलाइने बताए । ‘मैले केही थान त्रिपाल पठाएको छु,’ प्रजिअ पौडेलले भने, ‘खाने/बस्ने व्यवस्था स्थानीय तहबाट मिलाइनेछ ।’ उनले भारतीय पक्षसँग बाढीबारे छलफल गर्ने तयारीमा रहेको पनि बताए । ‘हामीले मंगलबार प्रभावित क्षेत्रको अवलोकन गरेका छौं,’ उनले भने, ‘भारतीय पक्षबाट उच्च तहका अधिकारी नआउँदा छलफल हुन सकेन ।’ उनका अनुसार कोसी योजनाका एक इन्जिनयरसित कुराकानी भएको र उनले कोसी योजनाका चिफ इन्जिनयरसम्म कुरा पुर्‍याइदिने बताएको जानकारी दिए ।

प्रकाशित : भाद्र १३, २०७५ ०७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT