कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पुनर्निर्माणले जनकपुरमा गति लिँदै

सडकको दायाँबायाँ घरटहरा भत्काउने र जग्गा विवादका कारण ठेकेदारले पटकपटक म्याद गुजार्दै आएका छन्
शाहीमान राई

जनकपुर — सफा, सुन्दर र रमणीय सहर बनाउन निर्माणाधीन सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माण, टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत् लाइन विस्तारलाई तीव्र पारिएको छ ।

पुनर्निर्माणले जनकपुरमा गति लिँदै

जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माणधीन आयोजना तोकिएकै समयमा पूरा गर्न कामलाई तीव्रता दिएको हो । सडक विस्तार अभियानमा भइरहेको स्थानीयको अवरोध र सडकमा परेका घरजग्गा भत्काइनसकेकाले २०१८ जुनमा पूरा नभएपछि आगामी डिसेम्बरसम्म म्याद थपिएको छ ।

जनकपुर उपमहानगरपालिकाको परिक्रमा (रिङरोड) सडक, भानुचोक, शिवचोक, जनकचोक, रामचोक, महावीर चोक, जानकीमन्दिर आसपास क्षेत्रमा ह्युमपाइप जडान, सडकपेटीमा टेलिकमको अप्टिकलफाइबर, विद्युत् पोल सार्ने र ठाउँठाउँमा खानेपानी मर्मतसम्भार भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा ३१ किलोमिटरमध्ये २३ किलोमिटर ह्युमपाइप विस्तार गरी ड्रेन निर्माण र ३० मिटर चौडाइको ९ दशमलव २५ किलोमिटरमध्ये ७ किलोमिटर सडक कालोपत्रे गरिएको जनकपुर उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।


सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत निर्माणाधीन २१ किलोमिटरमध्ये २ किलोमिटर कालोपत्रे गरिसकेको छ । प्रदेश २ को राजधानी सहर जनकपुरको विकासका लागि एसियाली विकास बैंक, सहरी विकास तथा भवन निर्माण, सडक विभाग, जनकपुर उपमहानगरपालिका र त्यसअन्तर्गत वडापालिकाले समेत रकम विनियोजन गरी निर्माण कार्य जारी राखेका छन् ।


घरजग्गा विवादका कारण निर्माणकार्य रोकिएका भानुचोक, शिवचोक, जनकचोक, पिडारीचोकलगायत विभिन्न ठाउँमा विवाद समाधान गरी रातदिन निर्माणकार्य भइरहेको इन्जिनियर यादवले बताए । उनका अनुसार मुरलीचोक, बन्सीचोक, थापाचोकमा स्थानीयवासीको अवरोध कायमै छ ।


एसियाली विकास बैंकको एक अर्ब ९० करोड (१९ दशमलव ४४ मिलियन डलर) रुपैयाँ सहयोगमा जनकपुरस्थित रिङरोड परिक्रमा सडक, एयरपोर्ट–मुरलीचोक, रामचोक, शिवचोक, भानुचोक, गौशाला तिरहुतिया गाछी, महावीर चोक, जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, जनक मन्दिर आसपास, पिडारीचोक, बन्सिचोक, थापाचोक, रेलवेस्टेसन, कदमचोक, भानुचोक, मुरलीचोक हुँदै जिरोमाइलसम्म ३१ किलोमिटर ड्रेन र ९ किलोमिटर सडक विस्तार, ग्राभेल र कालोपत्रे गर्न ७५ प्रतिशत निर्माणकार्य पूरा भएको उपमहानगरपालिकाले जनाएको छ ।


सन् २०१५ मा ठेक्का सम्झौता भए पनि ठेकेदार जेडआईपीसी र रमण कन्स्ट्रक्सन कम्पनीले २०१६ देखि काम सुरु गरेका थिए । सडकको दायाँबायाँ घरटहरा भत्काउने, जग्गा विवादका कारण ठेकेदारले पटकपटक म्याद गुजार्दै आएका छन् । ठेकेदार कम्पनीलाई ९८ करोड ९८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको मध्ये ७३ करोड रुपैयाँ भुक्तानी दिइसकेको आयोजना प्रमुख यादवले बताए ।


उनका अनुसार एसियाली विकास बैंकको अन्य रकममध्ये सेनिटरी ल्यान्डफिल्ड साइट निर्माणका लागि ४० करोड रुपैयाँ, विद्युत् पोल तार विस्तार मर्मतसम्भार एक करोड ४७ लाख, ५ प्रतिशत कन्टिन्जेन्सी, कन्सल्टेन्ट, कार्यालय व्यवस्थापन र कर्मचारी तलबमा खर्च हुनेछ । त्यसमध्ये ल्यान्डफिल्डसाइट व्यावस्थापन कार्य प्रक्रिया छ । गुठी संस्थानसित भाडामा लिएको ल्यान्डफिल्डसाइटमा ५८ प्रतिशत जग्गाको मोही रहेकाले उनीहरूको मुआब्जासमेत यसै रकमबाट खर्च गरिनेछ ।


जनकपुर उपमहानगरपालिकाले ३० मिटर चौडाइको सडक विस्तारका लागि दायाँबायाँ दुई हजार घर भत्काएका छन् । भत्काइएका निजी घर सर्वसाधारण आफैंले पुनर्निर्माण गर्दै छन् । सडक विस्तार क्रममा भत्काइएका घरजग्गाको मुआब्जा, क्षतिपूर्ति वा राहत केही नदिइएकाले पीडित सर्वसाधारण उपमहानगरपालिकासँग गुनासो गर्दै आएका छन् । उपमहानगरपालिकाले मुख्य सडकको चौडाइ तीस मिटर, सहायक सडक २० मिटर, पुराना बजारको सडक १५ मिटर, १३ मिटर, ९ मिटर कायम गरेको छ । मुख्य सडकको दायाँबायाँ २/२ मिटरको, साँघुरोमा १/१मिटरको पेटी निर्माण गर्ने जनाएको छ ।


उपमहानगर क्षेत्रमा सहरी विकास तथा भवन निर्माण विभागले ८३ करोड रुपैयाँ लगानीमा सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण गरिरहेको छ । विगतमा ढल, कल्भर्टबिनाका साँघुरा सडक, फोहोरमैला व्यवस्थापन समस्या, अव्यवस्थित सहरीकरण, बजार, बस्ती, पसल, खानेपानी, ढल निकासलगायत अस्तव्यस्त सहरको स्वरूप परिवर्तन गर्न कुनै कसुर बाँकी नराखी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको जनकपुर उपमहानगरपलिकाका प्रमुख लालकिशोर साहले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?